विशेष
काठमाडौं । व्यवसायीलाई धम्क्याएर रकम असुली गरेको अभियोगमा ‘डन’ दीपक मनाङ्गे अहिले प्रहरी हिरासतमा छन् । पटक–पटक पक्राउ पर्दै आएका मनाङ्गेलाई यसअघि दैनिक दर्जनौं समूह भेट्न आउने गरेका थिए । तर, अहिले भने उनलाई कोही भेट्न आएको छैन ।
“मनाङ्गेसँगै पक्राउ परिने डरले भेट्न नआएको हुन सक्छ,” प्रहरीले भन्यो, “मनाङ्गेको समूहमा रहेका अन्य केहीको पनि खोजी जारी छ ।”
‘डन’ मनाङ्गेलाई प्रहरीले जबर्जस्ती रकम असुली र संगठित अपराधको मुद्दा चलाएर अनुसन्धान अघि बढाएको काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी विक्रमसिंह थापाले बताए ।
उनलाई चिन्ने प्रहरी भन्छन्, “पहिला मनाङ्गेलाई पक्राउ गरेर ल्याउँदा प्रहरी परिसर भरिन्थ्यो । तर, यो पटक भने सुनसानजस्तै छ । उनलाई भेट्न उनकी श्रीमतीमात्र कहिलेकाहीँ आउँछिन् ।”
मनाङ्गेलाई प्रहरीले ६० जना थुनुवासँगै एउटै कोठामा राखेको छ ।
प्रहरीका अनुसार उनी अरु कुनै पनि थुनुवासँग बोल्दैनन् । रुमालले मुख छोपेर बस्छन् । यसअघि पक्राउ पर्दा प्रहरीको मेसमा समेत खाना नखाने मनाङ्गे यसपटक अन्य थुनुवाजसरी बसिरहेको प्रहरीले जनाएको छ ।
“पहिले उनी पक्राउ परेर आउँदा पनि हाउभाउ अर्कै हुन्थ्यो,” प्रहरी स्रोतले भन्यो, “तर हिजोआज त्यस्तो छैन ।” मनाङ्गेका आफन्तहरू उनलाई साथीहरूले नै फसाउने प्रयास गरेको बताउँछन् ।
प्रकाशित मिति: बुधबार, साउन ५, २०७३ १०:४३
प्रतिक्रिया दिनुहोस्