site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वामदेव प्रकरणमा ‘असफल’ भएपछि बदलिएका प्रचण्ड 
SkywellSkywell

काठमाडौं । “पहिलेको सरकार र कम्युनिस्ट पार्टीको दुईतिहाइ बहुमतको सरकारका बीचमा के फरक भयो ? जनतामा निराशा भयो भन्ने खालका गुनासा आएका छन् । धेरै टिप्पणी गरेर समस्या समाधान त हुँदैन । तर सरकारको समीक्षा गर्ने बेला भयो भनेर दुई अध्यक्षबीच गम्भीर छलफल र समीक्षा शुरू भएको छ,” गएको १९ भदौमा नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्पादक तथा राजनीतिक बिटमा कलम चलाउने पत्रकारलाई निवासमै बोलाएर सरकारको कामकारवाहीका विषयमा पोखेको असन्तुष्टि हो यो । २१ भदौबाट शुरू हुन लागेको भारत भ्रमणको पूर्वसन्ध्यामा आएको प्रचण्डको यो अभिव्यक्तिले पार्टीभित्र तरङ्ग नै उत्पन्न गराएको थियो । भारत भ्रमणबाट फर्किएपछि पनि उनी सरकारको कार्यशैलीप्रति असन्तुष्ट नै थिए ।

तर, १९ कात्तिकमा आइपुग्दा अध्यक्ष प्रचण्ड १८० डिग्रीको कोणमा बदलिँदै सरकारको बचाउ गर्न थालेका छन् । सोमबार विराटनगरमा प्रचण्डले सरकारले ‘गियर’ बदल्ने तयारी गरेको भन्दै तीब्र गतिमा नागरिकले अनुभूत गर्ने गरी कार्य सम्पादन गर्ने जिकिर गरे ।
त्यस्तै मन्त्री हेरफेर गर्नेबारेमा पनि बोली फेर्दै तत्काल मन्त्रिपरिषद् हेरफेरको सम्भावना नरहेको भन्दै प्रधानमन्त्री ओलीकै बोलीमा उभिए ।

वामदेव प्रकरणको पटाक्षेप
दसैँको मुखमा नेपाली राजनीति नराम्ररी तरंगित भयो । सामाजिक सञ्जाल सरकार र ने क पाको आलोचनाले भरिए । बर्दिया–१ बाट चुनाव हारेका ने क पाका नेता वामदेव गौतमलाई उपनिर्वाचन लडाउन काठमाडौं–७ का निर्वाचित सांसद रामवीर मानन्धरलाई राजीनामा दिन लगाउने प्रसंगले पार्टीभित्र र बाहिर असन्तुष्टि झाँगियो । र, प्रकारान्तरले सरकारविरुद्धैको असन्तुष्टिको रूप लियो ।

KFC Island Ad
NIC Asia

त्यस प्रकरणले अध्यक्ष प्रचण्डलाई नराम्ररी घाटा पुगेको चर्चा ने क पाभित्र हुन थालेको छ । “रामवीरलाई फिर्ता बोलाएर वामदेवलाई सांसद बनाउने खेलमा प्रचण्ड स्वयम् सामेल थिए । विष्णु पौडेलले ठाउँ खोज्दै हिँडेका थिए । तर, पार्टीभित्र र बाहिरबाट विरोध भएपछि प्रचण्ड पछि हट्नुपर्‍यो । विष्णु पौडेलले खुट्टा छाडिहाले । यसले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच दूरी बढाउने काम गरेको छ,” ने क पाका एक केन्द्रीय सदस्य बताउँछन् ।

ने क पाभित्र वामदेव प्रकरण त्यसै सेलाएन । यसले नेताहरूबीच कटूता त उत्पन्न गरायो नै, शंकाको सुविधा पनि थपिदियो ।

Royal Enfield Island Ad

“ने क पाभित्र भारत छद्मरूपले प्रवृष्ट भएको र वामदेव प्रकरणमार्फत् मुखरित भएको कुरा अध्यक्ष ओलीको मनमा लाग्यो र, यो च्याप्टरलाई ‘अहिले कुनै निर्णय गर्नु नपर्ने’ भन्दै सचिवालयको बैठकले क्लोज गर्‍यो,” उनको दाबी छ ।

