कञ्चनपुर । मेचीको किनारबाट सुरु भएको एमालेको मेची–महाकाली अभियान विधिवत् समापन भएको छ । कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्चमा एमाले अध्यक्षले सभामा बोल्दै अभियान सफलतापूर्वक अन्त्य भएको जानकारी दिएका हुन् । तथापि एमालेले शुक्रबार बिहान कञ्चनपुरमा पत्रकार सम्मेलन गरेर अभियान सकिएको घोषणा गर्नेछ ।
काँकडभिट्टाबाट सुरु भएको अभियान तेस्रो दिन सप्तरीको राजविराजमा मधेसी मोर्चा र प्रहरीबीच हिंसात्मक झडप भएपछि स्थगित हुन पुग्यो । एमाले–क्याराभान नाम दिएको मेची–महाकाली अभियानमा २४ वटा सभाको आयोजना भयो । सभालाई एमालेका शीर्षस्थ नेताहरूले सम्बोधन गरे । काँकटभिट्टादेखि महेन्द्रनगरसम्म एमालेले करिब ९०० किमी दुरीमा अभियान सञ्चालन ग¥यो । पूर्वपश्चिम राजमार्ग १०२७ किमी भए पनि सप्तरीको कञ्चनपुरदेखि हेटौँडासम्म मोर्चा–प्रहरीबीचको हिँसात्मक झडप र मोर्चाका कार्यकर्ताको अवरोधका कारण एमालेले अभियान सञ्चालन गरेन । करिब १३० किमी दुरीमा अभियान रोकियो ।
पूर्वपश्चिम राजमार्गमा ६ वटा प्रदेश पर्दछन् । ६ नम्बर प्रदेशमा राजमार्ग नजोडिएकाले एमाले सुर्खेतमा सभाको आयोजना गर्नेछ ।
सभामा जो बोलेनन्
एमालेको सभामा स्थानीय नेताहरूलाई एमालेले प्राथमिकता दियो । सभाको मूल आयोजक पार्टी केन्द्रीय कमिटी थियो भने सभाको व्यवस्थापन स्थानीय पार्टी कमिटी ( प्रदेश, जिल्ला) ले गरेका थिए । एमाले अध्यक्ष ओलीले आधाजसो सभालाई सम्बोधन गरे भने त्यत्तिकै संख्यामा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालले मन्तव्य दिए । तर, ‘मास कमान्डिङ’ भएका सचिव योगेश भट्टराई, प्रदीप ज्ञवालीले बोलेनन् । त्यस्तै पाँच नम्बर प्रदेश प्रमुख विष्णु पौडेलले मन्तव्य राखेनन् । वैचारिक हिसावले तीक्ष्ण मानिएका अर्का उपमहासचिव घनश्याम भुषाल पनि नबोली अभियान सकियो ।
तर, ७ नम्बर प्रदेश प्रमुख भीम रावलले प्रदेशअन्तर्गतको चारवटै सभामा भाषण गरे । कैलालीको टीकापुर, लम्की, धनगढी र महेन्द्रनगरको सभामा रावल अनिवार्यजस्तै गरी बोले ।
अभियानमा सबैभन्दा बढी बोल्नेमा उपाध्यक्ष बामदेव गौतम हुन् । उनले अधिकांश सभामा मन्तव्य राखे । सुनसरीको इनरुवामा लालबाबु पण्डितले भाषण गरे । त्यस्तै सप्तरीको राजविराजमा स्थायी कमिटी सदस्य सत्यनारायण मण्डल र केन्द्रीय सदस्य लालबाबु यादव बोले । यस्तै थारु बाहुल्यता भएको क्षेत्रमा वैकल्पिक केन्द्रीय सदस्य शान्ता चौधरी, नारदमुनी राना, हनुमान चौधरीलाई मन्तव्यका लागि अघि सारियो ।
झाँकीसहितको र्याली, संस्कृतिसहितको सभा
एमाले पहिचान विरोधी होइन भन्ने पुष्टि गर्न सभामा विभिन्न जाती जनजातिलाई झाँकीसहित उतारिएको थियो । हेटौँडा कोसी पूर्वका क्षेत्रमा लिम्बू, राई, राजवंशी आदि जातिको सांस्कृतिक पहिचान प्रस्तुत गरिएको थियो भने पाँच र सात नम्बर प्रदेशमा थारू, मगर आदि समूदायको पहिचान प्रतिबिम्बित गरियो । झाँकीका हिसाबले चितवनको सभा उल्लेख्य रह्यो । उक्त सभामा १२ भन्दा बढी जाती जनजातिको सांस्कृतिक पहिचान झल्काइएको थियो ।
सात नम्बर प्रदेशको चारवटै सभामा पनि खस, थारू समुदायको मिश्रित झाँकी प्रस्तुत गरि एकताको सन्देश प्रवाह गरिएको थियो ।
सहिद परिवारलाई सम्मान गर्दै उद्घाटन सहिद परिवारलाई सहयोग गर्दै विसर्जन
मेचीको किनारमा सभा उद्घाटन गर्दा एमालेले झापा आन्दोलनका क्रममा शहादत प्राप्त गर्ने सहिद परिवार, विद्रोहका क्रममा सेल्टर लिएका घरका मानिस र विद्रोहमा सहयोग पुर्याउने शुभेच्छुकहरूलाई सम्मान गरेको थियो । संयोग नै मान्नुपर्छ– बिहीबार अभियान टुंग्याउँदा पनि एमालेले भारतीय सीमा सुरक्षा बल एसएसबीले चलाएको गोली लागि दिवंगत भएका गोविन्द गौतमको परिवारलाई पाँच लाख दिने र घाइते टीका चापागाँइलाई उपचार सहायता गर्ने निर्णय गर्यो ।
एमालेले पार्टी जिल्ला अध्यक्ष तारा लामामार्फत शुक्रबार सहयोग र गौतमका छोराछोरीको पढाइका लागि ल्यापटप हस्तान्तरण गर्ने बताएको हो ।
जनताको चासो, कार्यकर्तामा उत्साह
सप्तरीको राजविराज घटनाबाहेक अन्यत्र मोर्चाले एमालेको सभामा अवरोध पुर्याउन सकेन । यद्यपि उसले एमालेको र्याली जहाँ जान्छ त्यहीँ अवरोध पुर्याउन खोज्यो । बन्द आह्वान गर्यो । कालो झन्डा लिएर कार्यकर्ता सडकमा उतार्यो । तर, त्यसले अभियानलाई खासै प्रभाव पारेन । दुई नम्बर प्रदेशमा बाहेक मोर्चाको अवरोधजन्य उपस्थिति थिएन । हेटौँडा पश्चिम लागेपछि कपिलवस्तुको चन्द्रौटा र बाँकेको गुनाना चोकमा मोर्चाले अवरोध गर्न खोज्यो तर, प्रहरीले पन्छायो ।
चुनावको सन्निकट एमालेले आयोजना गरेको सभाले कार्यकर्तामा उत्साह जगाएको देखिन्थ्यो । त्यस्तै राजमार्गबाट चार–पाँच किमी लामो क्याराभान छुट्दा राजमार्ग छेउछाउका मानिसहरू रुचीपूर्वक हेर्थे ।
सच्याइएकोः प्रदीप ज्ञवालीले सम्बोधन गरेको पाइएकोले सच्याइएको छ ।