site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
तीन नेतालाई कारबाही गरेर ओलीले दिएको सन्देश, बाँकी पनि विपक्षमा नजानू ! 

काठमाडौं । दश दिनअघि चिनियाँ कम्युनिस्ट पार्टीमा कार्यकर्ताहरू नेतृत्वको वरिपरि गोलबन्द हुनैपर्ने कथा सुनाउँदै थिए, प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली ।

पार्टी कार्यालयमा गत मंसिर ३० मा स्थानीय तहका नेताहरू सम्मिलित कार्यशालामा उनले नेपालको जनसंख्याभन्दा तीन गुणा बढी पार्टी सदस्य भएको चिनियाँ कम्युनिष्ट पार्टीमा कसैले फरक मत नराख्ने दृष्टान्त प्रस्तुत गरे । 

“त्यहाँ पार्टीको पक्षमा बोल्नुपर्छ । विरोधीका आक्रमण, हमलालाई कसरी पराजित गरिन्छ ? त्यसका निम्ति तरिका अवलम्बन गर्ने, अनुशासित ढंगले एकताबद्ध भएर चल्छन्” उनले भनेका थिए “फरक ओपिनियन आउँदैन र नेतृत्वको वरिपरि गोलबन्द छ ।”

Dabur Nepal
NIC Asia

उनले एमालेभित्र विमति जनाउने र आफूलाई केही भएको देखाउने प्रवृत्ति कायमै रहेको संकेत गरेका थिए । 

“कोही विचारहीन अकडा कुरा गरेर बस्ने, भोटोचाहिँ फटाउने तर नेतृत्व दिन नसक्ने अवस्था रहे,’’ उनले भनेका थिए, ‘‘विमति जनाउने तर सही बाटो के हो त्यो पहिल्याउन नसक्ने । असहमति राखेर आफूलाई कुछ हौँ भन्ने देखाउने प्रवृत्ति...।”

एमालेमा नेतृत्वविरूद्ध बोल्ने क्रम बढेकामा असन्तुष्टि पोख्दै त्यसलाई रोक्न ओलीले चेतावनीस्वरुप त्यस्तो प्रंसग कोट्याएको बुझ्न गाह्रो थिएन ।  उक्त अभिव्यक्तिको १० नबित्दै ओलीले नेतृत्व र पार्टीविरूद्ध बोल्नेलाई कारबाहीको डण्डा चलाए । एमालेको उक्त कारबाहीले तरंग पैदा गरेको छ ।

२०७८ मा चितवनमा भएको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षको उमेदवारी दिएर चुनौती दिएका पुराना नेता भीम रावल पार्टीबाट निकालिएका छन् ।  बुधबार बसेको एमालेको सचिवालय बैठकले रावलको पार्टी सदस्यता खोसेको छ । 

त्यस्तै, स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय कमिटी सदस्य उषाकिरण तिम्सिनालाई ६ महिनाका लागि जिम्मेवारीमुक्त गरिएको छ । केन्द्रीय कार्यालयका लागि जग्गा दान लिएकामा असन्तुष्टि जनाउँदै पाण्डे र तिम्सिनाले असन्तुष्टि जनाएका थिए । 

पार्टीको निर्णयविपरीत उभिएका रावल, पाण्डे र तिम्सिनालाई एमालेले कात्तिक ४ गते स्पष्टीकरण सोधेको थियो ।  पार्टी कार्यालयविरूद्ध परेको रिट न्यायाधीशहरू अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको इजलासले पुस १ गते खारेज गरेको थियो । 

पाण्डे र तिम्सिनाले पहिले नै स्पष्टीकरणको जवाफ बुझाएका थिए । तर अदालतको आदेशपछि मात्रै एमालेले कारबाही गरेको डण्डा चलाएको हो । पाण्डे र तिम्सिनाको स्पष्टीकरणमा आत्माआलोचना नभेटिएको र रावल निरन्तर पार्टीलाई कमजोर बनाउने गतिविधिमा लागेको हुँदा कारबाही भएको उपमहासचिव प्रदीप ज्ञवाली बताउँछन् ।

एमालेमा ‘बोल्न पाइँदैन’ भन्ने भाष्यलाई थप बलियो बनाएको एमालेका एक नेता बताउँछन् । 

“पार्टीमा बोल्नै पाइँदैन भन्ने चर्चा बाहिर भइरहन्थ्यो । हिजोको निर्णयले त्यो भाष्य स्थापित गर्न थप मलजल गरेको छ,” ती नेता भन्छन्, “सचिवालय बैठकको एजेन्डामै नभएको विषयमा प्रवेश गराएर कारबाही गरिएको छ ।”