त्यसो त, सचिवालयका नौमध्ये माधव नेपाल, झलनाथ खनाल, रामबहादुर थापा ‘बादल’ नारायणकाजी श्रेष्ठसमेत रामवीरको राजीनामामा सहमत हुने विश्वास प्रचण्डको थियो ।  तर, वामदेको पक्षमा मतैक्यता हुन नसकेपछि ओलीसँग दूरी बढाएर जान नसकिने रहेछ भन्ने निष्कर्षमा प्रचण्ड पुगेको ने क पाका नेता बताउँछन् ।

राजीनामाको प्रसंगलाई लिएर अध्यक्ष ओलीको मनमा झस्का पसेको रामवीर स्वयम् स्वीकार्छन् । “मलाई शक्तिकेन्द्र धाएर अनावश्यक चलखेल गरेको आरोप लगाइयो । पार्टीका केही नेता डिप्रेसनमा गए र आत्तिँदै सरकार नै ढलाउने खेल भएको टिप्पणी गर्न थाले, रामवीरको त्यो क्षमता होला र ?,” उनले बाह्रखरीसँगको अन्तर्वार्तामा प्रतिप्रश्न गरेका थिए ।

त्यतिमात्र नभई यही विषयमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीसँग कुरा भएको र आरोपको खण्डन गरेको उनको भनाइ थियो ।

रामवीरकै भनाइलाई आधार मान्ने हो भने पनि दुई अध्यक्षबीच वामदेव प्रकरणले दूरी बढाएको छ । त्यसैलाई चिर्न अध्यक्ष प्रचण्ड अहिले सरकारको बचाउमा छन् । पार्टीले आयोजना गरेको चियापान त्यसको माध्यम बनेको छ ।

प्रचण्डको मनोदशा
नवगठित ने कपाका अध्यक्ष रहेका प्रचण्ड ३० वर्षदेखि पार्टी नेतृत्वमा छन् । सेक्टर काण्डपछि मोटो मशालको नेतृत्वमा आइपुगेका प्रचण्ड एकता केन्द्र, नेकपा (माओवादी), एकीकृत नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी केन्द्र) र ने क पासम्म आइपुग्दा ६ पटक पार्टीका चोला बदलिँदासम्म उनी शीर्ष नेतृत्वमै छन् ।

त्यसर्थ उनी ने क पामा शान्त रहने अवस्थामा छैनन् । कुनै न कुनै खेलमार्फत् नेतृत्वमा हाबी हुने ध्याउन्नमा छन् । पूर्वएमालेभित्रको शिरामा खेलेर तिनको नेतृत्व गर्ने ‘च्याँखे दाउ’मा उनी छन् ।

“माओवादी केन्द्रमा छँदा पार्टी भनेकै प्रचण्ड थियो । जनयुद्धको कालखण्डमा पनि प्रचण्डपथ विचारधारामार्फत् अभिव्यक्त भएकै हो । तर, एमालेसँग एकता भएपछि उनी नेतृत्वबाट ओझेल परेका छन्, ‘पार्टी भनेकै म हुँ र म भनेकै पार्टी हो’ भन्ने मनोभाव ने क पामा लागु हुने अवस्था छैन,” ने क पाका अर्का केन्द्रीय सदस्य बताउँछन् ।

एकता प्रक्रियालाई आधारभूत तहसम्म पुर्‍याउन पूर्व माओवादी केन्द्रका कारण पनि सम्भव भइरहेको छैन । “जति नेता छन्, केन्द्रमै छन् । प्रदेश र जिल्ला तहमा कमिटी नै छैनन् । भए पनि बैठक नै बस्दैनन् । जिल्ला कमिटीका सदस्यको नामावली मगायो भने भोलिपल्ट कम्प्युटर टाइप गराएर ल्याउनुपर्ने अवस्था छ, जिल्ला कमिटीको माइन्युटसम्म छैन । पार्टी प्रणालीमै नहुर्किएकाले होला प्रचण्डको नेतृत्वसीप आत्मकेन्द्रित छ,” ने क पाका नेता बताउँछन् ।

