site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
गीताप्रेस नेपालको वेबसाइट र मोबाइल एप्स सार्वजनिक

काठमडौं । गीताप्रेसको नेपाल शाखाले वेबसाइट र मोबाइल एप्स सार्वजनिक गरेको छ । नेपालमा गीताप्रेसको स्थापना भएको १० वर्ष पुगेको अवसरमा जेठ २८ गते वेबसाइट र मोबाइल एप सार्वजनिक गरिएको हो ।

सत्य एवं शान्ति हेतु मानव मात्रको सेवामा समर्पित भई विगत १०२ वर्षदेखि सेवाप्रदायक  विश्वविख्यात संस्था गीताप्रेस गोरखपुरको अन्तर्राष्ट्रिय शाखा नेपालमा गीताप्रेस पुस्तक बिक्री केन्द्र काठमाडौंमा स्थापना भएको ९ वर्ष पूरा भई १० वर्ष प्रवेश गरेको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गीताप्रेस नेपाल, गीताप्रेस पुस्तक बिक्री केन्द्र  काठमाडौंका अध्यक्ष जयकिसन साडाले नेपालमा गीताप्रेस गोरखपुरको अन्तर्राष्टिय  शाखा ०७३ जेठ २९ गते भएको बताए । यो गीताप्रेस पुस्तक बिक्री केन्द्रको स्थापना गर्दा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. गोविन्द टन्डन प्रमुख थिए । 

गीताप्रेसबाट प्रकाशित भएका कृतिहरूको प्रचारप्रसार एवं  आम सर्वसाधारणले अनलाइनको माध्यमबाट पुस्तकहरू निःशुल्क अध्ययन गरी आध्यात्मिक  एवं धार्मिक लाभ लिन सकुन र चरित्रवान, सुसंस्कृति समाजको निर्माण होस् भन्ने उद्देश्य  लिई गीताप्रेस पुस्तक बिक्री केन्द्र काठमाडौं स्थापना भएको बताइएको छ । 

वेबसाइट र एप्समा गीताप्रेसबाट प्रकाशित पुराण, रामायण, उपनिषद, स्तोत्र, चालिसा, नित्य पाठ, कर्मकाण्ड, भजनसहित महत्त्वपूर्ण लेख रचनाहरूलाई समावेश गरिएको जानकारी दिइएको छ ।  

यस अन्तर्राष्ट्रिय शाखाबाट सिंगापुर, इन्डोनेसिया, दुबई, अष्ट्रेलिया, अमेरिका लगायतका  देशहरूमा पुस्तक पठाउने कार्य भइरहेको र विदेशमा रहेका मन्दिरहरूमा गीताप्रेसका प्रकाशनहरू उपलब्ध गराउने कार्य भइरहेको बताइएको छ ।

गीताप्रेस पुस्तक बिक्री केन्द्र काठमाडौंको  सञ्चालनमा सहयोग पुगोस् भन्ने उद्देश्यले एवं गीताप्रेसबाट प्रकाशित भएका कृतिहरूको  निःशुल्क वितरण तथा प्रचारप्रसार गरी निःशुल्क सेवा प्रदान गर्ने र सोही संस्थामार्फत  नेपालमा गीता भवन निर्माण गर्ने उद्देश्य पशुपति क्षेत्र आसपास नेपालमै एक ‘गीता भवन’  निर्माणको योजना अगाडि सारेको छ । 

मुख्य उद्देश्य गीताप्रेस गोरखपुरका  सत्साहित्यहरूको थोक तथा खुद्रा बिक्री केन्द्र स्थापना गर्नु, पुस्तक गोदाम तथा वितरण  कार्यालय बनाउनु, मोबाइल गाडीबाट देशभर प्रचार–प्रसारको तयारी गर्नु र भविष्यमा  अनलाइन प्रणालीमार्फत पुस्तक वितरणको दीर्घकालीन योजना कार्यान्वयन गर्नु रहेको बताइएको छ । उपयुक्त १५०० वर्गफुट क्षेत्रफलबराबरको जग्गा खोजी कार्य पनि जारी रहेको छ ।  

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  २०:०३
प्रतिक्रिया दिनुहोस्