कारबाही गर्न नहुने मत, पार्टीभित्र असन्तुष्टि 

बुधबारको सचिवालय बैठकमा नेताहरुले कारबाही गर्न नहुने मत पनि जाहेर गरेका थिए । बैठकमा उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, उपमहासचिव प्रदीप ज्ञवाली, सचिव योगेश भट्टराईले कारबाही गरिहाल्ने भन्दा पनि सचेत गराउँदा उपयुक्त हुने धारणा राखेका थिए । 

तर, अध्यक्ष ओलीको मतमा महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाललगायतका नेताहरू दृढ थिए ।  बैठकमा कारबाही गर्न नहुने मत अस्वीकार गर्दै ओलीले निर्णय लिएको एक पदाधिकारी बताउँछन् । 

“सर्वसम्मत् निर्णय भन्ने दुनियाँमा कहीँ पनि हुँदैन । हिजोको बैठकमा पनि अनेक कोणबाट छलफल भएको हो । त्यहाँ फरक मत अस्वीकृत गर्दै कारबाहीको निर्णय भयो,” एक पदाधिकारीले बाह्रखरीसँग भने । 

उक्त कारबाहीप्रति पार्टीका नेताहरूमा असन्तुष्टि देखिएको छ । पूर्वपरारष्ट्रमन्त्री समेत रहेकी विमला राई पौड्यालले कारबाहीको निर्णयप्रति असन्तुष्टि जाहेर गरेकी छन् ।

‘‘...गलत भयो । एमाले बनाउने इमानदार पिलरको नाम हो, बिन्दा पाण्डे,’’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘बच्चैदेखि पार्टीको सिपाही उषाकिरण । मनका कुरा खुल्ला जनमानसमा राख्दा कारबाहीमा पर्नुहुँदैन ।”
एमालेका एक नेताले पनि पार्टीमा बोल्न बर्जित भएको भन्दै नाम उल्लेख नगर्ने शर्तमा दुई नेताको अभिव्यक्ति कारबाहीको भागीदार नभएको बताए । 

“रावलले त पहिलेदेखि नै बोलिरहनुभएको थियो । पाण्डे र तिम्सिनाजीलाई त्यति बोलेकै आधारमा कारबाही गर्नुपर्ने थिएन । त्यति असन्तुष्टि कारबाहीको भागीदार होइन,” उनले भने ।

ओलीले दिएको सन्देश 

भीम रावललाई ओलीले महाधिवेशनमा रावललाई उपाध्यक्ष बन्न प्रस्ताव गरेका थिए ।  उनले ओलीको प्रस्ताव अस्वीकार गरे । पार्टीमा अघिल्ला महाधिवेशनमा निर्वाचन हुने गरेको स्मरण गर्दै रावलले अध्यक्ष पदमा नै उमेदवारी दिएका थिए ।

अध्यक्षमा पराजित रावलले केन्द्रीय सदस्य बस्न अस्वीकार गरे ।  त्यसपछि पार्टीले सल्लाहकार परिषद्मा राखियो, त्यो पनि अस्वीकार गरे । त्यसपछि उनले ०७९ को निर्वाचनमा टिकट पाएनन् ।  सामाजिक सञ्जाल, मिडियाबाट आफ्ना मत प्रस्तुत गर्दै पार्टीका विषयमा धारणा राखिरहे । 

पार्टीमा उपयुक्त जिम्मेवारी माग गरे पनि जिम्मेवारी पाएनन् । बुधबार पार्टीको संगठित सदस्यताबाट निकालिएका रावल आफूलाई गरिएको कारबाही ओलीविरूद्ध आवाज उठाउनेहरुलाई तर्साउन गरिएको बताउँछन् ।

“जसले राष्ट्रियता, देशभक्तिको पक्षमा आवाज उठाए, जसले विधिपद्धतिको कुरा गरे, जसले कम्युनिस्ट पार्टीले जुन वर्गसँग संघर्ष गर्दै आएको थियो । त्यही वर्गसँग साँठगाठ गर्ने, सत्ताका लागि जे पनि गर्ने त्यस्तो अवसरवाद हो भन्दै आएका थिए । त्यस्ता व्यक्तिमाथि दमन गरेर निरंकुश, स्वेच्छाचारी क्रियाकलापलाई ढाकछोप गर्ने, गलत क्रियाकलापका विरोधमा आवाज उठाउनेहरुलाई दमन गर्ने, धम्क्याउन, तर्साउन केपी ओलीको निर्देशनमा संगठित सदस्यतासम्बन्धी निर्णय भएको जस्तो लाग्छ,” उनले बाह्रखरीसँग भने ।   

