काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी स्थायी कमिटी बैठकमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले प्रस्तुत गरेको प्रतिवेदनमा सदस्यहरूले धारणा राख्ने क्रम जारी छ । आज (शुक्रबार) बोल्ने अधिकांश सदस्यहरूले पनि बैठकमा सरकार र पार्टीका कामका बारेमा कटू आलोचना गरे ।
“मन्त्रिमण्डलमा सहभागी सदस्यहरूले पनि आफ्नो धारणा राख्ने क्रममा सरकारको बचाउ गरेको पाइएन,” बैठकमा सहभागी एक नेताले भने, “तुलनात्मक रूपमा प्रवक्ता नारायणकाजी श्रेष्ठले नेतृत्वको खुलेर आलोचना गरे ।”
“सरकारको नियुक्तिमा पनि भ्रष्ट आचरण भएका परेका छन्,” प्रवक्ता श्रेष्ठको भनाइ उद्धृत गर्दै ती सदस्यले भने, “भ्रष्टहरूलाई राजनीतिक नियुक्ति दिएर सुशासन कसरी दिन सकिन्छ ?”
प्रवक्ता श्रेष्ठले जारी स्थायी कमिटी बैठकमा नेतृत्व आत्माआलोचित हुनुपर्ने धारणा राखेका छन् । “सरकार र पार्टी सञ्चालनका क्रममा नेतृत्वबाट प्रशस्त कमीकमजोरी भएका छन्,” प्रवक्ता श्रेष्ठले बैठकमा भनेका कुरा ती सदस्यले उद्धृत गरे, “यो बैठकमा सबै आत्मआलोचित होऔँ र गल्ती सच्याउने प्रण गरौँ ।”
त्यस्तै श्रेष्ठले यही बैठकले पार्टी एकता प्रक्रिया टुंग्याउनुपर्नेमा जोड दिएका थिए
।
पार्टी एकता प्रक्रिया गतिशून्य बनेकोप्रति चिन्ता व्यक्त गर्दै प्रवक्ता श्रेष्ठले जोड दिए, “एकता प्रक्रियाको बाँकी काम सक्नेगरी विधि र प्रक्रिया यही बैठकले टुंगो लगाऔँ ।”शुक्रबार धारणा राख्ने संसदीय दलका उपनेता सुवास नेम्वाङले सरकार र पार्टीको काम प्रभावकारी हुन नसक्नाको कारण पहिल्याउनुपर्नेमा जोड दिए ।
लोचनामात्रै समाधान हुन नसक्ने बताउँदै नेता नेम्वाङले बैठकको मर्म र भावनाअनुरुप सरकार र पार्टी सञ्चालन गर्नुपर्ने बताएको ती सदस्यको दाबी छ । नेम्वाङले एसिया प्यासिफिक सम्मेलनमा सरकार र संसद्को लोगो प्रयोग हुनु दुखद् भएको टिप्पणी गरे । “एसिया प्यासिफिक सम्मेलन कुनै संस्थाको हो, त्यस्तो कार्यक्रममा सरकार र संसद्को लोगो दुरुपयोग हुनु हुँदैनथ्यो,” उनले भने ।
त्यस्तै नेम्वाङले पार्टीमा पद्धति र थिति बस्न नसकेको जिकिर गर्दै स्थायी कमिटीको बैठक नबस्दा छलफलको वातावरण बन्न नसकेको जिकिर गरे । “सचिवालयको बैठक बस्छ, सचिवालयको नेताले आफ्नो धारणा राख्नुहुन्छ,” उनको तर्क थियो, “स्थायी कमिटीको बैठक नबस्दा हामीले आफ्ना कुरा कहाँ राख्ने ?”
बैठकलगत्तै सञ्चारकर्मीसँग अनौपचारिक कुरा गर्दै नेता घनश्याम भुसालले पार्टी एकतापछि पहिलोपटक मन खोलेर छलफल गर्ने वातावरण बनेको बताए । “पहिलोपल्ट खुलस्त छलफल गर्न पाएका छौं । पार्टी र सरकारका कामका विषयमा छलफल भएका छन् । यी विषय सम्वोधन गर्ने हो भने पार्टी र सरकारले गति लिन्छ,” उनको भनाइ थियो ।
शुक्रबारसम्ममा ४१ सदस्यले धारणा राखेका छन् । नेकपामा आमन्त्रितसमेत गरी ५१ सदस्यीय स्थायी कमिटी छ ।
शुक्रबार अध्यक्षद्वयको प्रतिवेदनमाथि सुवास नेम्वाङ, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, अमिक शेरचन, मणि थापा, गोकर्ण विष्ट, छविलाल विश्वकर्माले धारणा राखेका थिए ।