इनरुवा । नेकपा एमालेले तीन दिनदेखि जारी राखेको मेची–महाकाली यात्रालाई रोक्न मधेसी मोर्चामा आवद्ध राजनीतिक दलका कार्यकर्ताले सप्तरीमा विहानैदेखि प्रदर्शन जारी राखेका छन् ।
जिल्लाको भारदह, हनुमान नगर, कन्चनपुर लगायतका ठाउँमा लाठी जुलुस प्रदर्शन गरेका छन् । आज सप्तरी बन्दको आयोजना गरी त्यहाँ कुनै पनि गतिविधि गर्न नपाइने मोर्चाका स्थानीय नेताहरुले बताएका छन् ।
सप्तरी प्रहरीका अनुसार बन्द गराउँदै हिँडेका मोर्चाका तीन कार्यकर्ता प्रहरीले पक्राउ गरेको छ । एमालेको मेची–महाकाली जागरण अभियानको तेस्रो दिनको ¥याली आज मध्याह्न दुई नम्बर प्रदेश पस्न लागेको हुँदा एमालेलाई रोक्न मोर्चाले जुलुस निकालेको हो ।
संविधान संशोधनको विषयलाई लिएर एमालेसँग चिढिएको मोर्चाले दुई नम्बर प्रदेशमा छेकबार तेर्स्याएर रिस पोख्न लागेको एमालेका नेताहरुको भनाई छ ।
फोरमका स्थानीय शैलेन्द्र साह भन्छन्, “जनताले चक्काजाम आयोजना गरेका छन्, एमालेले सभा गर्ने, भाषण सुनाएर बस्ने अवस्था छैन । बाहिरबाट ल्याएका आफ्नै कार्यकर्तालाई कुरा सुनाए मात्रै हो ।”
त्यसो त दोस्रो दिनको सभा टुंग्याएलगत्तै एमाले स्थायी कमिटीको बैठक पनि बसेको थियो । बैठकले आइतबारको र्यालीको समीक्षा गरेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । उनकाअनुसार आइतबारको कार्यक्रममा जनताको उत्साहजनक सहभागिता रहेको निष्कर्ष निकालेको थियो ।
उनले कार्यक्रम पूर्वघोषित भएकाले एमालेले दुई नम्बर प्रदेशमा कार्यक्रम गर्ने जानकारी दिए । “एमालेले आफ्नो कार्यक्रम गर्छ । मोर्चाका नेताहरूसँग पनि कुराकानी भएको छ । उहाँहरूले सम्यमता प्रदर्शन गर्नुपर्छ,” उनले जोड दिए ।
मोर्चाको आफ्नै योजना
एमालेले सप्तरीको राजरंगशालामा कार्यक्रम स्थल तय गरेको थियो । तर, मोर्चाका स्थानीय नेता, कार्यकर्ताले ताला लगाएपछि एमालेको स्थानीय पार्टी पंक्तिले राजविराजबाट पाँच किमी उत्तरमा रहेको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा कार्यक्रम स्थल सारेको छ ।
औद्योगिक क्षेत्रमा प्रशासनले सुरक्षा दिन सक्ने निष्कर्षका साथ एमालेले उक्त स्थान छनोट गरेको हो । तर, मोर्चाका स्थानीय नेताले भने एमाले सभामा जनता सहभागि नहुने दाबी गर्छन् ।
फोरम सद्भावनाका स्थानीय नेता जितेन्द्र चौधरीले एमालेको कार्यक्रमबारे मोर्चालाई कुनै जानकारी नै नभएको जिकिर गरे । “एमालेको कार्यक्रमसम्म सुनेका हौँ, उहाँहरूले अभियान गरिराख्नु भएको छ क्यारे, तर सप्तरीमा कुनै तयारी देखिएको छैन ।
एमालेको सभामा कोही जनता जाँदैनन्,” उनले थपे । उनले अभियानमै आफैँले ल्याएका कार्यकर्तालाई भाषण सुन्ने तर सप्तरीका जनता एमालेको सभामा नजाने बताए ।
आफू सत्तामा हुँदा पाँचजना निहत्था मधेसीको हत्या गरेको हुनाले एमाले अध्यक्ष ओलीप्रति मधेसको आक्रोश रहेको उनको टिप्पणी थियो । उनले गाउँ–गाउँबाट जनताहरू लाठीसहित राजविराज आएको र बिहानैदेखि प्रदर्शन गर्नेसमेत जानकारी दिए । “हामी कुनै सभा–सभा गर्दैनौँ, राजविराज, भारदह, कन्चनपुरलगायत आधा दर्जन ठाउँमा लाठीसहित प्रदर्शन गर्छौं,” उनले भने, “सोमबार सप्तरी जिल्लामा चक्काजामको आयोजना गरिएको छ ।”
सोमबारको चक्काजाम र प्रदर्शनलाई कडा बनाउन आइतबार साँझ मोर्चाले सप्तरीको भारदह, कन्चनपुरलगायतका स्थानमा मसालजुलुस निकालेको थियो ।
यता स्थानीय प्रशासनले भने शान्ति सुरक्षा सुदृढ भएको दाबी गरेको छ । “मोर्चाले लाठी जुलुस निकाल्ने भनेको छ, तर मोर्चाको प्रदर्शनकै कारण एमालको सभा विथोलिने अवस्था छैन,” सप्तरीका एसपी दिवस लोहनीले जानकारी दिए । एमालेले सप्तरी जिल्लामा दुई ठाउँमा सभा गर्ने योजना बनाएको छ ।