site stats
बाह्रखरी :: Baahrakhari
देश

दाङ । प्यूठान जिल्ला अदालतमा मुद्दाको चाप बढ्दै गएको छ । 

पछिल्लो तीन आर्थिक वर्षको तथ्यांक अनुसार मुद्दाको चाप वर्षेनी बढ्दै गएको हो । आर्थिक वर्ष २०७३-०७४ मा २९९, २०७४-०७५ मा ४२६ र चालु आर्थिक वर्ष २०७५-०७६ को फागुनसम्म ३९० मुद्दा दर्ता भएको जिल्ला अदालत प्यूठानले जनाएको छ । जिल्लामा अंश, सवारी ज्यान, जबरजस्ती करणी, कर्तव्य ज्यान, बहुविवाहसम्बन्धी मुद्दा धेरै छन ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस आर्थिक वर्षको अन्त्यसम्म मुद्दा दर्ता बढ्ने जिल्ला न्यायाधीश विष्णु प्रसाद गौतमले बताए । "३ सय ९० मुद्दामध्य २१० फर्छ्यौट भएको छ । सम्बन्ध विच्छेदको १ सय ११ मुद्दा दर्ता भएकोमा ५९ फैसला भएको छ । फैसला भएका ५९ मुद्दा सबै महिलावादी हुन", गौतमले भने, "महिलावादी ८५ र २६ मुद्दा पुरुषवादी छन् ।"

कैद लगत १२ हजार २३५ वर्ष तीन महिना १० दिन मध्य १९१ वर्ष नौ महिना २० दिन फर्छ्यौट भएको छ । जरिवानातर्फ ६९ लाख १४ हजार ४७१ रुपैयाँ ४४ पैसामध्य १७ लाख ५३ हजार १६३ रुपैयाँ भुक्तान भएको छ । 

अदालतले न्यायिक बाह्य पहुँच कार्यक्रम अर्न्तगत समुदायमा न्याय सम्बन्धी सचेतीकरण कार्यक्रमसमेत गर्दै आएको छ । "यस वर्ष तीन स्थानमा कार्यक्रम गरेका छौं", न्यायाधीस गौतमले भने । 

प्रकाशित मिति: सोमबार, चैत १८, २०७५  १६:२६
प्रतिक्रिया दिनुहोस्