site stats
बाह्रखरी :: Baahrakhari
देश
१० महिलाको सुन लुटपाटबारे सुक्ष्म अनुसन्धान सुरू : प्रहरी 

दाङ । दाङमा १० दिनको अवधिमा १० महिलाको २२ तोला बराबरको सनुको सिक्री लुटपाट भएको छ । यो घटना घोराहीको मुटु मानिने सब्जीमण्डी क्षेत्रबाट भएको हो । 

एकाबिहानै मोर्निङ वाकमा निस्कने र त्यसपछि तरकारी किन्न जाने महिलाहरुलाई टार्गेट गरी सुनको सिक्री लुटपाट गर्ने गरेको प्रहरीले बताएको छ । हालसम्म आफ्नो सुनको सिक्री लुटिएको भन्दै १० जनाले प्रहरीमा निवेदन दिएको प्रहरी निरिक्षक राजन गौतमले जानकारी दिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रहरीकाअनुसार सबैले आफ्नो सुनको सिक्री घोराहीस्थित जिल्ला प्रहरी कार्यालय नजिकै रहेको सब्जीमण्डी क्षेत्रबाट लुटपाट भएको कुरा निवेदनमा उल्लेख गरेका छन् । सब्जीमण्डी क्षेत्र वडा प्रहरी कार्यालको करिब २० मिटर दूरीमा पर्छ । असार ३ देखि १३ गतेसम्मको अवधिमा १० जना महिलाबाट झन्डै २२ तोला बराबरको सुनको गरगहना लुटपाट भएको प्रहरीले जानकारी दिएको छ । लुटेराले महिलालाई टार्गेट गरेको पाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

घोराहीको सब्जीमण्डी क्षेत्रबाट घोराही निवासी शिवा बस्नेतको सबभन्दा धेरै चार तोलाको सुनको सिक्री लुटपाट भएको छ । त्यस्तै दिपेन्द्रमान श्रेष्ठ र रामबहादुर घर्तीले आफ्नी पत्नीको ३-३ तोलाको सिक्री र सरिता रावतले पनि आफ्नो तीन तोलाको सुनको सिक्री लुटपाट भएको भन्दै जिल्ला प्रहरी कार्यालय घोराही दाङमा निवेदन दिएका छन् । 

त्यसैगरी मिना खनालले एक तोलाको सिक्री, ज्ञानशोभा श्रेष्ठले एक तोला दुई आनाको सिक्री, पवित्रा वलीले एक तोला पाँच आनाको सिक्री, रञ्जित श्रेष्ठले आफ्नी आमाको लकेटसहितको सिक्री, शोभा डाँगीले एक तोला ७५ आनाको सिक्री र नन्दीदेवी रोकाले एक तोला नौ आनाको सिक्री लुटपाट भएको भन्दै प्रहरीमा निवेदन दिएको मुद्दा फाँटका प्रहरी निरिक्षक गौतमले बताए ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी बेलबहादुर पाण्डेले एकाबिहानै सब्जीमण्डीमा तरकारी किन्न जाने महिलाहरुलाई टार्गेट गरेर लुटेराले लुटपाट गर्ने गरेको भन्ने गुनासो आएको बताए । यसैबीच साधा पोशाकमा प्रहरी परिचालन गरेर शुक्रबार बिहान एक जना जेष्ठ महिलाको घाँटीबाट सिक्री लुट्दै गर्दा एक बालकलाई पक्राउ गरिएको एसपी पाण्डेले बताए । 

प्रहरीले उनको नाम गोप्य राखेको छ । पक्राउ परेका ती बालकले आफू विरगञ्जवाट एक्लै घोराही आएको दाबी गरे पनि त्यसमा अरुको पनि सहभागिता रहेको हुनसक्ने प्रहरीले आशंका व्यक्त गरेको छ । 

एसपी पाण्डेले भने, "त्यो बच्चाको कुरा पत्यार लाग्दो छैन । बच्चा त्यति टाढाबाट एक्लै आएर लुटपाट गर्ने कुरै आउँदैन।" प्रहरीले लुटपाटको घटनाबारे सुक्ष्म अनुसन्धान सुरू गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति: आइतबार, असार १५, २०७६  १७:०५
प्रतिक्रिया दिनुहोस्