काठमाडौं । चलचित्र विकास बोर्डको कामकारबाहीलाई लिएर कतिपय चलचित्रकर्मीहरूले आलोचना गर्दै आएका छन् । बोर्डले चलचित्रकर्मीकै पक्षमा काम नगरेको उनीहरूको गुनासो हुने गर्छ ।
चलचित्र निर्देशक नवीन सुब्बा त विकास बोर्डलाई ‘टोले गुन्डा’ को संज्ञा दिन्छन् । चलचित्र दर्ता र सेन्सरसिपको नाममा विकास बोर्डले चलचित्रकर्मीलाई अनावश्यक दुःख दिएको उनको गुनासो छ ।
“हातमा डण्डा लिएर चलचित्रकर्मीलाई विकास बोर्डले डण्डा लगाइरहेको छ,” मानव अधिकार अन्तर्राष्ट्रिय फिल्म महोत्सव–२०१७’ को अन्तरक्रियामा निर्देशक सुब्बा भन्दै थिए, “सरकारी निकायको काम निर्देशक तथा निर्मातालाई उनीहरुको सिर्जनात्मक काममा सहयोग र सहजीकरण गर्ने हो, तर यहाँ उल्टो भइरहेको छ ।”
चलचित्रकर्मीको तर्फबाट बोर्डमा गएका व्यक्ति नै आफ्ना सहकर्मीप्रति उत्तरदायी हुन नसकेको उनको आरोप छ । “हाम्राबीचबाट गएका व्यक्ति विकास बोर्ड पुगेपछि शासक हुन्छन् । यस्तो किन हुन्छ, मैले पनि बुझ्न सकको छैन,” चलचित्र नुमाफुङका निर्देशकसमेत रहेका सुब्बा भन्छन्, “दुई वर्षका लागि हो बोर्डमा बस्ने, त्यसपछि फर्किएर आइहाल्नुपर्छ । किन शासक हुनुपर्यो ?”
यता चलचित्र विकास बोर्ड भने यो आरोप स्वीकार्न तयार छैन । सरकारी नियम र परिधिभित्र रहेर काम गरिरहेको विकास बोर्डको दाबी छ ।
“बाहिर बसेर गफ लगाएर हुँदैन । यहाँ आएर हेरे हुन्छ, काम भएको छ कि छैन,” बोर्डका सदस्य उत्तम केसी भन्छन्, “बाहिर बसेर जसले जसरी आरोप लगाए पनि हुन्छ । जसले विकास बोर्डलाई ‘टोले गुन्डा’ भनेर आरोप लगाउँछ, उसले त्यो भोग्नुहुन्छ । विकास बोर्डले यसको बोलिरहनु पर्दैन ।”
विश्वका कुनै पनि मुलुकमा चलचित्र दर्ता र सेन्सर नभए चल्न नपाउने बोर्ड सदस्य केसीको दाबी छ । यता नवीन सुब्बा भने एसियाका देशमा मात्रै यो नियम रहेको बताउँछन् । सिर्जनालाई सेन्सर गर्न नहुने उनको तर्क छ ।
नेपाली चलचित्र अन्तर्राष्ट्रिय बजारमा पुर्याउनका लागि विकास बोर्डले पहल नगरेको र त्यस अनुसारको नियमकानुन नबनाएको सुब्बाको आरोप छ । “मौलिक चलचित्र बनाउनका लागि अब्बल निर्देशक खाँचो पर्छ । सरकारले त्यस्ता निर्देशक उत्पादनका लागि लगानी गर्नुपर्छ,” सुब्बा भन्छन्, “तर यहाँ त सरकारी निकायले उल्टै हतोत्साही बनाउने काम गरिरहेका छन् ।”
त्यसो त मौलिक चलचित्र बनाएर विभिन्न अन्तर्राष्ट्रिय फेस्टिबलमा पुग्ने ‘कालो पोथी’का निर्देशक मीन भाम विकास बोर्डकै छात्रवृत्तिमा पढेका हुन् ।
नेपाली चलचित्र अन्तर्राष्ट्रियकरणका लागि आएका अवसरहरुलाई समेत विकास बोर्डले सदुपयोग गर्न नसकेको निर्देशक सुब्बा बताउँछन् ।
“अहिले जति पनि चलचित्र अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा पुगेका छन्, त्यो सबै व्यक्तिगत पहलमा पुगेका छन् । विदेशमा नेपाली चलचित्र प्रदर्शन हुने पनि व्यक्तिगत पहलमै हो,” निर्देशक सुब्बा भन्छन्, “जबसम्म नेपालमा हिन्दी सिनेमा नेपालका हलमा लागे जस्तो त्यहाँका सिनेमा हलले खोजेर लगाउँदैनन्, नेपाली चलचित्र विश्व बजारमा गएको भनेर मान्न सकिँदैन । हल भाडामा लिएर दुई–चार शो देखाउनुलाई नै नेपाली चलचित्र अन्तर्राष्ट्रिय बजारमा पुग्यो भनेर भनिन्छ भने त्यो आत्मरती मात्रै हो ।”