site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मुआब्जा विवादले तीनकुने शान्तिपार्क निर्माण योजना अलपत्र

काठमाडौं । बानेश्वर र कोटेश्वरको बीचमा रहेको तीनकुनेको खाली जग्गामा शान्तिपार्क बनाउने काठमाडौं महानगरपालिकाको योजना अगाडि बढ्न सकेको छैन । 

तीनकुनेमा खाली रहेको ३५ रोपनी जग्गामा बुद्धको मूर्तिसहित शान्ति पार्क बनाउने महानगरपालिकाको योजनाले निकै लामो समय बितिसके पनि त्यसले मूर्त रूप भने लिन सकेको छैन । 

केही जग्गाधनीले मुआब्जा लिन नमान्दा पार्क निर्माण कार्य अघि बढ्न नसकेको हो । “अझै करिब १५ प्रतिशत जग्गाधनीले यो मुआब्जा लिन मानेका छैनन्,” काठमाडौं महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले भने, “सबैले मुआब्जा लिएपछि पार्क निर्माण कार्यले गति लिन्छ ।”

महानगरपालिकाले २०५१ सालमा आनाको ३ लाख २० हजारका दरले मुआब्जा वितरण गरेको थियो । “०५१ सालमा दिइएको त्यो मुआब्जा उचित मूल्यांकन सहितको हो,” प्रवक्ता कार्कीले भने, “अहिले केहीले बाटोको पनि मुआब्जा मागिरहेका छन्, बाटोमा परेको जग्गाको पनि मुआब्वा दिने हो भने अरनिको राजमार्गको पूरै पैसा तिर्नुपर्छ ।” मुआब्जा नलिनुमा जग्गा धनीको आन्तरिक विवाद पनि अर्को कारण भएको प्रवक्ता कार्कीले जनकारी दिए । दाजुभाइको अंश विवाद तथा अन्य घरायसी कारण पनि मुआब्जानलिनुको अर्को पक्ष रहेको कार्कीको भनाइ छ ।  

९ करोड लगानीमा शान्तिपार्क निर्माण गर्न लागिएको कामनपाले जनाएको छ । महानगरपालिकाका अनुसार पार्क निर्माणका लागि चीनले सहयोग गर्ने आश्वासन दिएको छ । चीनका विभिन्न स्थानीय निकायले पार्क निर्माणका लागि सहयोग गर्ने आश्वासन दिइसकेको महानगरले जनाएको छ । चीनले बुद्धको मूर्ति स्थापना गर्न सहयोग गर्न चासो देखाएको हो । 

१६ मिटर अग्लो बुद्धको मूर्ति हुनेछ भने ३ सय कार र २५० मोटरसाइकल पार्किङ गर्न मिल्नेछ । तीन वटा गेट हुनेछन् भने गेटबाट भित्र पस्न बित्तिकै बुद्धको मूर्तिमा पुगिनेछ । उक्त पार्क घुम्नका लागि बुद्ध परिक्रमा गर्नुपर्नेछ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि नजिकै रहेको तिन कुनेमा विमानस्थल बाटै देखिने मूर्ति स्थापना गर्ने महानगरको लक्ष्य छ । “अत्याधुनिक पार्कसँगै विमानस्थल बाटै देखिने बुद्धको मूर्ति स्थपना गर्न सकियो भने पर्यटन प्रवद्र्धनका लागि पनि सहयोग पुग्छ,” प्रवक्ता कार्कीले भने, “त्यसलै पनि सकेसम्म चाँडो निर्माण कार्य सुरु गर्ने हाम्रो लक्ष्य हो ।”

यता, महानगरकै एक अधिकारीले भने मुआब्जा नलिई बसेकाहरुलाई उनीहरुले मागे अनुसारको रकम सरकारले दिने निर्णय गरेर बजेट बिनियोजन नगरेसम्म योजना अगाडि बढ्न नसक्ने बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १०, २०७३  १४:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro