बर्दिबास । धुर्मुस सुन्तली फाउन्डेसनले बर्दिबास मुसहर बस्तीमा ५० घर निर्माणको शिलान्यास गरेको छ । आइतबार महजोडी सहितका कलाकारले बस्ती निर्माणको शिलान्यास गरेका हुन् । उक्त अवसरमा महजोडीले एक लाख, किरण केसीले १० हजार, पूर्व शिक्षा मन्त्री गिरिराजमणी पोखरेलले सांसद विकास कोषबाट १० लाख दिने घोषणा गरेका छन् ।
हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले तेस्रो एकीकृत बस्ती निर्माण गर्र्न लागेका हुन् । भूकम्पपीडितका लागि दुईवटा एकीकृत नमूना बस्ती निर्माण गरिसकेको धुर्मुस सुन्तली फाउन्डेशनले महोत्तरीको वर्दिबास दुईमा एकीकृत नमूना मुसहर बस्ती निर्माण गर्न लागेको हो ।
फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेलले नयाँ एकीकृत बस्ती निर्माणका लागि ४ करोड ७८ लाख लगानी लाग्ग्ने बताए । फाउन्डेशनले गिरान्चौर एकीकृत नमूना बस्ती निर्माणबाट बचेको १ करोड ३ लाख ६६ हजार ३ सय १ रुपैँया मुसहर बस्ती निर्माणका लागि खर्च गर्नेछ । चैत अन्तिमसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको फाउन्डेशनले जनाएको छ ।