विशेष
काठमाडौं । मुद्दा मिलाइदिने भन्दै घुस खाएको अभियोगमा नेपाल प्रहरीका सई (प्रहरी नायव निरीक्षक) निर्मलप्रसाद ज्ञवाली र प्रहरी जवान सन्तोष खड्कालाई प्रहरीले बुधबार काठमाडौंबाट नियन्त्रणमा लिएको छ ।
ती दुई प्रहरीले अघिल्लोसाता वैदेशिक रोजगारीमा पठाउने दलालसँग घुस खाएको प्रहरीले दावी गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत सई ज्ञवाली र प्रहरी जवान खड्का मिलेर दलालसँग मोटो रकम लिएर भगाएको प्रहरी परिसर स्रोतले जानकारी दियो । पक्राउ परेका दुवै जनालाई प्रहरी हिरासतमा राखेर अनुसन्धान गरिएको छ । घटनाको अनसन्धान गर्न महानगरीय प्रहरी आयुक्त कार्यालयले डीआईजी मिङ्मार लामाको नेतृत्वमा अनुसन्धान टोली गठन गरेको छ । टोलीले अनुसन्धान अघि बढाएको आयुक्त कार्यालयका प्रवक्ता एसएसपी शरद चन्दले बताए ।
उनीहरूले भगाएका दलालहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । दलालहरू नियन्त्रणमा लिन बाँकी भएका कारण घटना गोप्य राखी प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ ।
प्रकाशित मिति: बुधबार, साउन ५, २०७३ १९:१०
प्रतिक्रिया दिनुहोस्