काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७४ फागुन ३ गते दोस्रो पटक प्रधानमन्त्रीको शपथ ग्रहण गर्दैगर्दा आफू ‘सदाचारको मानक’ बन्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र सुशासनको कसम त कति खाए कति ! अघिल्लोपटक २०७२ असोज २५ देखि २०७३ साउन १९ सम्म देशको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हाल्दा उनले ‘राजनेता’ को छवि बनाएका थिए ।
दोस्रोपटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दा त्यसैको पुनरावृत्ति हुने धेरैले अपेक्षा गरेका थिए ।
तर, त्यसको नौ महिना नबित्दै उनको ‘राजनेताको छवि’ ओझेल परेको छ । र, उनको लोकप्रियताको ग्राफ पनि ह्वात्तै ओरालो झरेको छ ।
प्रधानमन्त्रीको कार्यभार सम्हालेयता पटकपटक सार्वजनिक मञ्चमा आफू जनताको छोरो भएको र पद, प्रतिष्ठा, मान–सम्मानको कुनै लालचा नरहेको प्रष्टिकरण दिँदै आएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका ओलीको व्यवहार भने त्यसको ठीक विपरित देखिएको छ ।
केही समययता उनीमा अच्चमको मोह बढेको छ– ‘उपाधि र मानार्थ विद्यावारिधी ।’
गतहप्ता काठमाडौँमा विवादित संस्था युनिभर्सल पिस फाउण्डेसन (यूपीएफ)ले एसिया प्रशान्त सम्मेलन (एसिया प्यासिफिक समिटको आयोजना गर्यो, तीन दिन लगाएर ।
शुरूमा सरकार त्यसको सहआयोजक थियो । सहआयोजकको नाममा निम्तो–कार्डसमेत छपाएर बाँड्यो ।
तर, प्रमुख प्रतिपक्षीलगायत नागरिक समुदायबाट समेत ‘ईसाई प्रवर्द्धनका लागि’ आयोजना गरिएको कार्यक्रम भन्दै व्यापक विरोध र आलोचना भएपछि सरकार त्यसबाट पछि हट्यो र सहयोगी बन्यो ।
तर पनि सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले संस्था विवादित नरहेको र सबैले कार्यक्रम गर्न पाउने, सुरक्षालगायत खर्चको प्रवन्ध गर्नु सरकारको दायित्व भएको भन्दै बचाउ गरे । त्यो एसियाली राजनीतिक पार्टीको कार्यक्रम भएको र विरोध गर्ने प्रमुख प्रतिपक्षीलगायत नेपाली कांग्रेस समेत त्यसको आयोजक भएको टिप्पणी उनको थियो ।
उक्त कार्यक्रममा राज्यकोषबाट ५५ लाख खर्चभएको जानकारी पनि सञ्चारमन्त्रीले गराएका छन् ।
विवादित संस्थाको विवादास्पद कार्यक्रममा संघीय सरकारका प्रधानमन्त्री, मन्त्री लर्को लागेर गएको भन्दै कटू आलोचना भइरहेका बेला सोही संस्थाले प्रधानमन्त्री केपी ओलीलाई एकलाख डलर धनराशि भएको नेतृत्व र सुशासनसम्बन्धि पुरस्कार प्रदान गर्यो ।
कतिपयले त्यसलाई सरकारले ‘क्रिस्चियानिटी प्रवर्द्धन’का लागि सघाएवापतको ‘इनाम’ भएको भन्दै तीखो आलोचना गर्न भ्याए ।
गत साउन १० गते घरबाट हराएकी र भोलिपल्ट उखुघारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेकी कञ्चनपुर, भीमदत्तनगरकी १३ वर्षीया किशोरी निर्मला पन्त मार्ने अपराधी पत्ता लगाउन सरकार अक्षम ठहरिएका बेला ओली ‘लिडरसिप एन्ड गुड गभर्नेन्स अवार्ड’ बाट विभूषित भएको भन्दै सार्वजनिक आलोचनाको विषय पनि बन्यो ।
