एजेन्सी । इंग्लिश मिडफिल्डर तथा म्यानचेस्टर युनाइटेडका कप्तान माइकल क्यारिकले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने भएका छन् । ३६ बर्षिय मिडफिल्डर क्यारिकले सिजनको अन्त्यबाट अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका हुन् ।
च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेग खेल अघिको पत्रकार सम्मेलनमा बोल्दै क्यारिकले सन्यासबारे बताएका हुन् । स्पेनिस क्लब सेभियाविरुद्धको खेलअघि कप्तान क्यारिकले भने, “जब एक समय आउँछ, तपाईँले मन पराउनुहुन्छ वा हुन्न तर, तपाईँको शरीरले तपाईँलाई बताउँछ, यो रोक्ने समय हो, म जहाँ छु त्यो तपाईले स्वीकार गर्नु भएको छ ।”
मिडफिल्डर क्यारिकले गत सेप्टेम्बरबाट फुटबल खेलेका छैनन् । यो सिजन क्यारिकले मात्र ४ खेल खेलका छन् । मुटुको धड्कन असामान्य हुन थालेपछि क्यारिक मैदान बाहिर रहँदै आएका छन् । पछिल्लो समय उपचार गराइरहेका क्यारिकले मुटुको समस्याकै कारण सन्यास लिने घोषणा गरेको बीबीसीले जनाएको छ ।
तर, कप्तान क्यारिकले यो सिजनको केहि खेल आफुले खेल्न सक्ने बताएका छन् । आफु फिट रहन अभ्यास गरिरहेको बताउँदै क्यारिकले भने, “जब मुटुको मुद्दा आयो, मैले दुई तीन दिन सोचे म के गरिरहेको छु । म पुन: फिट हुनेछु र मैले आफ्नो सर्तहरुको अन्त्य गर्नेछु ।”
युनाइटेडमा १२ बर्ष बिताएका क्यारिकले सन्यास पछि युनाइटेडमै प्रशिक्षकको भूमिका निभाउने डेलिमेलले जनाएको छ । वेष्ट ह्याम युनाइटेडबाट फुटबल करियर सुरुवात गरेका क्यारिकले सन् २००४ देखि ६ सम्म टोटनह्यामबाट खेलेका थिए । सन् २००६ मा टोटनह्यामबाट क्लब आएका क्यारिकले त्यसयता निरन्तर युनाइटेडबाट खेलिरहेका छन् ।
क्यारिकले १२ बर्षको बसाईमा युनाइटेडबाट ४६३ खेल खेल्दै २४ गोल गरेका छन् । क्यारिकले युनाइटेडबाट ५ पटक इन्ग्लिश प्रिमियर लिग, १ पटक च्याम्पियन्स लिग, ३ पटक लिग कप उपाधि जितेका छन् । त्यस्तै क्यारिकले समान एक एक पटक युरोपा लिग, एफए कप र क्लब विश्वकपको उपाधि चुमेका छन् ।
सन् २००१ मा इंग्ल्यान्डको टोलीमा डेब्यु गरेका क्यारिकले राष्ट्रिय टोलीबाट ३४ खेल खेलेका छन् ।