— रणवीर कपुर
‘बेसरम’, ‘रोय’, ‘बम्बे भेल्भेट’, ‘तमासा’ र ‘जग्गा जासुस’जस्ता लगातार फ्लप फिल्मको पीडा झेलिरहेका रणवीर कपुर हिजोआज आफ्नो बहुप्रतीक्षित फिल्म ‘सन्जु’को प्रमोशनमा दौडिरहेका छन् । एकपछि अर्को फिल्मको असफलताबीच ‘सन्जु’ उनको करिअरमा कोशेढुंगा बन्ने आँकलन गरिएको छ । उनी आफू यी असफलताबाट कति विचलित छन् त ? भन्छन्, “मलाई यी फ्लप फिल्मले धेरै कुरा सिकाएका छन् । लगातार फिल्म फ्लप हुनुमा अरु कसैको दोष छैन, मेरै हो । मैले नै ती फिल्म छनोट गरेको हुँ ।”
‘नवभारत टाइम्स’सँगको अन्तर्वार्ताका क्रममा रणवीरले आफ्नो फिल्मी करिअरबारे खुलेर बोले । प्रस्तुत छ, उनका कुरा उनकै शब्दमाः
असफलताले हौसला
असफलताले जीवनमा महत्वपूर्ण भूमिका खेल्छन् । युवावयमा हुँदा, भर्खरै करिअरले बाटो बनाइरहेका बेला र धेरैथोरै काम पनि पाइरहेका बेला लगातार फिल्म फ्लप हुँदा पीडा हुन्छ । मैले फिल्म उद्योगमा काम गर्न थालेको १० वर्ष पुग्यो । यसबीचमा मैले १४–१५ फिल्ममा काम गरें । यी सबैमा काम गर्दा मैले धेरै कुरा सिक्ने मौका पाएँ । त्यो अनुभवले मलाई अगाडि बढ्ने हौसला पनि दियो ।
हरेक व्यक्ति आफ्नो क्षेत्रमा सफल हुन चाहन्छ । धेरैलाई लाग्छ— मलाई सफलताले त परिवर्तन गर्न सकेन भने असफलताले के नै पो गर्न सक्छ होला र ! तर, असफलता हरेक व्यक्तिको जीवनमा मुस्किल र अप्ठ्यारो घुम्ती हो । आफूमाथि असफलताको बज्र पर्दा थाहासम्म हुन्न । फिल्म फ्लप भएको दिन त्यसको पीडा थाहा हुन्न । एक या दुई वर्षपछि बल्ल त्यसले आक्रमण गर्छ । यो पेशा नै यस्तो हो । तर सौभाग्यवश म फिल्म परिवारमा जन्में, हुर्कें । मैले बच्चैदेखि सफलता र असफलतालाई नजिकैबाट देख्दै आएको छु । बुवा, काका, बहिनीहरू सबै फिल्मका हिस्सा हुन् । आज पनि काम गरिरहनुभएको छ । त्यसैले मलाई सबैखाले उतार–चढावबारे अनुभव छ ।
खासमा भन्ने हो भने मैले आफ्नो असफलतालाई त्यति गम्भीर रूपमा लिन्नँ । मैले आफूलाई पनि भयंकर गम्भीर रूपमा लिन्नँ । म आफूलाई औसतभन्दा पनि औसत मान्छे र त्यस्तै औसत कलाकार मान्छु । मलाई राम्रा अवसर प्राप्त भए, त्यसैले आत्मविश्वास चाहिँ धेरै नै छ । कलाकारलाई केही गर्ने आत्मविश्वास हुनु सबैभन्दा महत्वपूर्ण हो । सफलता र असफलता भनेका जिन्दगीका अभिन्न अंग हुन् ।
दोष मेरै
काम गर्ने मामिलामा मेरा कुनै निश्चित सूत्र छैनन् । फिल्मका प्रस्ताव आउँदा मैले धेरै सोचविचार गरेर मात्रै काम गरेको छु । १०–२० वटा कथा सुन्दा मैले १–२ वटामा मात्रै काम गरेको छु । मैले जति पनि फिल्ममा काम गरेको छु, चाहे ‘जग्गा जासुस’ होस्, या ‘बम्बे भेल्भेट’— सबै आफ्नै रुचि र खुशीले गरेको हुँ । यी फिल्मका कथा राम्रो लागेर न मैले काम गरेको हुँ । कुनै दबाबले होइन । यदि यी फिल्म चलेनन् भने त्यसको भागिदार म आफैं हुँ । निर्देशकले यी फिल्म राम्रो बनाएनन् भनेर म कहिल्यै भन्दिनँ । मलाई त्यतिबेलै थाहा थियो— कस्तो फिल्म बन्दै छ ।
