काठमाडौं । मांसपेशीमा हुने संक्रमण (जीपीएस)बाट थलिएका ओलम्पीयन हरिबहादुर रोकायाका छटपटीका दिन विस्तारै कम हुँदैछन् । गत असार १ गते अचानक भएको ‘जीवन यस्तै रहेछ’ भन्ने आभाससँगै सुरु सकसका दिनले अब धेरै दिन उनलाई सताउने छैनन् ।
“लोकन्थलीस्थित डेरामा आराम गरिरहेको ६ महिना बित्यो, तर मेरा लागि यो अवधि ६ वर्षभन्दा लामो रह्यो, फेरि डाँडाकाँडा गर्न सक्ने आशाले हर्षित कीर्तिमानी धावक रोकायाले बाह्रखरीसँग भावना साटे, “२७ वर्ष हिमाल–पहाड दौडिएर बिताएँ । सकुन्जेल कहिल्यै पनि बसेर समय खेर फालिन । तर रोगले एकैचोटी ओछ्यानमा थन्कायो । तर अब दिन फेरिँदैछ । हरिबहादुर रोकाया दौडिनकै लागि जन्मिएको हो भन्ने यो रोगले पनि थाहा पाएछ क्यारे, डराउन थाल्यो । बिस्तारै छोड्दैछ ।”
हात र खुट्टालाई यी बहादुर धावक आफ्नो हतियार मान्छन् । तिनै हतियार चलायमान हुँदा त उनले अल्ट्रा दौडमा विश्व कीर्तिमान बनाएका थिए । हतियारलाई फुर्तिलो बनाउने मन पनि कम चञ्चले होइन । फेरी डाँडा–काँडा दौडिने इच्छाको वशमा रहेको मनले हात–खुट्टारुपी हतियारलाई मूढोझैं लडिरहन अनुमति दिएन । लगातार चलिरहन निर्देशित गरिरह्यो । सुतिरहेका हतियारलाई यसरी ब्युँझायो कि, अब कहिल्यै बिर्सेर पनि सुत्न सक्ने छैनन् ।
“जति चल्यो उत्ति नै छिटो निको हुने रोग रैछ । त्यसैमा कुदिरहने मान्छे नियमित व्यायाम र फिजियोथेरापीले निको हुन लागेको छु,” भिडियो च्याटमार्फत् जुम्लामा आफ्ना खेलाडीलाई प्रशिक्षित गरिरहेका रोकायाले थपे, “मन र मुटु जुम्लामै छन् । मेरा भविष्यहरु (प्रशिक्षार्थी)सँग कहिले सँगै अभ्यास गर्न पाउँला भन्दै दिन गनेर बसिरहेको छु । अहिले दैनिकी सामान्य बनिसकेको छ । हात–खुट्टा पुरानै गतिमा फर्कंदैछन् ।”
खुट्टा पुरानै लयमा फर्किन खोजे पनि हातमा भने समस्या अझै बाँकी रहेको उनले सुनाए । पूर्णरुपमा निको हुन केही समय लाग्छ । असार १ गते प्रशिक्षण गराइरहँदा मांसपेशी बाउँडिएर एकाएक गल्र्याम्मै ढलेका थिए उनी । अघिल्लो दिन हात–खुट्टा झमझम गरेको थियो । सामान्य समस्या भन्ठानेका उनी भोलिपल्ट अचानक हात–खुट्टा चल्न छोडेर लडेपछि जिपिएस भएको थाहा भयो ।
“प्रशिक्षण गराइरहँदा अचानक लडेपछि जीवन अन्धकार जस्तै बन्यो । अँध्यारो बाहेक केही देखिएन,” उनले सम्झिए ।
बिरामी परेका रोकायालाई तत्काल काठमाडौं ल्याएर बाँसबारीस्थित न्युरो अस्पताल भर्ना गरियो । चौथो दिनमा पाइला सार्न सक्ने भए । त्यसपछि उनलाई सामान्य अवस्थामा फर्किन सक्ने आशा जाग्यो । “जब एक पाइला सारेँ, पूरै आत्मविश्वास आयो । पुरानै अवस्थामा नफर्किए पनि सामान्य रुपमा हिँड्न सक्छु भन्ने विश्वास पलायो,” उनले भने । एक साताको अस्पताल बसाइपछि घर फर्किएका रोकायाको खुट्टाले दिनप्रतिदिन गति लिन थाल्यो । चिकित्सकको सल्लाहबमोजिम फिजियोथेरापीसँगै नियमित व्यायाम पनि जारी राख्दा अहिले उनी मर्निङ वाक गर्न सक्ने अवस्थामा पुगिसकेका छन् । नियमित चेकजाँचमा रहेका उनलाई चिकित्सकहरुले अब एक वर्षभित्र दौडिन सक्ने बताएका छन् । जसले उनमा फेरि खेलकर्ममा लाग्ने उत्साह बढाएको छ ।
माघको अन्त्यमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि काठमाडौंबाट जुम्लामा खेलाडी तयार पारिरहेका रोकाया नयाँ योजनाका साथ जुम्ला जाने तरखरमा छन् । बिरामी हुँदाका समय विभिन्न क्षेत्रबाट पाएको सहयोगबाट हरिबहादुर रोकाया फाउण्डेसन खोल्ने तयारीमा छन् । आफूजस्तै बिरामी पर्दा आर्थिक समस्या अरुले बेहोर्नु नपरोस् भनेर उनले यस्तो फाउन्डेसन खोल्न लागेका हुन् । “सबै तयारी भइसकेको छ । निको भएपछि पत्रकार सम्मेलन गरी जानकारी गराउँछु,” उनले योजना सुनाए ।
बिरामी परेर ओछ्यानमा थलिँदा पाएका ३ सम्मानले पनि जिपिएस रोगलाई जित्न सहज भएको रोकायाको अनुभव छ । उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुरस्कृत हुनुका साथै युवा तथा खेलकुद मन्त्रालयबाट उत्कृष्ट प्रशिक्षकको पुरस्कार पाएका थिए । त्यस्तै नेपालगञ्जमा क्रिएटिभ ह्यान्ड्सले पनि उनलाई सम्मान गरेको थियो ।