विश्लेषक तथा प्राध्यापक कृष्ण पोखरेल एमालेमा निरंकुशतावाद हाबी भएको बताउँछन् । 

“पार्टीभित्र निरंकुशता हावी भएको हो । हालका अध्यक्ष जब नेतृत्वमा हुनुन्थेन त्यतिबेला निरन्तर पार्टीभित्र आन्तरिक लोकतन्त्रको दुहाई दिनुभएको थियो । उहाँ नेतृत्वमा आएपछि लोकतन्त्र चाहिएन,” उनी भन्छन्, “जर्मनीमा हिटलरले चुनाव नजित्दासम्म लोकतन्त्र थियो । उनले जितेपछि चुनावै हुन छाड्यो । त्यस्तै आन्तरिक लोकतन्त्रको माग गर्ने ओलीजी नेतृत्वमा आएपछि उहाँलाई आन्तरिक लोकतन्त्र बिझाउन थाल्यो ।”

भीम रावलले महाधिवेशनमा अध्यक्षविरुद्ध चुनाव लड्ने आँट गर्नुलाई नै अपराध ठानिएको ठम्याइ पोखरेलको छ । 

“आन्तरिक लोकतन्त्र ज्युँदैछ भन्ने कुरालाई प्रमाणित गर्ने ‘मुभ’ थियो’’ उनी भन्छन्, ‘‘त्यही ‘मुभ’लाई अपराध ठानियो । विस्तारै उहाँ हालका अध्यक्षलाई बिझाउने पात्र बन्नुभयो ।” 

पार्टी कार्यालय संगठित सदस्यबाट पैसा उठाएर बनाउनुपर्छ र मतदाताले त्यसलाई कसरी हेर्छन् भनी प्रश्न उठाउँदा दुई नेतृलाई कारबाही गरिएको विश्लेषण उनको छ ।  प्राध्यापक पोखरेल ओली चिनियाँ राष्ट्रपति सि चिनफिङको जस्तो स्थान होस् भन्ने खोजेको आशंका गर्छन् । 

“उहाँको खिलाप बोल्न नुहने, स्यालुट ठोकेर हिँड्नुपर्ने पार्टी बनाउन खोज्नुभएको । यसले के लाभ या हानी हुन्छ निर्वाचनले देखाउँछ,” पोखरेलको टिप्पणी छ, “सि चिनफिङको पार्टीमा जस्तो स्थान छ । उहाँ पार्टीमा बोल्न वर्जित गरेर त्यही स्थान खोज्दै हुनुहुन्छ ।”

विद्या भण्डारीका पक्षमा बोल्नेलाई चेतावनी !

एमालेमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय हुने चर्चा चल्दै आएको छ ।  भण्डारीलाई सक्रिय गर्न एमालेमा एक पंक्ति क्रियाशील छ । भण्डारीले भने राजनीतिमा आउने कि नआउने भन्ने केही बोलेकी छैनन् ।  पार्टीमा त्यही विषयले गुटबन्दी भएको भन्दै ओलीले त्यस्ता क्रियाकलाप रोक्न चेतावनी पनि दिएको विश्लेषण एमालेभित्रै छ । यसअघि ओलीले भण्डारीलाई एमालेमा आउन ‘गल’ नलगाउन चेतावनी दिएका थिए ।

पूर्वउपाध्यक्ष समेत रहेकी भण्डारीलाई आवश्यकता परे पार्टीले नै सक्रिय बनाउने ओलीले बताएका थिए ।  एमालेका एक नेताले पार्टीभित्र पदाधिकारीका नेताहरू नै भण्डारीलाई ल्याउन सक्रिय बन्न थालेपछि आफ्नाविरुद्ध नलाग्न चेतावनी दिएको बताउँछन् । 

“पार्टीभित्र पदाधिकारीहरू नै भण्डारीलाई ल्याउनुपर्ने पक्षमा लाग्नुभएको छ । पार्टी नेतृत्वविरूद्ध बोल्नेलाई कारबाही गरेर भण्डारीका पक्षमा बनिरहेको मतलाई चेतावनी दिन पनि खोजेको हो,” ती नेता भन्छन् । 

विश्लेषक पोखरेल पनि भण्डारीले राजनीतिमा आउन चाहे ओलीले थेग्न नसक्ने विश्लेषण सुनाउँछन् । 

“ओलीजीलाई चुनौती दिन सक्ने पार्टीमा कोही छैनन् । चुनौती दिन सक्ने पूर्वराष्ट्रपति नै हो । उहाँलाई पार्टीमा ल्याउन पाइए पार्टीभित्र निसासिँदो वातावरण अन्त्यको चाहना पनि होला,” उनी भन्छन् ।

उनको भनाइमा, ठूलै स्केलमा त्यो विषय अघि बढे ओलीको पनि केही नलाग्ला । रोक्न खोजे प्रत्युत्पादक बन्न सक्छ । पार्टीभित्र बढ्दो आवाजलाई तर्साउन पनि कारबाहीको निर्णय गरिएको हुन सक्ने उनको टिप्पणी छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  १७:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro