site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नमोबुद्धद्वारा इँटा उद्योग हटाउन निर्देशन
SkywellSkywell
Dabur Nepal
NIC Asia

– राजकुमार पराजुली (रासस)
 काभ्रे । नमोबुद्ध नगरपालिकाले आफ्नो क्षेत्रमा सञ्चालन हुँदै आएका इँटा उद्योग तत्काल हटाउन निर्देशन दिएको छ । नपाले गत बुधबार भकुण्डे क्षेत्रमा अवस्थित आठ इँटा उद्योग सञ्चालकलाई नपा र उद्योगीबीच विगतमा भएको सहमति कार्यान्वयन गर्न पत्रमार्फत निर्देशन दिएको हो ।
 
गत माघ महीनामा जिल्ला समन्वय समितिका पदाधिकारी, नपा पदाधिकारी र इँटा उद्योगीबीच असार मसान्तभित्र काभे्रपलाञ्चोकको नमोबुद्ध नपा क्षेत्रमा सञ्चालित आठ इँटा उद्योग हटाउने आठ बुँदे सहमति भएको थियो । सोही सहमति कार्यान्वयन गर्न इँटा उद्योगीलाई पत्राचार गरी हटाउन निर्देशन दिइएको नपाप्रमुख टङ्कप्रसाद शर्माले बताए । उनले भने, “असार मसान्तसम्ममा सहमति कार्यान्वयन नभएपछि तत्काल हटाउन पत्राचार गरेका हौँ, उहाँहरुले अटेर गर्नुभयो भने हामीहरु आफैँ इँटाभट्टा हटाउनेछौँ ।”
 
यसअघि नपाले गत चालू आर्थिक वर्षका लागि इँटा उद्योगको नवीकरण रोकेको थियो । कार्यालयले गत कात्तिकमा सार्वसाधारणमा समेत सूचित गर्दै विगत केही वर्षदेखि इँटा उद्योगका लागि जमीन ‘लिज’मा दिँदै आएकालाई आफ्नो जमीन नदिन आग्रह गरेको थियो । सो पछि गत साल माघमा जिसस पदाधिकारी, नपा पदाधिकारी र इँटा उद्योगीबीच गत असार मसान्तभित्र नमोबुद्ध नपा क्षेत्रमा सञ्चालित आठ इँटा उद्योग हटाउने सहमति गरिएको थियो ।
 
त्यसताका नमोबुद्ध नपास्थित ३१ सङ्घसंस्थाले भकुण्डेमा रहेका इँटा उद्योग सञ्चालनमा रोक लगाउन नपा कार्यालयमा निवेदनसमेत दिएका थिए । तर, उद्योगीले नपाको आग्रह स्थानीयको मागको अवज्ञा गर्दै इँटा उद्योग सञ्चालन गर्दै आएका थिए । जिल्लामा सञ्चालित २० इँटा उद्योगमध्ये नमोबुद्ध नपाको भकुण्डेमा मात्रै आठ इँटा उद्योग बजार र बस्ती नजिकै सञ्चालित छन् । ती उद्योगले वर्षाका कारण एक महीनादेखि इँटा उत्पादन बन्द गरेका छन् ।
 
विसं २०७५ वैशाखमा वातावरण विभाग र नमोबुद्ध नपाको संयुक्त अध्ययन अनुगमन टोलीले भकुण्डेमा सञ्चालित इँटा उद्योग मापदण्डविपरीत भएको निष्कर्ष निकालेको थियो । टोलीले इँटा उद्योगबाट निस्कने धुवाँ–धुलोका कारण मावन, घरपालुवा जनावर, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा असर परेको जनाएको थियो । नपाप्रमुख शर्माले भने,  “त्यतिबेला अनुगमनपछि इँटा उद्योग दर्ता तथा नवीकरणमा रोक लगाउने निर्णय गरेका थियौँ, उद्योगीले नपाको आग्रहलाई अवज्ञा गर्दै दबावपूर्ण तरिकाले सञ्चालन गर्दै आएका थिए ।”
     