म प्रयोगवादी होइन
म प्रयोगवादी कलाकार होइन । धेरैलाई लाग्न सक्छ— म प्रयोग गर्न रुचाउने कलाकार हुँ । मलाई आर्ट फिल्ममा काम गर्न मन लाग्छ तर म त्यस्तो छैन । मलाई लागेको थियो— ‘जग्गा जासुस’ यस्तो स्क्रिप्ट कि सबैलाई मन पर्नेछ । तर, त्यसो भएन । यो पेशा नै यस्तो हो । यहाँ सबै कुरा अनिश्चित छन् ।
हाम्रो पुस्तामा वरुण धवन, विक्की कौशल, रणवीर सिंह, कार्तिक आर्यन, दीपिका पादुकोण, आलिया भट्टजस्ता प्रतिभाशाली कलाकारले राम्रो काम गरिरहेका छन् । अहिले जमाना फेरिइसक्यो । दर्शकले कलाकार र उनीहरूको कामलाई बिर्सिंदैनन् । प्रतिस्पर्धा धेरै छ । छनोटका विकल्प पनि बढेका छन् । फिल्म राम्रो बनेको छ भने दर्शकले असाध्यै माया गर्छन् । कदाचित राम्रो भएन भने त्यो तहको माया पाउनै सकिँदैन । माथि उल्लिखित प्रतिभाशाली कलाकारले ‘तिमी राम्रो कलाकार हौ’ भन्दा मलाई आफैंप्रति विश्वास लाग्दैन । उनीहरूले मलाई फुक्र्याएका हुन् जस्तो लाग्छ । तर, भित्रभित्रै म खुशीले उफ्रिरहेको हुन्छु । जसले मेरो अभिनयको प्रशंसा गर्छन्, उनीहरूलाई म धन्यवाद भन्छु ।
सफल फिल्मको हिस्सा बन्नु छ
मलाई प्रतिभावान कलाकारमात्रै बन्नु छैन । मलाई सफल फिल्मको हिस्सा बन्नु छ । सफल फिल्म बनाउनु पनि छ । यदि प्रतिभा र क्षमता छ तर राम्रा फिल्म बनाउनमा त्यसको प्रयोग हुँदैन भने त्यो प्रतिभा र क्षमता खिइएर जान्छ । त्यसैले मलाई राम्रो कलाकारमात्रै भएर पुग्दैन, राम्रो फिल्मको अंग बनेर देखाउनु छ ।
‘सन्जु’को शुरुवात
राजकुमार हिरानीले मलाई सञ्जय दत्तको बायोपिक बनाउने कुरा सुनाएपछि लाग्यो— अहँ ! मबाट यो काम हुन सक्दैन । सञ्जय दत्त आज पनि ठूला सुपरस्टार हुनुहुन्छ र काम पनि प्रशस्तै गरिरहनुभएको छ । मान्छेले उहाँलाई असाध्यै प्रेम गर्छन् । मैले कसरी उहाँको भूमिका गर्न सक्छु ? २० देखि ६० वर्षसम्मको उमेरमा म कसरी फिट हुन सक्छु होला ? यस्ता थुप्रै प्रश्न दिमागमा आइरहेका थिए । पटकथा पढेपछि भने ममा आत्मविश्वास बढ्यो ।
यो कथा यति रोचक थियो कि कलाकारको रूपमा मलाई धेरै कुरा सिकाउन सक्थ्यो । छायांकनअघि हामीले यो फिल्मको तयारीमा ८ महिना बितायौं । शरीर बनाउने, ‘प्रोस्थेटिक मेकअप’ प्रयोग गर्ने, सञ्जय दत्त उठ्ने, हिँड्ने, बोल्ने आदि सबै भावभंगिमा दुरुस्त उतार्ने, तौल बढाउने/घटाउने जस्ता थुप्रै कुरामा तयारी ग¥यौं । यी सबै सजिला काम थिएनन् । ‘सन्जु’को तयारी गर्दा मेरो तौल ७० किलो थियो । बढाएर ८८ किलो बनाउनु पर्यो । यो तयारी चल्दै गर्दा मैले ‘जग्गा जासुस’ गरिरहेको थिएँ ।
हामीले ‘सन्जु’लाई उल्टोबाट शुटिङ गरेका छौं । यो फिल्मलाई लिएर मेरो जिम्मेवारी धेरै बढेको थियो । पहिलो कुरा— यो राजकुमार हिरानीको फिल्म थियो । दोस्रो— सञ्जय दत्तको भूमिकामा म खरो उत्रिनु थियो । म चाहन्थें— सञ्जय दत्तको जीवनलाई मैले प्राकृतिक रूपबाट प्रस्तुत गर्न सकूँ, कुनै कसर बाँकी नरहोस् । मेरो तर्फबाट यो भूमिकामा कुनै कमी हुन दिन चाहन्नथें ।
