दाङ । पूर्वपर्यटन तथा स्वास्थ्यमन्त्री लोकेन्द्र बहादुर विष्टले दाङमा ड्रागन फ्रूटको व्यावसाय सुरु गरेका छन । चार दशकभन्दा बढी समय सक्रिय राजनीतिमा रहँदा पर्यटन र स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हालेका उनले विगत डेढ वर्षदेखि राजनीतिक जीवनलाई पूर्णविराम लगाउँदै तुलसीपुर–१७ बिजौरी स्थित घोराही–तुलसीपुर सडकखण्डको दक्षिणतर्फ करीब तीन बिगाह क्षेत्रफल जग्गामा ‘ड्रागन फ्रूट’ को व्यावसायिक खेती थालेका हुन ।
ठूलो कम्पाउण्ड भित्र बेल्चा समातेर काममा खटिएका पूर्वपर्यटन तथा स्वास्थ्यमन्त्री विष्ट भने, "म नयाँ कृषि उत्पादनमा बढी चासो राख्छु । त्यसैले होला नयाँ काम गर्न मन लाग्छ । मान्छेहरु हरेक कुरामा केही नयाँपन चाहन्छन् । त्यसैले हामीले जुनसुकै काम गर्दा पनि केही नयाँपन दिने कोसिस गर्नुपर्छ ।"
हाल उनीसँगै १० जना मजदुर पनि छन । उनले पूर्णरुपमा व्यावसायिक बन्ने सोचका साथ यो पेशामा लागेको बताए । उनी भन्छन, "अर्धचेत र अचेत अवस्था हुँदासम्म राजनीतिमा झुण्डिरहनुको अर्थ हुँदैन । भावी पुस्तालाई जिम्मेवारी सुम्पेर आफू व्यावसायिक बन्न सक्नुपर्छ । मैले त्यसै गरें ।"
उनले १५ वर्षअघिदेखि ड्रागन फ्रूटको बारेमा अध्ययन गरिरहेको बताए । हाल ड्रागन फ्रूटको खेतीका लागि २५ लाख लगानी भइसकेको छ । २५ सयभन्दा बढी बिरुवा रोपिएको छ भने बाँकी चार हजार बिरुवा रोप्ने तयारी हुँदैछ । बिरुवाको साइज अनुसार रोपेको दुईदेखि चार वर्षबाट फल दिन सुरू गर्छ ।
एउटा स्वस्थ बोटबाट २०–२५ वर्षसम्म फल पाउन सकिन्छ ।
प्रति बिरुवा तीनदेखि पाँच सयसम्म मूल्य पर्दछ । जेठदेखि कार्तिक महिनासम्म यो फलको मुख्य सिजन हो । एउटा बोटले एक सिजनमा ३५ देखि ४० किलोसम्म फल दिन्छ भने हाल नेपालमा यो छ सयदेखि एक हजार रुपैयाँसम्म प्रतिकिलोका दरले बिक्री हुने गरेको छ ।
ड्रागन फ्रूटको उत्पति दक्षिण अमेरिकाको मेक्सीको देशमा भएको हो । पछिल्लो चरणमा अन्य विभिन्न देशहरुमा यसको व्यावसायिक खेती हुँदै नेपालमा पनि भित्रिएको छ ।
नेपालको सन्दर्भमा विशेष गरेर भित्री मधेश तथा तराई क्षेत्रको वातावरण यसका लागि उपयुक्त मानिन्छ ।
"१५ वर्षको उमेर अर्थात विद्यार्थी जीवनदेखि राजनीतिक यात्रा शुरु गरेको हुँ । तत्कालीन नेकपा माओवादीको केन्द्रीय कमिटीमा रहेर २१ वर्ष काम गरे । दुईपटक मन्त्री भएँ । बाँकी जिम्मेवारी भावी पुस्तालाई छोड्दै व्यवसायमा फर्किएँ", उनी थप्छन, "मेरा सहकर्मी साथीहरुले पनि यही गर्न सक्नुपर्छ । अनि मात्रै राजनीति स्वच्छ हुनसक्छ ।"