काठमाडौं । मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निर्माण कार्य थालिएको लामो समय भइसक्दा पनि निर्माण कार्यले गति लिन सकेको छैन । २०७१ सालदेखि निर्माण कार्य अघि बढे पनि मैदानमै पर्ने करिब ५२ आनाको मुआब्जा वा जग्गा नै उपलब्ध गराउने सम्बन्धमा कुरा नमिल्दा निर्माण कार्यले गति लिन नसकेको हो ।
मुआब्जा विवाद समाधानतर्फ सरकारी उदासिन्ताले गर्दा निर्माणाधिन अवस्थामा रहेकोे अन्तर्राष्ट्रिय क्रिकेट मैदानले गति लिन नसकेको हो । तर, मूलपानी अन्तराष्ट्रिय क्रिकेट मैदान निर्माण कार्यमा सुस्तता आउनु युवा तथा खेलकुद मन्त्रायलकै कमजोरीका कारण भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दाबी गरेको छ ।
मैदानमा पर्ने ५२ आना जग्गाको विवाद छिनोफानो गर्न मन्त्रालयले तदारुकता नदेखाएको राखेप सदस्य सचिव केशव कुमार विष्टले आरोप लगाएका छन् ।
मन्त्रालयले काम गरेन
राष्ट्रिय खेलकुद परिषद् आफैंले निर्माण कार्य थालेको मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदान विवादमा रुमलिएसँगै राखेप यतिबेला चुप छ । लामो समयसम्म पनि ५२ आना जग्गाको विवाद मिलाउन नसकेको राखेप अहिले सरकारको मुख ताकेता गरिरहेको छ ।
जग्गा विवाद कहाँ पुग्यो भन्ने प्रश्नमा राखेपका सदस्य सचिव विष्टले सबै काम मन्त्रालयले अड्काएको बताए । सदस्य सचिव विष्टले भने, “सबै कुराहरू मन्त्रालयले काम नगरेर भएको हो । जग्गाको सट्टापट्टा गर्ने या मुआब्जा दिने भन्नेबारे मन्त्रालयले मन्त्रीपरिषद्मा लगेर पास गर्नुपर्ने हुन्छ । तर, फाइल मन्त्रालयमै अड्किएको छ ।”
विष्टले थपे, “मुआब्जा दिने भनेर हामीले प्रतिआना ५ लाख दिने भनेर निर्णय पनि गरेका थियौं । तर उहाँहरू मान्नु भएन । उहाँहरूले थोरैमा १० लाख आनाको दरले पाउनुपर्ने माग राख्नु भएको थियो । अब बढाएर दिने अधिकार हामीलाई हुँदैन । त्यो क्याविनेटले गर्छ ।”
विष्टका अनुसार अहिले निर्माण कार्य रोकिएको छ । दोस्रो चरणको टेन्डर आह्वान पनि भएको छैन । सदस्य सचिव विष्टले मन्त्रालयलाई प्रश्न उठाउँदै भने, “महालेखाले विवाद अन्त्य नभएसम्म कार्य अघि नबढाउनु भनेको छ । अब नियम भन्दा बाहिरबाट चल्नु भएन । काम नहुनुको मुख्य कारणचाहिँ जग्गाको विवाद नै हो । यो हाम्रो अधिकारमा परेन । यो नेपाल सरकारले निर्णय गर्ने हो ।”
यता, युवा तथा खेलकुद मन्त्री राजन केसीले भने सबै काम अन्तिम चरणमा पुगेको बताए । मन्त्री केसीले भने, “साउथ एसियन गेम्सलाई भनेर अर्थ मन्त्रालयबाट करिब १ अर्ब बजेट विनियोजन भएको छ । त्यो बजेटअन्तर्गत नै मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण कार्य भइरहेको हो । जग्गाको मुआब्जाभन्दा जग्गा सट्टापट्टामा कुरा अघि बढेको छ ।”
जग्गा सट्टापट्टाको कुरा क्याबिनेटमा लैजाने तयारी भइरहेको बताउँदै उनले प्रक्रियागत कुराहरू टुंगिएकाले निर्माण कार्य अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
त्यसो त सरकारले जग्गाको विवाद अन्तिम चरणमा पुगेको करिब २ वर्षदेखि बताउँदै आएको छ । तर, सरकारले जग्गा धनीलाई मुआब्जा दिने वा जग्गाको बदला जग्गा नै उपलब्ध गराएर स्थानान्तरण गर्न सकिरहेको छैन ।
