काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन फागुन १४ गते नहुने भएको छ । २०७३ फागुन १८ मा निर्वाचन भएका क्याम्पसका स्ववियु पदाधिकारीको म्याद समाप्त हुन लागेकोले पूर्व तयारी गर्न त्रिविले सबै आंगिक क्याम्पसलाई एक महिनाअघि निर्देशन दिएको थियो । तर, तोकिएकै समयमा चुनाव गराउने विषयमा विद्यार्थी संगठनबीच सहमति नजुटेपछि स्ववियु चुनाव अनिश्चित बनेको हो ।
गत पुस २३ गते त्रिवि मातहतका सबै आंगिक क्याम्पसमा स्ववियु चुनाव गर्न त्रिविले परिपत्र गरेको भए पनि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले अहिलेसम्म विद्यार्थी संगठनको सर्वदलीय बैठक आयोजना गर्न सकेको छैन । त्रिवि मातहत अहिले ६१ आंगिक र १०८० सम्बन्धन प्राप्त क्याम्पस छन् । सबै सम्बन्धप्राप्त क्याम्पसमा स्ववियु चुनाव नहुनेतर त्रिविबाट सम्बन्धन प्राप्त अधिकांश सामुदायिक क्याम्पसमा स्ववियु चुनाव हुने त्रिवि बताउँछ ।
माघ ७ गते निर्देशनालयले आसन्न स्ववियु निर्वाचन तयारीका सम्बन्धमा अध्ययन संस्थान र संकायका डीन, निर्देशनालयका निर्देशक, महाशाखा प्रमुख एवं उपत्यकाभित्रका आङ्गिक क्याम्पसका क्याम्पस प्रमुखहरूसँग छलफल गरे पनि विद्यार्थी संगठन नै चुनावमा भाग लिन तत्पर नदेखिएपछि मिति तोक्न नसकिएको उसको भनाइ छ ।
फागुन १४ को मिति टर्यो
२०७५ फागुन १४ गते स्ववियु निर्वाचन गराउने विषयमा दुई वर्षअघि नै विद्यार्थी संगठनबीच सहमति भएको थियो । स्ववियु निर्वाचनमा उमेदवार हुन २८ वर्षे उमेर हद र मिश्रित निर्वाचन प्रणालीमा चुनाव गराउने विषय उतिबेलै टुंगो लागेको हो । र, केही आंगिक र चुनाव हुने अधिकांश सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन भयो । तर, उपत्यकाका पुल्चोक इन्जिनियरिङ, थापाथली इन्जिनियरिङ, सानोठिमी क्याम्पस, रत्नराज्यलक्ष्मी क्याम्पसमा बाहेक कुनै पनि क्याम्पसमा चुनाव भएन । उपत्यका बाहिरका आंगिक क्याम्पसको अवस्था पनि तनावपूर्ण नै रह्यो ।
अहिले पनि फागुन १४ गते चुनाव हुने सम्भावना टरेको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक थापा बताउँछन् । “सामान्यतयाः चुनाव हुनुभन्दा एक महिनाअघि निर्वाचन तालिका प्रकाशन गर्नुपर्छ,” थापाले बाह्रखरीसँग भने, “नेविसंघ आन्दोलनमा रहेकाले उसको सहमतिबिना निर्वाचनको मिति घोषणा गर्न सकिएन । यही अवस्थामा फागुन १४ गते स्ववियु निर्वाचन गर्न सकिँदैन ।”
स्ववियु निर्वाचन गराउन उपकुलपतिका हैसियतले प्रधानमन्त्री केपी शर्मा ओलीले समेत चासो देखाएका थिए । उनले स्वीट्जरल्याण्डको डाभोसबाट फर्कनेबित्तिकै त्रिवि पदाधिकारी, विपक्षी दलका नेता, विद्यार्थी संगठनका पदाधिकारीलाई बोलाएर छलफल गरेका थिए । भेटमा सत्तारूढ दलका विद्यार्थी संगठन चुनावको पक्षमा देखिए पनि नेविसंघका नेताले भने सरकारको धरपकड जारी रहेको अवस्थामा चुनावमा भाग लिन नसकिने बताएका थिए ।