केपी अस्वस्थ हुँदा प्रचण्डलाई ‘लाभ’
दसैँलगत्तै केपी ओली एकाएक थलिए । दशकअघि मृगौला प्रत्यारोपण गरिएका र निरन्तर फलोअपमा जाँदै–आउँदै गरेका प्रधानमन्त्री ओलीले दसैँमा टीकाको दिनदेखि चतुर्दशीको दिनसम्म टीका लगाइदिनै व्यस्त भए । पूर्णिमाको भोलिपल्टैबाट ओछ्यान परे । कात्तिक १० गते पार्टीले आयोजना गरेको चियापानमा समेत जान सकेनन्, उनी ।

प्रधानमन्त्री ओली बिरामी हुँदा त्यसको असर पार्टीलाई पनि पर्‍यो । सचिवालयको बैठक धकेलियो । स्थायी कमिटीको बैठक सर्‍यो । पार्टीका नियमित बैठक टाँगिए पनि गतिविधि रोकिएका छैनन् । पार्टी अध्यक्षको हैसियतले देशभर जाने मौका पाएका छन्, प्रचण्ड ।
त्यसले पूर्वएमालेका तलका कार्यकर्तासँग चिनापर्ची गराइदिएको छ भने अर्कातिर अध्यक्षको रिक्तता पूर्ति गर्ने र अध्यक्ष ओलीसँगको तिक्तता मेटाउने अवसर पनि जुराइदिएको छ ।

त्यसैको कारण हुनसक्छ, सोमबार अध्यक्ष प्रचण्डले केपी ओलीको खुलेर प्रशंसा गरे । “ओलीजी १४ वर्ष काराबास बस्नुभयो । उहाँको १४ वर्ष काराबास बसेको मनोविज्ञान पनि छ । म पनि १४ वर्ष वनवास बसेँ । मेरो पनि मनोविज्ञान छ । यो १४ वर्षको काराबास र वनबासले हामीलाई यो ठाउँमा ल्याएको छ,” उनले विराटनगरमा कार्यकर्तामाझ भने ।

मदन मोहको भित्री चाल
प्रचण्डले बताउँदै आएका छन्– जनताको बहुदलीय जनवादका प्रवर्तक एवम् नेपालको कम्युनिष्ट लोकतान्त्रिकरणका अगुवा मदन भण्डारीसँग उनको भेट र लामो छलफल जेठ ११ गतेका लागि तय भएको थियो । तर, विक्रम सम्वत् २०५० जेठ ३ गते उनको निधन भयो । रहस्यमय दुर्घटनामा भणडारी दिवंगत भएपछि मदनसँगको भेट अपूरो रहेको उनको दुखेसो एमालेका मञ्चमा पोख्दै आएका थिए । 

गत जेठ ३ गते पार्टी एकताका दिन पनि मदननगर, बल्खुमा रहेको मदनको सालिकमा माल्यार्पण गर्दै उनले मदन भण्डारीलाई ‘इतिहासको आवश्यकता र आकस्मिकताले जन्माएको पात्र’ भएको टिप्पणी गरेका थिए । र, मदन–आश्रित स्मृति दिवसकै दिन पार्टी एकता गर्न आफूले नै जोड दिएको बताएका थिए ।

तर, उनको त्यो अभिव्यक्ति पूर्व एमालेभित्रको ठूलो पंक्ति रिझाउने हतियार भएको टिप्पणी ने क पाभित्रै हुन थालेको छ । “पूर्वएमालेभित्र मदन भण्डारीलाई मान्ने ठूलो पंक्ति छ । उनीहरूको मनोभावना जित्न पनि प्रचण्डले मदनप्रति श्रद्धा देखाएका हुन्,” ने क पाका नेता भन्छन् ।

मदनप्रति मोह देखाउन तर त्यही मदनले प्रतिपादन गरको जनताको बहुदलीय जनवादप्रति मोह नदेखाउनुले पनि उनको निहितार्थ प्रष्ट हुने ती नेताको दाबी छ । “अहिले जनताको बहुदलीय र मदन भण्डारी विचारधाराको रक्षक केपी ओली देखिएका छन् । केपी ओलीनिकट कार्यकर्ताको मन जित्न र आगामी महाधिवेशनबाट नेतृत्वमा आउन पनि प्रचण्डले मदनप्रति आशक्ति देखाएका हुन्,” उनी थप्छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०७५  १७:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro