अखिल नेपाल फुटबल संघ (एन्फा) ले सार्वजनिक गरेको खेल तालिकाअनुसार भए उपत्यकामा जारी शहिद स्मारक ‘ए’ डिभिजन लिग पुस १७ गते सकिँदैछ । त्यसपछि मोफसलको अस्तव्यस्त फुटबल सुरु हुनेछ । खासमा वर्षा सकिएलगत्तै हुनेगरेका विभिन्न नकआउट प्रतियोगिता यसपटक लिगका कारण पछाडि सरेका छन् । दसैं तिहारमा लिग विश्राममा रहेको मौका छोपेर नवलपरासीमा राइनोज कप फुटबल प्रतियोगिता भयो । अरु प्रतियोगिताले पुस १७ सम्मको समय पाएका छैनन् ।
अघिल्ला वर्षहरुमा यतिबेला मोफसलका मैदान फुटबलमय भइसकेका हुन्थे । नेपाली राष्ट्रिय टोलीका खेलाडीहरुको दौडधुप विभिन्न नाममा हुने गोल्डकपदेखि टोलकपसम्मका प्रतियोगितामा भ्याई नभ्याई हुन्थ्यो । फुटबललाई सही र व्यवस्थितरुपमा अगाडि बढाउन अस्तव्यस्त क्यालेन्डर उचित मानिदैन । ढंगको लिग अनि निकै कम नकआउट प्रतियोगिता घरेलु संरचनाका लागि ठीक हुन्छ । फुटबल विकासको चरमोत्कर्षमा पुगेका युरोपेली देशमा पनि शीर्ष डिभिजनको एउटा क्लबले खेल्ने प्रतियोगिता धेरै हुँदैनन् । प्रतियोगिताअनुसारका टिम र टिमअनुसारका प्रतियोगिता व्यवस्था गरिन्छ । इङल्यान्डलाई उदाहरण मान्ने हो भने त्यहाँ प्रिमियर लिगका शीर्ष टिमहरुले चारवटामात्र प्रतियोगिता खेल्छन् । त्यसपछि अन्तर्राष्ट्रिय क्यालेन्डरका लागि खेलाडी उपलब्ध गराउनुपर्छ । वर्षमा दुई महिना त खेलाडीलाई आराम पनि दिइन्छ ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले एक खेल खेलेपछि अर्को खेलका लागि खेलाडीले कम्तीमा ४८ घन्टा आराम गर्नुपर्ने बाध्यकारी नियम बनएको छ । तेस्रो खेलको हकमा त्यो आराम गर्ने समय थपिन्छ । प्रत्येक खेलले खेलाडीका मांसपेसी गलाउँदै लान्छन् र त्यसलाई पुरानै अवस्थामा फर्किन पर्याप्त आरामको आवश्यकता पर्छ भन्ने प्रमाणित तथ्यका आधारमा फिफाले त्यस्तो व्यवस्था गरेको हो । मैदानमा थाकेको खेलाडीले पर्याप्त मात्रामा आरामको अवसर पायो भनेमात्र फेरि अर्को खेलमा स्तरीय प्रदर्शन गर्न सक्छ । फिफाले धेरै अध्ययन अनुसन्धानपछि प्राप्त तथ्यका आधारमा यस्तो मान्यता राखेको हो ।
नेपाली फुटबलमा भने यस्ता विश्वव्यापी कुनै पनि मान्यता लागु भएको पाइन्न । नेपाली फुटबलको सर्वोच्च नियमनकारी निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) आफैँ यसमा गम्भीर देखिन्न । त्यसैले त देशभर एउटै स्तरका ५० हाराहारीमा गोल्डकप भइरहेका छन् । यसपल्टदेखि एन्फाले त्यसलाई व्यवस्थित गर्ने नारालाई सम्बोधन गर्ने क्रममा २५ प्रतियोगितालाई मात्र आफ्नो क्यालेन्डरमा ठाउँ दिएको छ । मोफसलका प्रतियोगिता ग्रेडिङका नाममा गरिएको त्यो प्रयास साँचो अर्थमा फुटबल विकासभन्दा आन्तरिक राजनीतिक नाराका लागि भएको प्रष्ट हुन्छ ।एन्फाले केही सर्त राखेर गरेको ग्रेडिङमा १४ प्रतियोगिताले ‘ए’ ‘ग्रेड’ को मान्यता पाउँदा ११ प्रतियोगितालाई ‘बी’ ‘ग्रेड’को भनेको छ ।
