विशेष
काठमाडौं ।विदेशबाट फर्किएकी एक युवती र दलाललाई मिलाइदिने विचौलियाका कारण दुई प्रहरी अहिले प्रहरी हिरासतमा छन् ।
दलालको सेटिङमा अवैध रुपमा भारत, श्रीलङ्का हँुदै कुवेत पुगेर नेपाल फर्केकी एक युवतीले प्रहरीमा उजुरी गरेपछि प्रहरी नायव निरीक्षक (सई) निर्मल ज्ञवाली र प्रहरी जवान सन्तोष खड्का पक्राउ परे । उनीहरू दुई जनाले गरेर विचौलियाबाट एक लाख रुपैयाँ लिएको रहस्य खुलेको छ ।
अवैध मार्ग हुँदै कुवेत पुगेर एक महिनापछि फर्केकी ती युवतीले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिइन् । उनको उजुरीको आधारमा प्रहरीले उनलाई कुवेत पठाउने दलाललाई पक्राउ गर्यो ।
प्रहरीका अनुसार उनीहरु मिल्ने र क्षतिपुर्ति दिने सहमती भयो । दुवै पक्ष बाहिरै मिले । विचौलियामार्फत मिलापत्र गरेपछि थाहा भयो विदेश पठाउने दलालसँग प्रहरीको मिलेमतोमा २० लाख रकम लिएको ।
नेपाल प्रहरीका सई निर्मल ज्ञवाली र प्रहरी जवान सन्तोष खड्काले रकम लिएर उनीरूलाई मिलाउन सहयोग गरेका थिए ।
प्रहरी स्रोतका अनुसार २० लाख दलालबाट बुझेका बिचौलियाले पीडित युवतीलाई एक लाख नगद र डेढतोला बराबरका सुनका गहना र उनको श्रीमानलाई डेढ लाख रुपैयाँ दिएको थियो ।
दुई प्रहरीलाई भने ६० र ४० हजार गरी १ लाख रुपैयाँ दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । तर विचौलिया अझै फरार रहेकाले पीडित र विचौलियाको नाम गोप्य राखेको प्रहरीले जनाएको छ ।
बिचौलियाको सेटिङ्मा घुस खाएका प्रहरीद्वय ज्ञवाली र खड्कालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बिक्रम थापाले बताए ।
उनले बाहखरीसँग भने,“आर्थिक चलखेलमा लाग्ने प्रहरीको यही हालत हुन्छ । दलाल र बिचौलियाको सेटिङ्मा काम गर्ने प्रहरी पनि कारवाहीको दायरामा आउनैपर्छ । पक्राउ परेका दुवै जनालाई कानुन अनुसार कारवाही हुन्छ ।”
घटनाको अनुसन्धान गर्न महानगरीय प्रहरी कार्यालयका डीआईजी मिङ्मार लामाको नेतृत्वमा बनेको छानविन टोलीले अनुसन्धान गरीरहेको महानगरीय आयुक्त कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन ७, २०७३ २०:५२
प्रतिक्रिया दिनुहोस्