नेपालगञ्ज । एमालेको मेची–महाकाली अभियान मंगलबार बाँकेको नेपालगञ्ज पुगेको छ । नेपालको सुदूरपूर्वी जिल्ला झापाको काँकडभिट्टाबाट र्यालीसहित सुरु भएको अभियान दुई नम्बर प्रदेशअन्तर्गत सप्तरीको राजविराज पुगेपछि ‘ढुंगा लाग्न’ पुग्यो । राजविराजको सभा विथोल्न आएका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीको हिंसात्मक झडपपछि तीन दन अभियान स्थगित गरेको एमालेले शनिबार हेटौँडाको भुटनीदेवी स्कुलको प्राङ्गणबाट तामझामका साथ पुनः अभियान सुरु ग¥यो । तीन दिनमा यो अभियान बाँकेको नेपालगञ्ज आइपुगेको छ । र, यो सुर्खेतमा पुगेर टुंगिनेछ ।
अभियानको छैठौँदिन पार गर्दा एमालेको र्याली, रूपमा जागरण अभियान देखिएता पनि सारमा यसले एमालेलाई आधारभूत तहमा स्थापित गराउन अहम भूमिका खेलेको एमालेका नेता–कार्यकर्ता बताउँछन् ।
तराई–मधेसमा कित्ताकाट
सप्तरीको राजविराज प्रकरणपछि तराईमा लगभग कित्ताकाटको अवस्था छ । धेरैले तराईबाट एमाले बढारिन्छ भनेर अडेकलसमेत काटिरहेका छन् । राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न आयोजना गरिएको अभियानले झनै सामाजिक विद्वेष, विभाजन खडा गर्ने हो कि भन्ने आशंका पनि छ । तर, एमाले सचिव योगेश भट्टराई त ‘मधेसमा कि एमाले छ कि मधेसी मोर्चा’ छ भन्छन् ।
मधेसी मोर्चाको प्रभाव क्षेत्र मानिएको दुई नम्बर प्रदेशमा आगामी निर्वाचनमा मधेसी मोर्चा र एमालेबीचमै प्रतिष्पर्धा हुने र कांग्रेस–माओवादी केन्द्रलगायतका शक्ति निकै पछि पर्ने एमाले तर्क छ ।
उद्देश्य जे बताए पनि मेची–महाकाली अभियान चुनाव लक्षित कार्यक्रम नै हो । त्यसैले एमाले प्रचार विभाग सचिव विष्णु रिजाल तराईको जनमत नघट्नेमा एमाले विश्वस्त रहेको दाबी गर्छन् । तराईमा बसोबास गर्ने पहाडी समुदायको सेन्टिमेन्ट र यसअघिको जनमत जोगाउन सक्ने हो भने एमाले तराईमा पनि पहिलो बन्ने दाबी छ ।
त्यसो त परासीको नवलपुर, भुमही, रुपन्देहीको भैरहवा, कपिलवस्तुको जितपुरलगायतका स्थानका सभामा सहभागी मधेसी समुदायबाट प्रतिनिधित्व गर्ने एमालेका नेता कार्यकर्ताले मधेसी मोर्चाको डर त्रासले खुल्न नसके पनि पश्चिम तराईबाट एमालेको पक्षमा राम्रो मत खस्ने दाबी गरे ।
भुमहीका प्रह्लाद पासवान भन्छन्, “मोर्चाप्रति जनआकर्षण छैन, जनताले खुलेर विरोध गर्न नसकेका हुन् । मधेसमा भ्रम छरेका छन्, डर र त्रास खडा गरेका छन् ।”
उनले एमालेको अभियानले क्रमशः मधेसको भ्रम निवारण हुने र त्यसले एमालेको पक्षमै माहौल खडा गर्ने दाबी गरे । भुमहीका अर्का स्थानीय व्यवसायी राममिलन साहले मधेसी मोर्चाले आफ्नै कारणले जनमत गुमाउँदै गएको र उनीहरूले मधेसमा आन्दोलनका एकतृत गर्न नसक्ने दाबी गर्छन ।
समग्रमा दुई नम्बर प्रदेशका सात वटा जिल्लामा मेची महाकाली अभियान जोड्न नसके पनि तराई–मधेसको जनमत नतोडिएको एमालेको बुझाई छ । बरु, तराईमा ‘मास’ धु्रविकृत भएको र प्रकारान्तरले एमालेलाई फाइदा पु¥याएको भट्टराईको दाबी छ ।
केपी ओलीको राष्ट्रवादी छवी तराई– मधेसमा विस्तार
नाकाबन्दीको बेलामा खडा हुन पुगेको एमाले अध्यक्ष ओलीको राष्ट्रवादी छवी मेची–महाकाली अभियानले आधारभूत तहसम्म विस्तार गर्न सघाउ पु¥याएको एमाले नेताहरूको निष्कर्ष छ ।
सोमबारको कपिलवस्तुको जितपुर र दाङको लमहीको सभामा पार्टी अध्यक्षले मन्तव्य राख्ने कार्यक्रम थियो । स्थानीय पार्टी कमिटीले पनि महिनादिनदेखि तयारी गरेर जनसमुदाय उतारेको थियो । त्यसो त जितपुरमा नारै तय गरिएको थियो– होलीको भोलि, केपी ओली ! सभामा दश हजार बढी जनसमुदायको उपस्थिति पनि थियो ।
अर्घाखाँचीदेखि ओलीको धारणा सुन्न मानिस आएका थिए । तर, आयोजकले शारीरिक अस्वस्थताका कारण अध्यक्ष आउन नसक्ने बताएपछि मास असन्तुष्ट बन्न पुग्यो । ‘हामी त ओलीको मन्तव्य सुन्न पो आएको त !’ –सभामा सरिक कतिपय जनसमुदाय गुनासो पोख्दै पनि थिए ।
उही समस्या दाङमा देखियो । दाङ जिल्ला एमाले प्रभाव कम भएको जिल्ला हो । एमाले उपाध्यक्ष युवराज ज्ञवाली, स्थायी कमिटी सदस्य शंकर पोखरेलको गृहजिल्ला भए पनि एउटा पनि निर्वाचन क्षेत्रमा एमालेले विजय हासिल गरेन । तर, सोमबार एमालेले लमहीमा उल्लेख्य मानिस उतार्यो । त्यहाँ पनि सहभागीको उस्तै गुनासो थियो, ‘केपी ओली आउने भनेर सभामा आएको, अन्तिममा आउन नसक्ने भए भनेर एमालेले ढाँट्यो !’