प्रतियोगिताको स्तर छुट्याए पनि कुन प्रतियोगितामा कुन क्लबले खेल्ने, एन्फाको लिग पिरामिडमा भएका सबै ३७ क्लबलाई कसरी समानुपातिकरुपमा अवसर सिर्जना गर्ने, निश्चित क्लबले निश्चित प्रतियोगिता खेल्नैपर्ने बाध्यकारी व्यवस्थालगायतका थुप्रै विषयमा एन्फाको ‘ग्रेडिङ’ मौन छ । अर्थात फेरि पनि विगतमा जस्तै आयोजकले मन लागेका टिम बोलाउने, निश्चित शीर्ष क्लबहरुले मन लागेको प्रतियोगितामात्र खेल्ने वा मन लागेका सबै प्रतियोगिता खेल्ने, शीर्ष डिभिजनमै भए पनि तलका वा दोस्रो र तेस्रो डिभिजनका क्लबहरुले कहीँ कतै कुनै मौका नपाउनेजस्ता समस्यामा एन्फाले कुनै सम्बोधन गरेको छैन । अर्थात् जस्तो थियो, त्यस्तै चल्नेछ । ‘चुनावका बेला मोफसलका प्रतियोगिता व्यवस्थित गर्छु भनेर उठाएको विषयलाई सम्बोधन गर्ने औपचारिकता पूरा भइहाल्यो । फुटबलको दीर्घकालीन बाटोसँग हामीलाई के मतलब,’ एन्फा पदाधिकारीको मनोभावना यस्तै देखिन्छ ।
पर्याप्त अध्ययन र दीर्घकालीन सोचविना ल्याइने कुनै पनि योजनाले खेललाई व्यवस्थित गर्दैन । यथास्थितिमा फुटबल चलाउन खोज्ने हो भने अधोगति निश्चित छ । नेपाली फुटबल ओरालो यात्रामा लागेको धेरै वर्ष भइसक्यो । बेलैमा प्रभावकारी कदम नचाल्ने हो भने अरु देशले ठूलो लगानी र नवीनतम सोचका साथ तीव्र गति लिइरहेका बेला नेपाली फुटबलको आकार भने अन्तर्राष्ट्रिय नक्सामा झनै खुम्चिने निश्चित छ । वास्तवमै केही व्यक्तिको लहडका भरमा विनाअध्ययन फुटबल विकासका नाममा गरिने यस्ता हचुवा क्रियाकलापले देशभित्र खेलको लोकप्रियतामा समेत ह्रास ल्याउँछ ।
फुटबलको लोकप्रियतालाई सस्तो बनाउँदै दीर्घकालमा देशकै नम्बर एक खेल औपचारिकतामा सीमित हुने खतरानजिक पुग्दा खासमा एन्फा नै त्यसको मतियारका रुपमा प्रस्तुत हुँदै आएको छ । कुनै बेला थियो, धरानको बुढा सुब्बा र पोखराको आहा गोल्डकपले नेपाली फुटबल थेगेका थिए । एन्फा स्वयंले कुनै प्रतियोगिता गर्न नसक्दा पनि धरान फुटबल क्लब र सहारा क्लबको प्रतिबद्धतामा नेपाली फुटबल बाँचेको थियो । नेपाली खेलाडीले खेल्ने मैदान पाइरहेका थिएनन् । त्यसैले त्यो बेला फुटबलमा प्रतियोगिता गर्न चाहने अन्य आयोजकलाई निःसर्त स्वागत गर्नु नेपाली फुटबलको आवश्यकता थियो ।