पहिलो चरणको निर्माण ठेक्काअनुसार अहिलेसम्म मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानको प्याराफिटतर्फको ३ वटा ब्लक बनेको छ । त्यस्तै, मैदान सम्याउने काम भएको छ । मैदानकै केही भागमा व्यक्तिगत जग्गाको विवाद समाधान नहुँदा त्यो काम पनि अधुरै रहेको छ ।
२०७१ सालमा टेण्डर आह्वान गरेर निर्माण कार्य अघि बढेको यो रंगशाला अहिलेसम्म पहिलो चरणको काममात्रै सम्पन्न भएको छ । प्रेरा मुन्ना एण्ड आचार्य जेवी कम्पनीले गत वर्षमा नै सक्नुपर्ने थियो । तर, विभिन्न कारण देखाउँदै ठेकेदार कम्पनीले करिब डेढ वर्षभन्दा बढी समय लगाएर सम्पन्न गरेको हो ।
प्रेरा मुन्ना एण्ड आचार्य जेवी कम्पनीका प्रतिनिधी गणेश आचार्यले राखेपसँग आफ्नो निर्माण कार्य सकियो भनेर विल बुझाई सकेको बताए । मैदान सम्याउने र दुबो रोप्ने तथा ३ वटा ब्लग बनाउन १७ करोड ५१ लाखभन्दा बढी लागिसकेको छ ।
पटक–पटक समय थप्दा पनि सकिएन काम
२०७१ सालमा काम सुरु गरेको प्रेरा मुन्ना एण्ड आचार्य जेभी कम्पनीले २०७३ साल असार मसान्तसम्ममा रंगशाला बनाइसक्नु पर्ने थियो । तर, विभिन्न कारण देखाउँदै ६ महिना समय थप गरिएको थियो । ६ महिनाको समयभित्र पनि नसकेपछि पुनः ६ महिना समय थप गर्दै २०७४ असार मसान्तभित्र बनाइसक्ने राखेप र ठेकेदार कम्पनीबीचमा सहमति भएको थियो ।
तर, असार मसान्तसम्ममा निर्माण कार्य नसकेपछि फेरि ३ महिना समय थप गर्दै असोज मसान्तभित्र पहिलो चरण अन्तर्गतको मैदान सम्याउने र ३ वटा प्याराफिटको ब्लक बनाउने कार्य सक्नुपर्ने सहमति भएको थियो ।
पटक पटकको समय थप गर्दा पनि निर्माणकार्य नसकेको ठेकेदार कम्पनीले अहिले प्याराफिटमा रङ लगाउने कार्य गरिरहेको छ । अब हस्तान्तरण गर्नमात्रै बाँकी रहेको ठेकेदार कम्पनीले थप गरिएको अन्तिम समयभन्दा करिब ३ महिनापछि सक्न लागेको हो ।
के थियो गुरुयोजना ?
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को स्वामित्वमा रहेको मूलपानी क्रिकेट मैदानको गुरुयोजना आईसीसीका प्रतिनिधिले तयार पारेका थिए । योजनाअनुसार मूलपानीमा रहेको करिब २ सय ९६ रोपनी जग्गामा खेलकुदका विशाल संरचना निर्माण हुनेछ । गुरुयोजना तयार पार्दा करिब २० हजार क्षमताको दर्शक आट्ने सुविधासम्पन्न अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने निर्णय भएको थियो ।
रंगशाला परिसरमै खेलकुदको प्रशासनिक कार्यालय, इन्डोर हल, होस्टेल, स्वीमिङ पुल, जिम हललगायतका विभिन्न भौतिक संचरना निर्माण हुनेछ । करिब ५ वर्षमा सम्पन्न गर्ने गरी अन्तर्राष्ट्रिय स्तरको रंगशाला बन्ने मास्टर प्लान बनेको थियो । तर, करिब ४ वर्ष बितिसकेको छ । योजनाअनुसारको सम्पूर्ण भौतिक संरचना निर्माण गर्नका लागि करिब ८० करोड लाग्ने तत्कालिन राखेपका सदस्य सचिव युवराज लामाको कार्यकालले अनुमान गरेको थियो ।
तर, अहिले पहिलो चरणको काम ३ वटा ब्लक बनाउन र मैदान सम्याउनमात्रै १७ करोड ५१ लाख लागेको ठेकेदार कम्पनी बताउँछ । तर योजनाअनुसारको कार्य भने १० प्रतिशत पनि भएको छैन ।