Skip Advt.

देश

११ शवको पोष्टमार्टम सकियो, शव पहिचानमा समस्या 

११ शवको पोष्टमार्टम सकियो, शव पहिचानमा समस्या 

काठमाडौं । त्रिभुवन विमानस्थलमा सोमबार दुर्घटनामा परी मृत्यु भएकाहरुमध्ये मंगलबार बेलुकासम्म ११ जनाको मात्रै पोष्टमार्टम सकिएको छ । अधिकांश जलेको अवस्थामा रहेकाले पहिचानमा समस्या भएको छ ।

मंगलबार त्रिवि शिक्षण अस्पतालमा फरेन्सिक विभागले गरेको पत्रकार सम्मेलनमा मंगलबारसम्म ११ जनाको पोष्टमार्टम गरिएको जानकारी दिइएको छ । फरेन्सिक विभागका प्रमुख डा. प्रमोद श्रेष्ठले ११ जनाको पोष्टमार्टम भए पनि धेरैजसो शव चिन्नै नसक्ने अवस्थामा रहेको जानकारी गराए ।

उनले भने, “जम्मा ४ टोली बनाएर काम गरेका छौं । एउटा टोलीले प्रहरीसँग मिलेर मृतकको कपडा र गरगहना चिन्ने काम गरिरहेको छ भने अर्को टोलीले मृतकको विवरण तयार गरिरहेको छ । बाँकी रहेको २ टोलीले पोस्टमार्टम गरिरहेको छ ।”

स्वदेशी र विदेशी नागरिक रहेकाले सबै प्रक्रिया पूरा गरेर पोष्टमार्टमको काम गरिसक्न थप ५ दिन लाग्ने उनले जानकारी दिए । “जलेको अवस्थामा रहेकाले शव पहिचान गर्न नसकिने अवस्था छ,”   डा.श्रेष्ठले भने, “अहिलेसम्म फरेन्सिक विभागमा ४९ वटा शव आएको छ जसमा ८ वटा शव केएमसी अस्पतालबाट आएकाको मात्र नाम खुलेको छ भने अन्य ४१ जनाको केही पहिचान हुन सकेको छैन ।”

शव जलेकाले दाँत, कपाल र आवश्यक परिस्थितिमा डीएनएसमेत परीक्षण गर्नुपर्ने उनले बताए ।

तपाईंको मत