“नेविसंघका नेतालाई थुनेर सरकार आफैँ चुनाव बिथोल्न खोजिरहेको छ । सरकार जसरी अनुदार ढंगले आगडि बढेको छ, त्यसरी चुनाव हुन सक्दैन । वातावरण सौहार्दपूर्ण नबनाइकन चुनाव सम्भव छैन,” नेविसंघका अध्यक्ष नैनसिंह महरले भेटमा प्रधानमन्त्रीसँग भनेका थिए ।
तयार छैनन् सत्तापक्षकै विद्यार्थी संगठन पनि
स्ववियु चुनाव गराउन सत्तापक्षका विद्यार्थी संगठन नै तयार नभएको आरोप नेविसंघका नेताहरूले लगाएका छन् । पूर्वएमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठन एक नभएर सरकारको लोकप्रियतासमेत खस्किएले चुनावबाट आफैँ तर्कन खोजेको उसको आरोप छ ।
“बाहिर चुनाव चाहेकोजस्तो गरे पनि संगठनभित्रको आन्तरिक कलह र दुई संगठन एक नभएको असर चुनावमा देखिएला भन्ने भयले उसलाई गाँजेको छ,” नेविसंघका एक नेताले भने । त्यस्तै अनेरास्ववियु र अखिल क्रान्तिकारीले नेविसंघकै कारण चुनाव परि धकेलियोस् भन्ने चाहेको ती नेताको दाबी छ ।
तर, अनेरास्ववियुका उपाध्यक्ष रश्मी आचार्य भने नेविसंघ जहिल्यै चुनावमा खुट्टा कमाउने गरेको आरोप लगाउँछन् । उनले गत वर्ष पनि २८ वर्षे उमेर हद नमान्ने बहानामा कतिपय क्याम्पसमा चुनाव नै गराउन नदिएको बताउँदै यसवर्ष पनि चुनाव भाँड्ने बहाना खोज्दै हिँड्न थालेको आरोप लगाए ।
“आफूलाई लोकतान्त्रिक संगठन दाबी गर्ने नेविसंघ चुनाव आएपिच्छे बखेडा झिक्छ । निर्वाचनबाट भागीभागी हिँड्छ,” पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियुका पूर्वसभापति समेत रहेका आचार्यको तर्क थियो । त्यस्तै उनले नेविसंघले आफ्नो संगठनजस्तै स्ववियुको अस्तित्व पनि संकटमा पार्न लागेको बताए ।
“पछिल्लो समय स्ववियुलाई धराशायी बनाउन लागिपरेका छन्, त्यसको मतियार नेविसंघ बनिरहेको छ, अखिललाई यो मान्य छैन । नेविसंघ नआए पनि त्रिविले चुनावी तालिका सार्वजनिक गरेर तोकिएकै मितिमा चुनाव सम्पन्न गराउनुपर्छ,” उनको भनाइ थियो ।
त्यस्तै सत्तारूढ पार्टीकै भ्रातृ संगठनका अर्का उपाध्यक्ष महेश बर्तौला स्ववियु चुनाव विद्यार्थी संगठन एकताको लागि सुवर्ण मौका भएको जिकिर गर्छन् । “कैयौँ साथीहरूलाई जिम्मेवारी दिन सकिएको छैन । स्ववियु चुनावमार्फत् थुप्रै नेता–कार्यकर्ताको व्यवस्थापन गर्न सजिलो हुन्छ । यसले हाम्रो एकता प्रक्रियालाई अझ छोट्याइदिन्छ,” मकवानपुर बहुमुखी क्याम्पसको स्ववियु सभापतिसमेत भइसकेका बर्तौलाको भनाइ थियो ।
‘नेविसंघको मनोविज्ञान’
नेविसंघलाई स्वतन्त्र विद्यार्थी युनियनको भन्दा आफ्नै चिन्ता छ । पटकपटक तिथि तय हुँदा पनि महाधिवेशन गर्न नसकेको उसको थपिएको म्याद पनि माघ २ मा समाप्त भइसकेको छ । र, विधिवत् रूपमा विघटित छ ।
विघटित नेविसंघ चुनावमा होमिँदा उमेदवार कसले तोक्ने ? कसले सदर गर्ने ? कसको हस्ताक्षर आधिकारिक मान्ने ? कसले बाँडेको टिकट आधिकारिक हुने ? यावत् प्रश्नले उसलाई चुनावमा जान खुट्टा कमाइरहेको छ ।
महामन्त्री तहका एक नेताले बाह्रखरीसँगको अनौपचारिक कुराकानीमा भने, “यही अवस्थामा नेविसंघ चुनावमा भाग लिए क्याम्पसैपिच्छे चारजना सभापतिका उमेदवार खडा हुन्छन् । र, शर्मनाक पराजय हुन्छ ।” अतः यसलाई यही भयले गाँजेको छ । यतिबेला हामीलाई स्ववियु निर्वाचन भन्दा पनि आफ्नै संगठनको चिन्ताले सताएको छ । नेविसंघसँग जोडिएका लाखौँ कार्यकर्ता र नेतृत्व तहमा रहेका हामी आफैँको भविष्यको चिन्ताले सताएको छ,” उनी भन्छन् ।
