घोराही । रुकुम पश्चिमको आठविसकोट नगरपालिका कार्यालयमा ढुंगा प्रहार भएको छ । नगरपालिकामा टेन्डरको लागी दरखास्त दिने विषयमा विवाद भएपछि आइतबार दिउँसो स्थानीय युवाहरुले ढुंगामुडा प्रहार गरेका हुन ।
ढुंगा प्रहार हुँदा सुरक्षामा खटिएका दुई जना नगर प्रहरी दिपक थापा र कुशल खढ्का तथा एक सर्वसाधारण निशान कामी घाइते भएका छन् ।
आइतबार मध्यान्ह १२ बजेसम्म टेन्डरकालागि दरखास्त दिने समय तोकिएको भए पनि १२ पछि मात्रै उनीहरु दरखास्त दिन आएकाले नगरले टेण्डर फाराम दर्ता नगरेपछि यस्तो अवस्था सिर्जना भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताए ।
"हामीले १२ बजेसम्म टेण्डरको समय तोकेका थियौं", उनले भने, "तर उहाँहरु १२ बजेपछि आउनुभयो, त्यतिबेला टेन्डरको समय सकिसकेको थियो, त्यसैले फारम दर्ता गरिएन् ।"
बाहिर पठाए लगत्तै ती युवाहरुको समूहले एक्कासी कार्यलयमा ढुंगामुडा प्रहार गरेको उनको भनाई छ । ढुंगामुडा प्रहार गर्ने युवाहरुले भने १२ बजेसम्म टेन्डरको लागि दरखास्त दिने समय भए पनि पौने १२ हुँदा सम्म कार्यकारी अधिककृत कार्यकक्षमा नभएकोले दरखास्त दिन ढिला भएको बताएका छन् ।
साथै आफूहरुले बैंकको भौचर बुझाउँदा पनि दरखास्त नभरिदिएको र आफ्नो पक्षकालाई भने बिना भौचर नै टेन्डर दर्ता गरिदिएको अरोप समेत लगाएका छन् ।