एजेन्सी । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत आज समूह ‘एच’ मा पोल्याण्ड र कोलम्बियाबीच प्रतिस्पर्धा हुँदैछ । विश्वकपको नकआउट चरणमा पुग्ने आफ्नो सम्भावनालाई कायमै राख्न आजको खेल दुबै टिमका लागि त्यतिकै महत्वपूर्ण छ ।
रसियाको कजान एरिनामा पोल्याण्ड र कोलम्बियाबीचको खेल नेपाली समयअनुसार आज राति ११ बजेर ४५ मिनेटमा हुनेछ ।
यसअघि पोल्याण्ड र कोलम्बिया दुवैले समुह चरणको पहिलो खेलमा हार व्यहोरेका छन् । पोल्याण्ड सेनेगलसँग २—१ गोलले पराजित भएको थियो भने कोलम्बिया जापानसँग २—१ गोलले नै पराजित भएको थियो ।
पहिलो खेलमा हार व्यहोरेको पोल्याण्ड र कोलम्बिया आफ्नो दोस्रो खेल जित्नैपर्ने दबाबमा रहेका छन् ।
हेड टु हेड
पोल्याण्ड र कोलम्बियाले यसअघि ५ खेलमा भेट गरिसकेका छन् । जुन खेलमा ३ खेल कोलम्बियाले जितेको छ भने २ खेल पोल्याण्डले जितेको छ । सन् १९८० मा पहिलो पटक पोल्याण्ड र कोलोम्बियाले अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा खेलेका थिए । जसमा पोल्याण्ड ले कोलम्बियालाई ४—१ गोलले पराजित गरेको थियो ।
त्यस्तै सन् १९८५ मा भएको अर्को खेलमा पोल्याण्डसँग कोलम्बिया २—१ गोलले पराजित भएको थियो । सन् १९८५ मै भएको अर्को खेलमा कोलम्बियासँग पोल्याण्ड १—० गोलले पराजित भएको थियो भने सन् १९९० मा भएको खेलमा कोलम्बियाले पोल्याण्डलाई २—१ गोलले पराजित गरेको थियो ।
दुई टिमबीच सन् २००६ मा भएको खेलमा कोलम्बियासँग पोल्याण्ड २—१ गोलले पराजित भएको थियो ।