यसैले होला, नेविसंघले चुनावको मिति चैतको दोस्रो साता सार्नुपर्ने बताइरहेको छ । नेविसंघ र अखिल र अखिल क्रान्तिकारीमात्रै होइन, वैद्य, विप्लव, मधेसवादी, लिम्बूवानलगायत आन्दोलनरत सबै विद्यार्थी संगठनलाई सहमतिमा ल्याएर चुनावको मिति तय गर्नुपर्ने माग उसको छ ।
नेविसंघका महामन्त्री सरोज थापा त्रिविले स्ववियु चुनावको तयारी नै नगरेको बताउँछन् । “निर्वाचनभन्दा एक महिना अगाडि विश्वविद्यालयको कार्यकारिणी समितिको बैठक डाकेर स्ववियु विनियमावलीका सन्दर्भमा कुनै पनि काम नगरेको हुनाले आफ्नो गल्तीलाई ढाकछोप गर्न नेविसंघ र पार्टीलाई मुछ्ने काम भइरहेको छ,” उनले बाह्रखरीसँग भने, “यो गलत कुरा हो । नेविसंघ कुनै पनि अवस्थामा नियम–संगत हुने स्ववियु निर्वाचनलाई फेस गर्न तत्पर छ ।”
त्यस्तै उनले सत्तापक्षको विद्यार्थी संगठनबीच एकीकरण नभएकाले उनीहरू चुनावमा जान इच्छुक नै नभएको बताउँछन् । थापा यतिबेला मुद्दा र एजेन्डाका आधारमा नेविसंघ बलियो रहेकाले निर्वाचनमा जान आनाकानी गर्नुपर्ने कुनै कारण नरहेको तर्क गर्छन् । “हामी शैक्षिक, स्वास्थ्य, राजनीतिक लगायतका सबै विषयमा विद्यार्थीहरूकाबीचमा धारणाहरू सम्प्रेषण गर्ने अवसरका रूपमा स्ववियु चुनावलाई लिएका छौँ,” उनले भने ।
आकर्षण छैन स्ववियुप्रति
अहिले मूलधारमा रहेका कतिपय नेताहरूको राजनीतिक जीवनको शुरूआत स्ववियुबाटै भएको छ । कुनै समय त्रिभुवन विश्वविद्यालयको सभापतिको चर्चा प्रतिनिधिसभा सदस्यको भन्दा ज्यादा हुन्थ्यो । स्ववियुमार्फत् विद्यार्थी आन्दोलनमा उदीयमान छवि देखाएकैले कतिपय नेताहरूको राजनीतिक करिअर अझ फराकिलो बन्न पुग्यो । राजनीतिक नेतृत्वको उपल्लो तहमै पुग्ने अवसरसमेत प्राप्त गरे ।
तर, विद्यार्थी आन्दोलन प्रदूषित बन्दै जाँदा त्यसको असर स्ववियुमा पनि पर्यो । त्यसले विद्यार्थीहरूको प्रतिनिधिमूलक र निर्वाचित संस्थाको उपादेयताप्रति प्रश्न उठायो ।
क्याम्पसको शैक्षिक गुणस्तरीयता, विद्यार्थीहरूको क्षमता प्रस्फुटन, रचनात्मकता अभिवृद्धि र प्राज्ञिक उन्नयनमा समयसामेक्ष ध्यान पुर्याउन नसक्दा स्ववियुको महत्त्व जीर्ण बन्दै गयो । एकातिर स्ववियु निर्वाचन ‘आवधिक’ रूपमा नहुने, अर्कोतिर स्ववियुले शैक्षिक संस्थाको विकासमा रचनात्मक योगदान दिन नसक्ने । यसले स्ववियुप्रति विद्यार्थीको वितृष्णालाई अझ मलजल तुल्यायो । र, स्ववियु क्रमशः भ्रष्टीकरणको दिशामा अघि बढ्न थाल्यो ।
“अहिले आंगिक क्याम्पसमा स्ववियु चुनाव चाहिँदैन, शिक्षण संस्थामा राजनीति गर्नुहुँदैन भन्ने विद्यार्थीहरूको जमात बढ्न थालेको छ,” एक विद्यार्थी नेता बताउँछन् । त्यस्तै समानुपातिक निर्वाचन प्रणाली र २८ वर्षे उमेर हदका कारण पाका विद्यार्थी नेताहरू नै स्ववियु निर्वाचनको विपक्षमा खडा भएको कतिपय विद्यार्थी नेताको बुझाइ छ ।