यसमा मैले धेरै मेहनत गरेको छु । कतिपटक हामी ८–८ घण्टा ‘प्रोस्थेटिक मेकअप’मा बस्थ्यौं । केही गडबड भयो कि फेरि उस्तै मेहनत गर्नुपथ्र्यो । कहिलेकाहीँ म सञ्जय दत्तको नक्कल आवश्यकताभन्दा बढी गर्थें । कहिलेकाहीँ ढंगले संवाद पनि बोल्न सक्दिनथें । सबै कुरा सही दिशा र सही बाटोमा ल्याउन लामो समय लाग्यो । सबैभन्दा ठूलो कुरा विश्वास थियो । जब आफूमा पूर्ण विश्वास भयो, तब काम सजिलो भयो ।
भावुक क्षण
कति वटा त्यस्ता सिन थिए, जुन खिच्दा मेरा आँखा भरिएका थिए । म सबैभन्दा भावुक भएका दुइटा सिन थिए । पहिलो— सञ्जय दत्तको पहिलो फिल्म ‘रक्की’को प्रिमियरभन्दा ठीक तीन दिन अघि आमा (नरगिस)को मृत्यु भएको थियो । सञ्जय दत्त लागूपदार्थ दुव्र्यसनमा फस्नुभएको थियो । हलमा ‘रक्की’ चलिरहँदा भित्र दर्शकले फिल्म हेरिरहेका थिए भने बाहिर भऱ्याङमा उहाँ बुवा (सुनील दत्त)सँग भन्दै हुनुहुन्थ्यो, “बुवा, थाहा छैन मलाई के भएको छ । म ड्रग्समा धेरै नै फसिसकें । मलाई केही थाहा हुन्न— सही के हो, गलत के हो, साँचो के हो, झुटो के हो ।”
यो सिन गर्दा म असाध्यै भावुक भएको थिएँ ।
अर्को— सुनील दत्तज्यूको मृत्यु हुँदाको क्षण । बुवाको पार्थिव शरीर बोकिरहँदा सञ्जय दत्तको दिमागमा चलिरहेका कुरालाई राजकुमार सरले बडो सुन्दर ढंगमा लेख्नुभएको छ । त्यतिबेला सञ्जयले बुवालाई धन्यवाद भनिरहनुभएको थियो । यो दृश्य गर्दा पनि म असाध्यै भावुक भएको थिएँ ।
अप्ठ्यारा सिन पनि उत्तिकै थिए । सञ्जय दत्त ड्रग्सको कुलतमा फसेको र जेल गएको सिन गर्दा कष्ट भएको थियो । यी दुई अवस्थामा उहाँको दिमागी अवस्था कस्तो थियो होला, जीवन कसरी बाँच्नुभयो होला ! म यही सोचिरहन्थें ।
सञ्जयको परिवारसँग सम्बन्ध
सञ्जय दत्त र उहाँको परिवारसँग हाम्रो सम्बन्ध असाध्यै राम्रो छ । चाहे उहाँकी बहिनी होऊन्, चाहे आमा । उहाँकी पहिली श्रीमतीकी छोरी त्रिशाला मेरी राम्री साथी हुन् । सबै जनासँग हामी नजिक रह्यौं । मैले हजुरआमाको मुखबाट यो परिवारका धेरै किस्सा सुनेको छु ।
मनीषाको भूमिका
मनीषा कोइरालाले नरगिसज्यूको भूमिका साह्रै राम्ररी निभाउनुभएको छ । उहाँ स्वयं क्यान्सरजस्तो अप्ठ्यारो रोगसँग लडिसक्नुभएको छ । त्यसैले नरगिसज्यू बिरामी हुँदा कस्तो मानसिक अवस्थाबाट गुज्रिनुभएको थियो होला भन्ने उहाँ राम्ररी अनुभूत गर्न सक्नुहुन्छ । फिल्ममा उहाँको भूमिका सानो छ । दुई सिन र एउटा गीतमा उहाँ देखिनुहुन्छ । तर, उहाँले नरगिसज्यूको भूमिका यसरी निभाउनुभएको छ कि लाग्छ— साक्षात् नरगिस अगाडि उभिनुभएको छ । मनीषाज्यूका कारण मैले पनि धेरै नै सिक्न पाएँ । त्यसले मेरो काममा राम्रो काम ग¥यो । कसैले आफ्नो अभिनयमार्फत पात्रलाई जीवन्त रूपमा प्रस्तुत गर्न सक्यो भने सँगै काम गरिरहेका कलाकारमा त्यसको सकारात्मक असर पर्छ । मनीषाजीले आफूलाई पूरै नरगिस बनाउनुभएको थियो ।