भकुण्डेस्थित भैरवकुण्ड इँटा उद्योगका सञ्चालक केदार आचार्यले सम्झौताअनुसार आफूले उद्योग हटाउने बताए ।  “नपाबाट उद्योग हटाउने पत्र आएको छ, सोहीअनुसार हटाउनेतर्फ लाग्छौँ ।” उनले उद्योगको भट्टामा अझै लाखौँको सङ्ख्यामा इँटा रहेकाले हटाउन केही महीना लाग्ने बताए । 

इँटा उद्योग सङ्घका जिल्ला अध्यक्ष जितेन्द्र खयमलीले उद्योग हटाउने निर्णयमा पुनर्विचार गर्न नपासँग पुनः आग्रह गरेको बताए ।  “हामी इँटा उद्योगलाई वातावरणमैत्री बनाउने विषयमा पनि छलफल गर्दैछौँ, नपालाई एकपटक पुनर्विचार गर्न आग्रह गरेका छौँ ।” उनले सहमति गर्दा उद्योग बन्द नगर्न आग्रह गरे पनि नपाले उद्योग बन्द गर्न गरेको निर्णयलाई कार्यान्वयन गर्न गरिएको आग्रहअनुसार सम्झौतापत्रमा हस्ताक्षर गरेको बताए । 
 
सम्झौतापत्रमा असार मसान्तभित्र उत्पादित इँटा प्रचलित वातावरणीय मापदण्डभित्र रही व्यवस्थापन गरी उद्योगको भौतिक संरचना हटाइने, नपासँग समन्वय गरी अन्य क्षेत्रमा प्रचलित कानून, वातावरणीय मापदण्ड, नवीनतम् वातावरणमैत्री प्रविधिअनुरूप उपयुक्त विकल्प खोजी व्यवसाय सञ्चालन गर्ने, तोकिएको समय सीमाभित्र इँटा उद्योग नहटाए नपा आफैँले हटाउने र सोको लागेको खर्च उद्योगीले नै व्यहोर्नुपर्ने, हाल उत्पादित इँटा नगरका भूकम्पपीडितका लागि सम्बन्धित वडाको सिफारिसमा व्यवसायीले तोकेको मूल्यभन्दा प्रतिगोटा रु तीन छुट दिनुपर्नेलगायत उल्लेख गरिएको छ ।
 
साथै, उल्लेखित बुँदा सम्झौतापत्रमा करारबमोजिम र उल्लेखित नभएका विषय प्रचलित मुलुकी देवानी संहिता ऐन, २०७४ र प्रचलित नेपाल कानूनबमोजिम हुने सम्झौतापत्रमा उल्लेख छ । “सम्झौता कसैको जित र हार नभई समृद्धिको नाराभित्रै पारिएकाले यसबाट नगरको समग्र विकासमा थप सहयोग पुग्नेछ”, नगरप्रमुख शर्माले भने । 

औद्योगिक सञ्चालन ऐन, २०५९ अनुसार मानव बस्ती, विद्यालय, र वन क्षेत्रभन्दा ५०० मिटर टाढा इँटा उद्योग सञ्चालन गर्न पाइने प्रावधान छ भने उद्योग मन्त्रालयको कार्यविधि, २०७२ अनुसार घनाबस्तीबाट एक किलोमिटर टाढा उद्योग सञ्चालन गर्नुपर्नेछ । काभे्रपलाञ्चोकको पाँचखाल नपामा सात, नमोबुद्ध नपास्थित भकुण्डेमा आठ, पनौतीस्थित शङ्खुमा एक, बनेपामा एक, मण्डनदेउपुरमा दुई, धुलिखेलमा एक इँटा उद्योग छन् । कानूनी प्रावधानअनुसार जिल्लामा रहेका इँटा उद्योगमा मापदण्ड पुगेका छैनन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १०, २०७६  १२:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu