दाङ । दाङमा लागुऔषधको कारोबार बढ्दै गएको प्रहरीको तथ्यांकले देखाएको छ । दाङमा लागूऔषध ओसारपसार तथा बिक्री वितरण वर्षेनी बढिरहेको जिल्ला प्रहरी कार्यालय दाङको तथ्यांकले देखाउँछ ।
बिगत पाँच वर्षको तथ्यांक हेर्दा जिल्लामा लागुऔषधको ठूलो परिमाण भित्रिएको छ । जिल्ला प्रहरी कार्यालय दाङको तथ्यांक हेर्दा पाँच वर्षमा चरेस एक सय ९५ केजी, ब्राउनसुगर दुई सय ९३ ग्राम, गाँजा १८ केजी र अफिम आठ केजी प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीको तथ्यांक हेर्ने हो भने वर्षेनी लागुऔषध प्रयोगकर्ताहरुको संख्या बढ्दै गएको छ भने ओसारपसार र बिक्री वितरण पनि बढ्दै गएको छ । आव ०७१-०७२ देखि चालु आव ०७५-०७६ सम्म एक सय ७६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पुरुषसँगै महिलाको संख्या पनि धेरै छ । उमेर समूहमा सबैभन्दा धेरै किशोर र युवा उमेर समूह बढिरहेको प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक राजनकुमार गौतमले दाङमा लागुऔषध दुर्व्यसनको अवस्था भयावह बन्दै गएको बताउँछन । उनले लागुऔषध दुर्व्यसनका सबैभन्दा धेरै शिकार युवा पिँढी रहेको बताए ।
दाङ लागुपदार्थ दुव्यर्सनी प्रयोगसँगै ओसारपसारका दृष्टिले निकै संवेदनशील क्षेत्र रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एव प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेय बताउछन । भारतसँगको खुल्ला सिमनासँगै राप्तीका पहाडी जिल्लाको केन्द्र भएकाले दाङ लागुऔषध प्रयोगसँगै ओसारपासरका दृष्टिले संवेदनशील क्षेत्र रहेको उनको भनाइ छ ।
"लागुऔषधको प्रयोगसँगै ओसारपसारका दृष्टिले समेत दाङ जोखिममा छ" , प्रहरी प्रमुख पाण्डेयले भने, "त्यही प्रहरीले निगरानीसँगै पछिल्लो समय सचेतनामुलक कार्यक्रम समेत चलाउँदै आएको छ ।" उनका अनुसार जिल्लामा गाँजा, चरेश, ब्राउन सुगर,अफिमसँगै नाइट्राभेट औषधिको कारोबार हुने गरेको छ ।