समय सधैँ उस्तै रहँदैन । नेपाली फुटबलको अवस्था पनि धेरै फेरिइसकेको छ । एन्फा आफैँले खेलाडीलाई तीन महिना व्यस्त बनाउने गरी लिग गर्न थालेको छ । जिल्ला फुटबल संघ तथा विभिन्न क्लबहरुले गर्ने प्रतियोगिताको संख्या ५० नाघिसकेको छ । त्यसैले अब नेपाली फुटबललाई पनि विकसित देशको जस्तै व्यावसायिक र वैज्ञानिक संरचना आवश्यक भइसक्यो । अर्थात्, एउटा क्लबले खेल्ने प्रतियोगिता खेलाडीले थेग्नै नसक्ने गरी अन्धाधुन्द नहोस् ।
पक्कै पनि युरोपका विकसित देशको व्यवस्थालाई यहाँ फोटोकपी गर्न सकिन्न । त्यहाँको तुलनामा यहाँ लिगमा कम खेल हुन्छन् । इङल्यान्डमा एउटा टिमले लिगमामात्र ३८ खेल खेल्छ भने नेपालमा १३ खेलमा उपाधिको छिनोफानो हुन्छ । त्यसैले त्यहाँको तुलनामा यहाँ केही बढी नकआउट प्रतियोगिताको आवश्यकता पुष्टि हुनसक्छ । तर, सबै प्रतियोगितामा थ्री स्टार, मनाङ मस्र्याङ्दी, पुलिस र आर्मीजस्ता ठूला टिमको सहभागिता सम्भव हुन्न । समानुपातिक रुपमा ‘ए’, ‘बी’ र ‘सी’ डिभिजनका सबै क्लबका लागि व्यवस्थित लिगसँगै नकआउट प्रतियोगिताहरु खेल्ने अवसरको व्यवस्था गरिनुपर्छ । त्यसका लागि अहिले मोफसलमा भइरहेका ५०औं प्रतियोगितालाई साँच्चिकै नेपाली फुटबलमा तिनको योगदान, इतिहास, सुविधा, क्षेत्रीय सन्तुलनलगायतका विषयमा आधारित रहेर वर्गीकरण गर्दै सबै क्लबका लागि अवसर जुटाउन सकिन्छ ।
एन्फाको वर्तमान नेतृत्वले वैशाखमा भएको निर्वाचनअघि फुटबलमा नयाँ संरचनाको नारा चर्को स्वरमा फलाकेको थियो । त्यसमा सबभन्दा बढी महत्त्व मोफसलका प्रतियोगिता व्यवस्थापन गर्दै सहिद स्मारक लिग संरचनामा रहेका सबै क्लबलाई समानुपातिक अवसर प्रदान गर्ने विषय नै थियो । तर, एन्फाले त्यसो गरिरहेको छैन । लिगबाट त्यसको मर्ममै प्रहार गर्दै रेलिगेसनको प्रावधान हटाइएको छ । मोफसलका प्रतियोगितामा ‘ग्रेडिङ’को झारो टराईबाहेक कुनै प्रभावकारी काम भएको छैन । उमेर समूहको घरेलु फुटबलमा कुनै नयाँ काम भएको छैन । महिला फुटबलमा त अन्तर्राष्ट्रिय सहभागितामा अवसर दिए पनि घरभित्र खेल्ने वातावरण झनै खुम्च्याउँदै लगिएको छ ।
समग्रमा नेपाली फुटबल सही बाटोमा देखिँदैन । राम्रो गरिरहेको दाबी गर्नेले समयक्रममा त्यसलाई पुष्टि गर्न सक्नुपर्छ । तर, एन्फाले अहिले लिएको बाटोले प्रगतिको गन्तव्य पाउने विश्वास गर्न सकिन्न । चितवनबाट पूर्व लाग्दा नेपालगञ्ज पुगिँदैन । त्यसका लागि पश्चिमको बाटो रोज्नुपर्छ । फुटबलमा पनि बिग्रिन अब धेरै बाँकी छैन । सुधारको प्रयास गर्ने ठाउँ जहाँ पनि हुन्छ, छ । तत्काल गम्भीर भएर प्रतिबद्धता, इमानदारी र दीर्घकालीन सोचका साथ बाटो फेरे गन्तव्यमा पुग्न सकिन्छ ।