site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आरएनबीकी त्रिशंकु गायिका

राधिका विष्ट अष्ट्रेलिया बस्छिन् । इन्जिनियरिङमा आफ्नो करियर बनाइसकेकी उनी पछिल्लो समय गीत गाइरहेकी छन् । राधिका अहिले एल्बम निकाल्ने तयारीमा छिन् । आरएनबी जनरामा गीत गाउने आफू पहिलो नेपाली महिला गायिका भएको उनको दाबी छ । एउटै गीतमा धेरै शब्द राखेर वर्णनात्मक शैलीमा गाइने आरएनबी गीतसँगै विदेशमा बसेर गीतसंगीतमा लाग्न कत्तिको अप्ठ्यारो हुन्छ त ? सम्भावनाहरू के छन् ? यस्तै विषयमा विष्टसँग  गरिएको कुराकानी:

अहिले के गर्दै हुनुुहुन्छ ? 
एल्बम निकाल्ने तयारी गरिरहेको छु । ‘गाउने धुन’ भन्ने एल्बमको तयारी गरिरहेको छु । यसमा मेरा नयाँ र पुराना गीत समावेश हुनेछन् ।  

गीत गाउन कहिलेबाट सुरु गर्नुभयो ? 
सबैलाई सोधिने यो प्रश्नमा सबैको एकैखालको जवाफ हुन्छ होला सायद, बच्चैदेखि । प्राकृतिक रूपमा थाहै नपाई मैले पनि गीत गाउन थालेकी हुँ । पहिलो रेकर्डिङ गरेको सन् १९९७ मा पुल्चोक इन्जिनियररिङ कलेजमा पढ्दा हो । सुरुमा त्यो गीत ठिकै लागेको थियो । अष्ट्रेलियामा गएपछि मैले आफैं गीतार बजाएर गीत कम्पोज गरें । शब्द तयार भएपछि एरेन्जरलाई दिँदा ठिक छ भन्नुभयो । त्यहीँबाट सुरु भयो गाउने यात्रा ।  

तपाईंको पहिलो गीत कुन हो ? 
१९९७ मा गाएको गीत त मैले पनि बिर्सिसकेँ । तर एल्बममा गाउने हिसाबले तयार पारेको कुरा गर्दा ‘शुभकामना...’ मेरो पहिलो गीत हो । २०७० सालको नयाँ वर्षका लागि भनेर शुभकामना गीत निकालेको हो । 

गीतको संख्या त निकै न्यून छ नि ! 
हो, मैले फ्लोरमा पठाएको गीतको संख्या निकै कम छ । जम्मा सात वटा गीतमात्रै बजारमा छन् । तर अरु थुप्रै गीत तयार छन् र रेकर्ड मात्रै नगराएको हो । १५/१६ वटा गीत त अहिले पनि तयारी अवस्थामा नै छन् । ४/५ वटा एरेन्ज पनि भइसकेको छ । ती गीत अर्को एल्बममा समावेश हुनेछन् । 

तपाईंको सबै गीतमा किन आफ्नै शब्द र संगीत हुन्छ ?
पहिलो कुरा, म बाहिर बस्ने भएकाले संगीतकारसँग प्रत्यक्ष भेटघाट गरेर काम गर्न नसकेकाले पनि हो । दोस्रो, मैले पहिलो गीतमा अरुलाई गराएको संगीतको तुलनामा मैले अहिले आफैँ संगीत गरेको गीतमा आत्सन्तुष्टि बढी भएकाले पनि हो । 

तपाईं आरएनबी जनराको गीत बढी रुचाउनुहुन्छ, कस्तो खालको जनारा हो यो ? 
पहिला अमेरिकामा दासप्रथा हुँदा खेरैहरुलाई काला जातिका मान्छेलाई बेच्ने गरिन्थ्यो । यस्तो पीडामा एउटै गीतमा धेरै शब्द राखेर गाउन सुरु गरिएपछि यो जनरा सुरु भएको हो । मैले किन गरें भन्ने सन्दर्भमा धेरै शब्द नै राख्न पाइन्छ भनेर हो । 
मैले केही वर्षपहिले बीबीसीमा एक जना महिलाको पीडा मिश्रित अन्तर्वार्ता सुनें । त्यो पीडालाई थोरै शब्दमा बिम्ब र प्रतीकको प्रयोग गरेर भन्दा पनि धेरै शब्द राखेर गाउँदा अझ सरल हुन्छ भनेर हो र अर्को पक्ष म धेरै यही जनराको गीत सुन्ने र यही मन पर्ने भएर पनि हो । 

