‘लुट’ मा हाकु (सौगात मल्ल) ले गोफ्ले (दयाहाङ राई), पाण्डे (सुशीलराज पाण्डे), खत्री (प्रतीकराज न्यौपाने) र नरे (कर्मा शाक्य) लाई पैसाको सपना देखाएर सहकार्यका लागि एक ठाउँमा भेला गराएको थियो ।
तर, अन्तिममा हाकुले उनीहरूलाई धोका दिएको थियो । जेल परेका उनीहरू भूकम्पका बेला जेल तोडेर भाग्छन् ।
रिसले बाघजस्ता भएका उनीहरू हाकुलाई खोज्छन् । पटकपटक भेट्छन् पनि । बदला लिन खोज्छन् ।
तर, गल्लिबाट उठेर महलमा पुगेको ‘मास्तर प्लान’वाला हाकु पनि कमको हुँदैन ।
उसको ‘मास्तर प्लान’ यथावतै हुन्छ । गोफ्ले, पाण्डे, खत्री र नरेको जीवन भने घन्टाघरको घडीको सुई जस्तै यताउति हल्लिरहन्छ । मूलबाटो पक्रिन सक्तैन । यही हो ‘लुट–२’ को ‘मास्टर’ कथा ।
विद्यमान अस्थिर राजनीतिक अवस्था, मौलाउँदो कालोबजारी र त्यसको परिणाम नै ‘लुट–२’ को लगलाइन हो ।
नाकाबन्दीको मौका छोपेर गरिएको कालो धन्दा चलचित्रले छर्लङ्ग पारिदिएको छ । चलचित्रका मुख्य पात्रहरू नाकाबन्दीको मौका छोपेर मौन प्रशासनको फाइदा लुट्दै कालो धन्दामा सक्रिय हुन्छन् । राज्य बेखबर हुन्छ ।
निश्चल बस्नेत निर्देशित चलचित्र ‘लुट–२’ यसकै सेरोफेरोमा घुम्छ ।
चलचित्रमा दर्शकले दुई अब्बल पक्ष देख्न सक्छन्, एउटा क्यामेरा र अर्को अभिनय । क्यामेरा निकै मजाले चल्दा कैंची चल्न भने बिर्सिएको छ । पर्दापछाडि पुरुषोत्तम प्रधान चलचित्रमा सबैले नोटिस गर्नैपर्ने नाम हो ।
पर्दामा सौगात मल्ल र पित्तले डन (विपिन कार्की) सबैले तारिफ गर्ने पात्र हुन् । ‘लुट’ मा माने (प्रविन खतिवडा)का पछाडि दौडिने उनले सिक्वेलमा मानेलाई पछि पारेका छन् ।
चार वर्षपछि निर्माण गरिएको सिक्वेलमा समसामयिक कथा छ । बैंक लुट्ने ‘प्लान’ सँग तत्कालीन कथालाई ‘कनेक्सन’ गर्दै देशको यथार्थ चित्रण गर्दै पात्रलाई त्यतैतर्फ कलात्मक रूपमा ढल्काइएको छ ।
कथा समसामयिक छ । प्रस्तुति अब्बल छ । तर चाहेको भए राख्न सकिने ‘साइड प्लट’ छैन । पटकथामा कथाकारसमेत रहेका निर्देशक चुकेका छन् । खेद्ने र खेदाउने दृश्य लामा छन् । दर्शकलाई डाङडुङ आवश्यकता भन्दा धेरै लाग्न सक्छ ।
फर्मुलामा फिल्म बनाउन खोजिएको छ । निर्देशक यसमा सफल पनि देखिएका छन् । ‘लुट’ का पात्रसँग ‘लुट–२’ का पात्रलाई जोड्न खोजिएको छ । बदला लिन कुदिरहेका पात्रप्रति दर्शकको भावनात्मक सम्बन्ध जोड्न सफल भएका निर्देशकले कथा ट्विस्ट गर्छन् ।
तर पनि दर्शक भड्किँदैनन् । बदलाको मनोदशाबाट गुज्रिएका पात्र र उनीहरूको चंगुलबाट सके निस्किने नसके उनीहरूलाई नै प्रयोग गर्ने हाकुबीच अपेक्षित सघन द्वन्द्व भने महसुस हुँदैन । यसमा फेरि चलाखी गर्दै निश्चलले अर्को सिक्वेलका लागि पर्याप्त ठाउँ छाडेका छन् ।
बलियो क्लाइमेक्स नहुनु तथा हाकु र गोफ्लेलाई बढी प्राथमिकतामा राखिनु ‘लुट–२’ कमजोर पक्ष हो । नेपाली समाजको बोलीचालीको भाषा प्रयोग गरिएको छ । छायांकन, पाश्र्वध्वनी र डाइलग सबल पक्ष हुन् । सिक्वेलमा अरुभन्दा अब्बल देखिएका निश्चलले आम दर्शकलाई दुई घण्टा बाँधेर राख्छन् । नेपाली चलचित्रका आम दर्शकले चलचित्रमा मनोरञ्जन लिन सक्छन् ।
उनको पहिलो फिल्म ‘लुट’ हेरेर अनपेक्षित आकांक्षा राख्नेहरूले भने खोजेजस्तो नभेट्टाउन सक्छन् । तर, निश्चलले राम्रो कथा भेटे अब्बल निर्देशन गर्ने क्षमता ‘लुट’ सिक्वेलबाट पनि प्रष्ट्याएका छन् ।