एजेन्सी । जर्मन क्लब वायर्न म्युनिखका पुर्व प्रशिक्षक कार्लोस एन्सिलोटी इटालियन क्लब नापोलीको प्रशिक्षकमा नियुक्त भएका छन् । इटालियन सिरी ए क्लब नापोलीले बुधबार एन्सिलोटीलाई प्रशिक्षकको जिम्मेवारी दिएको हो ।
स्पेनिस क्लब रियल मड्रिड र इन्ग्लिश क्लब चेल्सीका पुर्व प्रशिक्षक समेत रहेका एन्सिलोटीले नापोलीसँग ३ बर्षे सम्झौता गरेका छन् । नापोलीले एन्सिलोटीलाई माउरीसियो सर्रीको स्थानमा प्रशिक्षक नियुक्त गरेको हो । सम्झौतासँगै एन्सिलोटी सन् २०२१ सम्म नापोलीका प्रशिक्षक रहने छन् । सिरी ए फुटबलमा नापोली यो सिजन दोस्रो स्थानमा रहेको थियो ।
इटालियन ५८ बर्षिय प्रशिक्षक एन्सिलोटी गत सिजनको सेप्टेम्बरमा वायर्नबाट बर्खास्तमा परेका थिए । त्यसअघि उनले रियल मड्रिड, पेरिस सेन्ट जर्मेन (पिएसजी), चेल्सी, एसी मिलान र युभेन्टसको प्रशिक्षक जिम्मेवारी सम्हालिसकेका थिए ।
एन्सिलोटीले आफ्नो प्रशिक्षक करियरमा ३ पटक च्याम्पियन्स लिग जितेका छन् । उनले एसी मिलानबाट दुई पटक र रियल मड्रिडबाट एक पटक च्याम्पियन्स लिग उपाधि जितेका हुन् ।