site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
आम्दानीको श्रोत ‘बगरखेती’

दाङ । देउखुरीका बलरामपुर, श्यामरहवालगायतका अधिकाँश गाउँका किसानको मुख्य आम्दानीको बाटो ‘बगरखेती’बनेको छ । उनीहरुले करेला, बोडी, भिन्डी, काक्रा, खरबुजालगायतका बेमौसमी तरकारी उत्पादन गर्छन् । उनीहरु बगरमा गरिने बेमौसमी तरकारी खेतीबाट राम्रो आम्दानी हुने भएकोले परिवार धान्न सक्‍ने भएका छन् ।

लमही नगरपालिका-४ श्यामरहवा निवासी रामकुमारी चौधरी हिजोआज राप्ती नदिको बगरमा भेटिन्छन । राप्तीको बगरमा रोपेको तरकारी हुर्काउनदेखि फलेको तरकारीलाई बजारसम्म ल्याउने नै उनको दैनिक बनेको छ । थोरै जग्गामा तरकारी खेती गरेको बताउने चौधरीले राम्रो आम्दानी गर्ने गरेकी छिन । "थोरै जमिनमा तरकारी खेती गरे पनि उत्पादन राम्रो हुने गरेको छ", रामकुमारीले भनिन्, "यही तरकारी बेचेर घरपरिवार चलाउने गरेको छु ।" 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उत्पादन गरेको तरकारी बेच्नलाई लमहीसम्म आउने गरेको उनले बताइन् । तरकारी बेचेर आएको पैसाले दैनिकी चलाउने गरेको उनको भनाइ छ । उनले करेला, बोडी, भिन्डी, काक्रालगायतका तरकारी रोपेकी छिन । बेमौसमी तरकारी खेती गर्न सके बगरबाट राम्रो आम्दानी गर्न सकिने उनले बताइन् । 

त्यस्तै लमही नगरपालिका- ६ बलरामपुर निवासी खुमा घर्तीमगर तरकारीसँगै खरबुजा बेच्दै आएकी छिन । लमही-कोइलावास सडक खण्डको बलरामपुरमा करिब दुई महिनादेखि टहरा बनाएर उनले खरबुजासँगै बोडी, करेलालगायतका तरकारी बेच्दै आएको बताइन् । खरबुजा र तरकारी बेचेर राम्रो आम्दानी हुने गरेको खुमाले सुनाइन् ।

उनले दिनभर खरबुजालगायतका तरकारी बेचेर तीन हजारसम्म कमाई हुने गरेको बताइन् । "गतबर्ष एक दिनमा पाँच हजारसम्म बिक्रि हुने गरेको थियो", उनले भनिन्, "घर खर्चको मुख्य माध्यम नै बगर खेती भएको छ ।"

देउखुरीमा उनीहरुजस्तै धेरै किसानले बगरखेतीका माध्यमबाट घर व्यवहार चलाउने गरेका छन । विशेष गरेर राप्ती नदीको क्षेत्रमा कृषकले बगरखेती गर्दै आएका छन् ।

प्रकाशित मिति: बुधबार, जेठ २२, २०७६  १६:०८
प्रतिक्रिया दिनुहोस्