site stats
बाह्रखरी :: Baahrakhari
देश
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका शतप्रतिशत विद्यार्थी उत्तीर्ण

सुर्खेत । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले लिएको परीक्षामा जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

परिषद्ले यही असोज १ देखि ५ गतेसम्म एडभान्स एजुकेसन एन्ड इनोभेटिभ रिसर्च सेन्टर बबरमहल, काठमाडौंमा सञ्चालन गरेको परीक्षामा प्रतिष्ठानबाट पास आउट ब्याचलर अफ पब्लिक हेल्थ (बीपीएच)का विद्यार्थी शतप्रतिशत उत्तीर्ण भएका प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले जानकारी दिए ।

Argakhachi Cement Island Ad

उनका अनुसार, परिषद्ले शनिबारै देशैभरिका विद्यार्थीको नतिजा प्रकाशित गरेको थियो । “जनस्वास्थ्यमा स्नातक उत्तीर्ण गरेका देशैभरिका ५१८ विद्यार्थीहरू परीक्षामा सम्मिलित भएकामा २३१ जना (४४.५९ प्रतिशत) उत्तीर्ण भएका छन्,” उपकुलपति रावलले भने, “यद्यपि जुम्ला प्रतिष्ठानबाट उक्त परीक्षामा सहभागी भएका १८ जना विद्यार्थीमा शतप्रतिशत उत्तीर्ण भएका छन् । यसले प्रतिष्ठान परिवारलाई निकै गौरवान्वित तुल्याएको छ ।”

गुणस्तर कायम गर्न भूगोल बाधक हुन्छ भन्ने सोचबाट मुक्त हुनुपर्ने सन्देश प्रतिष्ठानबाट पास आउट भई परिषद्ले लिएको परीक्षामा सम्मिलित विद्यार्थीको नतिजाले दिएको उनले बताए । उनका अनुसार, यसो हुनुमा राम्रो पाठयक्रम, योग्य शिक्षक, लगनशील विद्यार्थी र प्रतिष्ठानको प्रभावकारी व्यवस्थापन नै हो ।

यो नतिजाबाट अब कर्णालीले देशलाई विशेषज्ञ चिकित्सक र जनस्वास्थ्यविज्ञ दिन सक्ने तथ्य उजागर गरेको उपकुलपति रावलले बताए । रासस

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  २२:२५
प्रतिक्रिया दिनुहोस्