तपाईं अब आरएनवीलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने हो ? 
आरएनवी सँगै अरु जनरा पनि हुनेछन् । आरएनवी प्राथमिकतामा किन रहनेछ भने गीत सधैँ सबैले काल्पनिक मात्रै गाएर हुँदैन । हाम्रो समाजमा धेरै यस्ता विषय छन् जसलाई चेतनाका लागि पनि गाउनुपर्छ । हामी विकसित समाजको मान्छे होइन, त्यसैले पनि काल्पनिक गीत मात्रै गाएर बस्नु हुँदैन जस्तो लाग्छ । 
तर, केही रमाइलो नाच्ने गीत हुन्छन् । सधैँ विरहको गीत मात्रै गाएर पनि हुँदैन । पोजेटिभ भाइभ्स दिने गीत पनि चाहिन्छ भनेर त्यस्ता गीत पनि गाउँछु । 

इन्जिनियर मान्छे गीतसंगीतमा कसरी लाग्नु भयो ? 
इन्जिनियरिङ पेशा हो भने गीत संगीत कला हो । कला सिर्जना भनेको भोलिको दिनका लागि पनि पहिचान हो । यसले मरेर गएपछि पनि मलाई चिनाउँछ तर मैले आज जति नै पैसा कमाए पनि जति नै ठूलो पदमा पुगे पनि त्यो बाँचुन्जेलका लागि मात्रै हुन्छ । अर्को पाटो सुरतालमा गाउने कुरा भगवानले मान्छेलाई दिएको उपहार हो । यसलाई सदुपयोग गरौं भनेर पनि हो । सँगै म गाउँदै थिएँ । मेरो आमाको.निधन भयो । सुरताल आमाले मलाई दिएको उपहार हो र उहाँको सम्मानका लागि पनि म गाउँछु भनेर पनि गाउन थालेकी हुँ । 

नेपालमा कलाको क्षेत्रलाई कत्तिको सबल देख्नुहुन्छ ?
त्यति धेरै सबल छैन । सबै कुरा छोडेर गाएरै अथवा नाचेरै जीविका चलाउँछु भन्न सक्ने अवस्था बनिसकेको छ जस्तो लाग्दैन । अझै केही समय लाग्छ । त्यसैले पनि होला धेरैले यसलाई वैकल्पिक पेसाका रूपमा लिनुभएको । मैले पनि सांगीतिक यात्रा ढिलो गर्नुको कारण यही नै हो । आफ्नो करियर इन्जिनियरिङमा बनाइसकेपछि सांगीतिक क्षेत्रमा लागेकी हुँ । 

नेपाल बाहिर बसेर गीत संगीत सिर्जना गर्न कत्तिको गाह्रो छ ?
बाहिर मात्रै होइन यहाँ पनि गाह्रो छ । जुन पनि क्षेत्रमा सफलता पाउनका लागि संघर्ष गर्नु नै पर्छ । प्राविधिक क्षेत्रमा नै करियर बनाउन मैले पनि त्यहाँ समय दिनुपर्छ । दिएँ पनि । शनिबार र आइतबार बिदाको दिनमा सांगीतिक काम गर्छु । ५ दिन काम गर्छु बाँकी दुई दिन यही कामका लागि सक्रिय छु । शब्द र गाउन पनि केही सहज होला तर संगीत सिर्जनामा भने निकै गाह्रो हुन्छ । 