संविधान बुझाउन अभियान फलदायी
एमाले आफैँलाई पनि मधेस विरोधी, आदिवासी जनजाति विरोधीका रूपमा सदन, सडकमा विपक्षीले प्रहार गरिरहेकै छन् । त्यसबारे वास्तविकता बुझाउन मेची–महाकाली अभियान उपयोगी रहेको एमालेका स्थानीय मधेसी नेता बताउँछन् ।
“संविधान निर्माणलगत्तै संविधानमा उल्लिखित कुराहरू मधेसी, आदिवासी, दलित, मुस्लिमलाई बुझाउन सकिएको भए, अवस्था अर्कै हुन्थ्यो । अहिले पनि केही बिग्रिएको छैन, अभियानले मोर्चाले छरेको भ्रम हटाउन सहयोग पु¥याएको छ,” राममिलनले जानकारी दिए ।
पार्टी संगठन सुदृढिकरण
मेची–महाकाली अभियानले एमालेलाई आन्तरिक रूपमा थप मजवुत तुल्याएको छ । अन्य पार्टीको तुलनामा एमालेको पार्टी संगठन बलियो भए पनि ती भुत्ते बनेका थिए र यस्तो अभियानले गती प्रदान गर्ने प्रचार विभागका सचिव रिजालको भनाई छ । उनी थप्छन्, “पार्टी संगठन भनेको गतिशील खोला जस्तै हो, क्रियाशील नभई जम्यो भने लेउ पलाउँछ । यस्तो अभियानले लेउ सफा गर्ने र पार्टीलाई जीवन्त र गतिशील बनाउन सघाउ पु¥याउँछ ।”
लामो समय बैठक नबसेका, भेला नडाकिएका, क्रियाशील हुन नसकेका पार्टी कमिटीलाई पुनर्ताजगी तुल्याउन अभियान उपयोगीसिद्ध हुने उनको विश्वास थियो । आइतबारको चितवनको सभा, सोमबारको भुमही, भैरहवा, मंगलबारको जितपुर, दाङको सभा पार्टी सुद्धिकरणको दृष्टान्त भएकोमा उनले जोड दिए ।
गुटबन्दीको न्युनिकरण र एकताको सन्देश
सबैले देख्ने गरी नवौँ महाधिवेशनमा एमाले नेतृत्व दुई समूह बनाएर चुनाव लडेकै हो । त्यसैले एमालेमा स्पष्ट दुई धार छ । त्यसको असर पार्टीको तल्ला कमिटीसम्म मात्र होइन जनवर्गीय कमिटीमा पनि परेको छ । तर, यस्तो अभियानले त्यस्तो गुटबन्दी अन्त्य गर्न सघाउन पुग्ने विश्वास रिजालको छ । भन्छन्, “कमिटी क्रियाशील नभए, कमिटीमा आवद्ध नेता–कार्यकर्ताले काम, जिम्मेवारी नपाए गुटबन्दीमा लाग्ने हो । एक–अर्काको कुरा काट्दै हिँड्ने हो, भूमिका पाइनँ भनेर दुःखेसो पोख्ने हो । अभियानले सबैलाई जिम्मेवारी, काम र अवसर खडा गर्छ । यसले गुटबन्दी कम गर्न मद्दत पु¥याउँछ ।”
निर्वाचनको सुनिश्चिता
रिजाल थप्छन्, “मेची–महाकाली अभियानले मुलुकमा निर्वाचनको वातावरण तयार पारेको छ ।” एमालेलगत्तै राप्रपा, त्यसपछि कांग्रेस, माओवादी केन्द्रलगायत ठूला दल नयाँ शक्तिलगायत साना दलले यस्तो अभियान सञ्चालन गर्दा देशमा निर्वाचनको सुनिश्चितता प्रदान गर्ने उनको भनाई छ ।
मेची–महाकाली अभियानले सरकारले वैशाख ३१ गतेका लागि तोकेको ७४४ स्थानीय तहको निर्वाचनको आधार खडा गरेको दाबी उनको थियो ।