
काठमाडौं । ब्राजिलियन लेजेन्ड रोबर्टो कार्लोस अप्रिल २२ र २३ (वैशाख ९ र १०)मा नेपाल आउने भएका छन् ।
उनले शुक्रबार एक भिडियो सार्वजनिक गर्दै हाल नेपालमा जारी नेपाल सुपर लिग (एनएसएल)का निम्ति दुईदिने भ्रमणमा आउने बताएका हुन् ।
“नमस्ते नेपाल, हाम्रो पूर्वनिर्धारित कार्यक्रम अन्तिम समयमा डाक्टरहरूको सल्लाहका कारण स्थगित गर्नुपर्यो । तर, मैले यसलाई रद्द गरेको छैन । मैले आउने मिति मात्र परिवर्तन गरेको हुँ । र, म अप्रिल २२ र २३ मा नेपाल आउने छु,” कार्लोसले उक्त भिडियोमा भनेका छन् ।
यसअघि एनएसएल आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले कार्लोस १८ र १९ अप्रिलमा नेपाल आउने जनाएको थियो । तर, अन्तिम समयमा एनएसएल आयोजकले कार्लोसको नेपाल भ्रमण स्थगित भएको जनाएको थियो ।
व्यावसायिक र अन्तर्राष्ट्रिय करिअरमा रक्षकको भूमिकामा रहेका कार्लोस विशेष गरी असाधारण ‘फ्रिकिक’का निम्ति चर्चित छन् । उनले रियाल मड्रिडबाट तीनपटक च्याम्पियन्स लिगको उपाधि जितेका छन् ।
यस्तै, उनले एकपटक फिफा विश्वकपको उपाधि, दुईपटक कोपा अमेरिका र सन् १९९७ मा फिफा कन्फेडेरेसन कपको उपाधि जितेका छन् ।