विवादास्पद संस्थाले दिएको पुरस्कार, मान–सम्मान र तक्मा ग्रहण गर्ने कृत्य उपाधि मोहको हिस्सा भएको भन्दै सत्तारूढ दलका जिम्मेवार पदमा बसेका नेताले नै सार्वजनिक रूपमा आलोचना गरिहेका छन् ।
नेकपाका स्थायी कमिटी सदस्य घनश्याम भुसालले त यसलाई नग्नताको उपमा नै थमाए भने अर्का नेता भीम रावलले सरकारको दुरूपयोगको संज्ञा दिए । त्यस्तै अर्की नेतृ रामकुमारी झाँक्रीले सरकारका यस्ता गतिविधिबाट भावी पिँढीले मूल्य चुकाउनुपर्ने टिप्पणी गरिन् ।
तर, केपी ओलीको उपाधिमोह पुष्टि गर्ने यही एउटामात्रै दृष्टान्त होइन ।
२०६७ असोज ११ गते अमेरिकामा रहेको भनिएको विवादास्पद विश्वविद्यालय ग्रिनफोर्ड युनिभर्सिटीले काठमाडौंमा विशेष दीक्षान्त समारोह आयोजना गर्यो र प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानार्थ विद्यावारिधीको उपाधिद्वारा विभूषित गर्यो ।
केही समयपछि उक्त विश्वविद्यालय ‘फेक’ ठहरियो ।
विश्वविद्यालय कम्पनी लिमिटेडका रूपमा दर्ता भएको भन्ने खबर बाहिर आएपछि त्यही विश्वविद्यालयबाट विद्यावारिधी पाएका मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र कान्तिपुरका तत्कालीन निर्देशक रामेश्वर थापाले उपाधि फिर्ता गरे पनि ‘मैले कागजपत्र पढेर, बुझेरै मानार्थ विद्यावारिधी लिएको हुँ । यसलाई फिर्ता गर्दिनँ,’ भन्दै उनले ‘उपाधि मोह’ को प्रतिरक्षा गरेका थिए । उनले उपाधि लिएको उक्त युनिभर्सिटीको वेबसाइटसमेत अहिले बन्द छ ।
त्यस्तै गत चैत २५ गते राजकीय भ्रमणका लागि भारत गएका प्रधानमन्त्री ओलीलाई त्यहाँको उत्तराखण्डको एक विश्वविद्यालयले मानार्थ विद्यावारिधी प्रदान गर्यो ।
उत्तराखण्ड राज्यको पन्तनगरस्थित गोविन्द बल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयले उनलाई ‘अनररी डक्टर अफ साइन्स’ (मानार्थ विद्यावारिधी) द्वारा विभूषित गरेको छ ।
प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै भारतको राजकीय भ्रमणमा गएको भन्दै यसै उनको आलोचना भइरहेको थियो । ‘सम्बन्धित विषयमा साइनो–सम्बन्धै नभएका’ ले विद्यावारिधी पाएको भन्दै सामाजिक सञ्जाल गर्माउने विषय बन्यो ।
विद्यावारिधीको उपाधि ग्रहण गरेको प्रति नयाँ शक्ति पार्टी, नेपालका संयोजक रहेका डा. बाबुराम भट्टराईले व्यंग्य नै गर्न भ्याए– “‘डा. ( विद्यावारिधी ) क्लब’ मा प्रम डा. ओलीलाई हार्दिक स्वागत तथा बधाई !”
तर पनि उनको मानार्ध विद्यावारिधीबाट विभूषित हुने उपक्रमले पूर्णविराम पाएको छैन ।
गत असोजको दोस्रो साता भ्रमणका लागि कोस्टारिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यहाँ पनि मानार्थ विद्यावारिधी उपाधि ग्रहण गरे । कोस्टारिकाको सान जोसमा रहेको शान्ति विश्वविद्यालय (युनिभर्सिटी फर पिस) ले उनलाई मानार्थ विद्यावारिधीको उपाधि प्रदान ग¥यो । त्यसबखत नेपालले युनिभर्सिटी फर पिसको स्थापनासम्बन्धी अन्तर्राष्ट्रिय सन्धीमा हस्ताक्षर समेत गरेको थियो ।
त्यसरी विश्वविद्यालय चार्टर अङ्गिकार गर्ने नेपाल ४१ औँ मुलुक थियो ।