विशेष
काठमाडौं । हिँडिरहेका बेला वा सवारीसाधनमा यात्रा गर्दा घाँटीमा लगाएको सिक्री लुटिनु काठमाडौं उपत्यकामा नौलो होइन । विशेषगरी महिलाहरू लुटेराको निशानामा पर्ने गरेका छन् ।
तर, सिक्री लुट्ने पनि सिजन हुने रहेछ । प्रहरीका अनुसार गर्मी याममा सिक्री लुटपाट बढी हुन्छ । कारण, गर्मी याममा महिलाले शरीर छोप्ने गरी लुगा लगाउँदैनन् । प्रहरीको तथ्यांक हेर्ने हो भने यो वर्ष उपत्यकामा सिक्री लुट्ने सिजन लगभग सकिएको छ ।
मंगलबार महानगरीय प्रहरी परिसर काठमाडौं पुगेको बाह्रखरी प्रतिनिधिसँग एक प्रहरी नायब निरीक्षकले भने, ‘सिक्री लुट्ने सिजन सकियो, त्यसैले अहिले आनन्द छ ।’ महानगरीय अपराध महाशाखाको तथ्यांकले पनि गर्मीमा सिक्री लुटिने घटना अत्यधिक र जाडोमा शून्यप्रायः रहेको देखाउँछ । महाशाखाका अनुसार गत असारयता काठमाडौं उपत्यकामा ३२ वटा सिक्री लुटपाटका घटना भएका छन् । लुटिनेमा सबै महिला छन् । मंसिर, पुस र माघमा सिक्री लुटपाटको घटना एउटा पनि भएको छैन । सबैभन्दा बढी वैशाखमा सिक्री लुटिएका छन् ।
“गर्मी याममा मानिसले शरीर छोप्ने गरी लुगा लगाउँदैनन् । त्यसैले सिक्री लुट्नेहरूले त्यसको फाइदा उठाउँछन्,” महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले बाह्रखरीसँग भने, “महिलाहरूले गहना देखिने गरी लगाउँछन् अनि मोटरसाइकलमा सवार लुटेरालाई तानेर लैजान सजिलो हुन्छ ।” प्रहरीका अनुसार लुटिनेमा महिलामात्र छन् । महिलाले प्रतिवाद गर्न नसक्ने भएकाले पनि लुटेराको निसशानामा उनीहरू पर्ने गरेको प्रहरीको तर्क छ ।
गर्मीमा चोरी पनि धेरै
महाशाखाको तथ्यांकअनुसार गर्मीमा सिक्री लुटपाटजस्तै चोरीका अन्य घटना पनि धेरै हुन्छन् । गर्मीमा घरका झ्याल–ढोका खुला राखिने र मानिसहरू ढिलोगरी प्रवेश गर्ने हुनाले चोरलाई सहज हुने प्रहरीको अनुमान छ । गर्मीमा चोरी र लुटपाट धेरै हुने भएका कारण यसको नियन्त्रणका लागि थप प्रहरी परिचालन गर्ने गरिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विक्रम थापाले जानकारी दिए । “चोरका अनेक तरिका हुन्छन् । थोत्रा बोरा, कागज, बोत्तल किन्ने र फोहोर उठाउने बहानामा घरको ‘रेकी’ गर्ने र कोही नभएको मौका पारेर चोरी गर्ने उनीहरूको रणनीति हुन्छ,” थापाले भने, “समय ठीक छैन । त्यसैले सबैसँग होसियार हुनुपर्छ ।”
प्रकाशित मिति: बुधबार, साउन १२, २०७३ १०:४५
प्रतिक्रिया दिनुहोस्