विवेक खड्का
दाङ । तपाईंको समुदायमा स्वास्थ्यका विषयमा जानकार सबैभन्दा बढी को हुनुहुन्छ ?, प्रश्न टुंगिन नपाउँदै दाङको चखौरास्थित थारु समुदायको आमा समूहका महिलाहरु भनिरहेका थिए, "उहिले गुरुव-महतवा हुन्थे तर अहिले डाक्टर नै हो ।" "समय फेरिएसँगै मैले पनि अन्नपात बेचेर छोरालाइ डाक्टर बनाएकी छु", चखौरा महिला समूहकी नेतृ मनकलाले भनिन् । यो अनुभव आदानप्रदानको क्षण थियो, काठमाडौं उपत्यकाको ललितपुरस्थित दिव्यभुमि बहुमुखि कलेजका विद्यार्थी र चखौरा महिला समूहबीचको ।
छलफलका क्रममा थारु महिलाहरुले सुत्केरी गराउँदा सुडेनीको भूमिका, गाउँमा दुईचार सय रुपैयाँको काम चलाउन महिला समूहले चलाएको बचत अभियानसँगै सामूहिक खेतीमा महिला अग्रसरतासम्मका कुरा विद्यार्थीहरुलाइ सुनाए । त्यसैगरी पछिल्लो समयमा थारु समुदायमा आएको शैक्षिक चेतना र आधुनिक कृषि प्रणाली र स्वरोजगार बन्नका लागि सीपको आदान प्रदानका विषयमा पनि बोलेका थिए महिलाहरु ।
सुनिरहेका थिए बुद्धभुमि कलेजका ३१ जना विद्यार्थीहरु । स्थलगत खोजका क्रममा उनीहरुले कमैया बस्तीमा पुगेर उनीहरुको आर्थिक, सामाजिक, शैक्षिक एवं राजनीतिक चेतनाका विषयमा पनि जानकारी लिएका थिए ।
"संस्कृति, संस्कार र सभ्यता आदान प्रदानका लागि यो छलफल अत्यन्तै सान्दर्भिक लाग्यो, हामी सामाजिक शास्त्र अध्ययन गर्ने विद्यार्थीहरुलाई यो एउटा सिकाइको महत्वपूर्ण अवसर पनि सावित भएको छ", छलफलमा अभ्यस्त दिव्यभूमि कलेजका स्नातक तेस्रो वर्षका विद्यार्थी श्रीकृष्ण थापाले भने । अर्का विद्यार्थी चेतना कुँवरको बुझाइमा पनि यो एउटा ‘चियर एण्ड शेयर’को अवसर हो । त्यहाँ उनीहरुले थारु संग्रहालयको अवलोकन गरे । थारु पहिरनमा फोटो सेसन गरे अनि गरगहनामा पनि सजिए ।
"साँझमा थारु सांस्कृतिक कार्यक्रमसँगै क्याम्प फायरको अवसरले पनि हाम्रो सोसल इस्टडिजको प्रयोगात्मक अभ्यासलाइ फेन्टास्टिक बनाइदिएको छ", अर्का विद्यार्थी किरण खतीवडाको अभिव्यक्ति हो यो ।
सोसल एक्सचेन्जको यो क्षण सिकाइसँगै मनोरन्जनात्मक बनेको सो क्याम्पसका सहायक प्राचार्य पियुश श्रेष्ठले बताए । "विद्यार्थीहरुको राइट टु च्वाइसअन्तर्गत दाङलाइ यो वर्ष अध्ययनको थलो बनाएका थियौं, यो बसाइ सार्थक रहेको छ", सहायक प्राचार्य श्रेष्ठ भन्छन्, "अघिल्लो वर्षको प्रयोगात्मक फिल्ड भिजिट सिराहाको मुसहर बस्तीमा भएको थियो, त्यो भन्दा रमणीय दाङ सावित भएको छ ।"
उनीहरुले पश्चिम दाङको पुरन्धारा छहरादेखि धारपानीको पाण्डवेश्वर धामकोसमेत अध्ययन गर्न भ्याए । साथै उनीहरुले मुक्त कमैया बस्तीमा मुक्त कमैयाहरुको जीवन भोगाइका विषयमा जानकारी लिए । मुक्त कम्लरीको भोगाइका विषयमा स्थलगत अध्ययन गर्न भ्याए । अनि दाङका विभिन्न स्थानमा रहेका बालक्लबका सदस्यहरुलाइ भेटेर बाल अधिकारका विषयमा पनि अनुभव आदानप्रदान गरेका थिए ।
बुद्धभूमि कलेजका विद्यार्थीहरु खास गरी थारु भूमि बुझ्न दाङ रोजेको स्वयम विद्यार्थीहरुले बताएका छन् । त्यसमा केही विद्यार्थीहरुले पत्रकारीताका विषयमा पनि जिज्ञासा राखेका थिए । २० पुर्णाकंको पत्रकारीता विषय लिएका उनीहरुले कलेज फर्केर आफ्नो बुलेटिनमा दाङ पनि लेख्ने छन् । "यहाँको बहुभाषिक, बहुसंस्कृति एवं पर्यटन र भुगोलका विषयमा पनि लेख्ने छौं", पत्रकारीता अध्ययन गर्ने विद्यार्थी चेतना कुँवरले भनिन्, "लेखेका सामाग्रिहरु सामाजिक सन्जालमा समेत राख्ने छु ।"