विदेशमा बस्दा सांगीतिक सिर्जनाको कला मरेर जाने सम्भावना कत्तिको हुन्छ ?
यो सम्भावना त धेरै नै छ । संगीतका तीन वटा विधामै काम गर्न सक्नेलाई केही सहज होला तर गायन, संगीत वा शब्दमध्ये एकमा मात्रै रहनेलाई भने कठिन नै हुन्छ । म पनि गाउनमा मात्रै हो भने सायद मभित्र रहेको कलासँगै मेरो रहर पनि अधूरै रहन्थ्यो होला । 

तपाईं अष्ट्रेलियामा मै गीत रेकर्ड गर्नुहुन्छ हैन ? 
हो, त्यहीँका स्टुडियोमा गीत रेकर्ड गराउँछु । 

नेपालमा गीत रेकर्ड गराउनु र त्यहाँ गीत रेकर्ड गराउनुमा के भिन्नता हुन्छ ?
हो, केही समस्या हुन्छन् । त्यहाँ महँगो मूल्यमा स्टुडियो बुक गरेर गीतको भोकल रेकर्ड गरायो, रेकर्डिस्टले नेपाली बुझ्दैन । उसलाई कति भाषा उच्चारण तथा सुर लागेको हुँदैन । तर, उसले राम्रो छ भन्छ । त्यहाँ रेकर्ड गराएर मिक्सिङका लागि नेपाल पठायो यहाँबाट बिग्रिएको छ भनेर रि–रेकर्डिङका लागि फिर्ता गर्ने अवस्था आउँछ । प्राविधिक रूपमा यस्ता कठिनाइ रहेपनि आर्थिक रूपमा भने त्यहाँ राम्रो कमाइ हुने भएकाले सहज हुन्छ । 

नेपाली सांगीतिक क्षेत्रका कमीकमजोरी के देख्नुहुन्छ ?
हामीले आफ्नै मौलिक विषयलाई प्राथमिकता दिनुपर्छ । अहिले केही वर्षयता त यो देखिएको पनि छ । नेपाली भन्दा पनि विदेशी शैलीका गीत र कलाकारलाई प्राथमिकता दिने प्रवृत्तिको भने अन्त्य हुनुपर्छ । पछिल्ला दिनमा केही सुधार हुँदै पनि गएको छ ।  

चिसो चिसो सिरेटो...

शब्द:

चिसो चिसो सिरेटोको तालमा डुंगा खियाउँदै माझि दाले, सोधे गन्तव्य कहाँ होला
हजुर कहाँ पुर्यादिउँँ मैले, मोहनी रुप शिस्ट बोलि, सुनिरहे मुखै नखोली
दोहोर्याउँदै भन्न थाले, तर बोली केही फुटेन, मत त्यसै परें, अलमल्ल
उनले पनि सोध्न थाले, किन किन हो हजुर अलमल्ल.... अलमल्ल....

पहाडको फेदमा, नदीको धारमा बिना शब्द, सहयात्रा बढीरह्यो
मनको मैदानमा, सयौं सवाल अविराम खेलीरह्यो
जहाँ जहाँ नयन भेट्थे, उँही मिलन बिन्दु खोज्थे, सोरठिको भाका हाल्दै 
मायाको गीत सुनाउथे, जब खुलेर केहि भन्थे, नबुझे झैं सुनिरहन्थे
रचिदै थियो, अनौठो कहानी, प्रेम कहानी ....

केही भरोसा, झुटा बाचा, गरेरै बिदा लिए, समाजको बन्धन जटिल भो झनझन
नभेट्ने कहल्यै निधो लिए, सहि थिय म या गलत, समय लाई थियो शायद अवगत
जिन्दगीको त्यो रोजाइलाई आफै गर्ने सकिन स्वागत, कहीँ दबेर, कहीँ झरेरै बगीरे...

चिसो चिसो सिरेटोको तालमा डुंगा खियाउँदै माझि दाइले, सोधे गन्तव्य कहाँ होला
हजुर कहाँ पुर्यादिउmँ मैले, मोहनी रुप शिस्ट बोली, सुनिरहे मुखै नखोली
दोहोर्याउँदै भन्न थाले, तर बोली केही फुटेन, मत त्यसै परें, अलमल्ल
उनले पनि सोध्न थाले, किन किन हो हजुर अलमल्ल... अलमल्ल....

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १९, २०७३  १६:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro