site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
१८ वर्षे किशोरको अठोट– काठमाडौं सफा गरेर छाड्छु
Sarbottam CementSarbottam Cement

बुधबार एक किशोर काठमाडौँको धुवाँ, धूलो र फोहोरबाट बिरक्तिएर बाह्रखरीको अफिसमा आइपुगे । 
ओठमा जुँगाको रेखीसमेत राम्रोसँग बसेको छैन, कलकलाउँदो ठीटो ।

तर उनको सपना भीमकाय छ, काठमाडौँलाई फोहोरबाट पार लगाइछाड्छु ।विगत एक महिनादेखि हातमा कुचो र पिठ्युँमा थुञ्चे बोकेर काठमाडौँका फोहोर बटुल्दै हिँडेका छन् । उनलाई थाहा छ– देशको मात्र होइन, फोहोरको समेत राजधानी भएको काठमाडौँ सजिलै सफा हुँदैन । “तीन करोड नेपालीको मन बदल्छु,” केपि खनाल अठोट व्यक्त गर्छन् ।

बिहीबार उनकै अगुवाइमा तीनकुनेदेख माइतीघर मण्डलासम्म सडक सफाइ कार्यक्रम भयो । पूर्वमन्त्री लालबाबु पण्डितदेखि विद्यार्थी नेतासम्मलाई सडकमा ओराले । काठमाडौंका मेयर, उपमेयरले पनि सफाइमा चासो देखाए । सयौँ किशोर–युवा हातमा कुचो र थुन्से लिएर निस्किए । यसैगरी सबै काठमाडौँबासी बदलिने उनको अठोट छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सफाइ व्यवस्थापनको भागदौडमा थिए उनी । तारन्तार फोनको घन्टी बजिरहने । व्यस्ताकै बीच बाह्रखरी आइपुगेका थिए, आफ्ना योजना सुनाउन ।

० ० ०

Global Ime bank

उनका जिन्दगीका अनेक किस्सा छन् । अछाम रामारोशन गाउँपालिका, साविक बाटुलासेन गाउँ विकास समिति हो, उनको पुख्र्यौली थातथलो तर उनी एक ढेड वर्षको हुँदै परिवार कैलाली झर्यो ।

परिवार अभावको आहालमा थियो । कैलाली झर्नुको मुख्य ध्येय थियो, दुःखबाट पार पाउने । शिक्षा–दीक्षा कैलालीमै भयो उनको । तर, पुख्र्यौली दुःखले हरबखत पिरोल्न छाडेन । सुरूमा कैलाली र बीचमा दुई वर्ष अछामसमेत गरी उच्च माध्यमिक तहको शिक्षा पूरा गरे उनले । 

र, भर्खरै नेपाल कमर्श क्याम्पस मीनभवनमा स्नातकमा भर्ना भएका छन् । सुदूरको पहाडी जिल्ला । रोजगारीका लागि भारत जानुपर्ने अभिशप्त नियति हो त्यहाँको । खेतखोरियामा खनजोत गरेर वर्षदिन चुल्हो तताउन मुस्किल भएपछि सुदूरका मानिस जुँगाको रेखी नबस्दै भारत पस्छन् र उमेरले डाँडा काटेपछि फर्कन्छन् । कतिको त भौतिक चोला उतै उठ्छ ।
त्यही नियति झेल्दैछ, उनको परिवारले पनि । उनी नजन्मँदै भारत पसेका बाबुआमा अझै उतै छन् ।  

“बुबा दश वर्षको उमेरमै भारत जानुभएको हो, बालश्रमिक भएर । पछि आमा पनि जानुभयो,” सम्झिए उनले । बालखैमा मातृपितृको माया–ममताबाट पृथक रहनुलाई उनले अभिशाप ठानेनन्, बरु सिकाइको माध्यम बनाए । र, आफूलाई समाजका दुःख–पीडासँग चिनापर्ची गराए । र, क्रमशः आफूलाई सामाजिक अभियन्ताका रूपमा विकास गर्दै लगे ।

० ० ०

सुदूरका निमुखाको सपना हो भारत । सुदूरका निर्जन पहाडमा बसेका निर्धनहरूको ठूलो उद्देश्य भनेकै भारत पसेर यायावरी गर्नु र जहानपरिवालाई दुःखबाट उकास्नु हो । ‘कालापहाड’ नगए दुःखमोचन हुँदैन ठान्छन्, कतिपय ।

भारत नै किन जान्छन् उनीहरू ? गाडी चढ्ने । रेल हेर्ने । सहरको झिलिमिली रूप र रङ्गबाट आस्वादित हुने । सामान्य सपनाको रखवारीले उनीहरू बत्तीको पुतली बनिरहेका छन् भन्छन् उनी ।

सरकारको रङ्ग कस्तो हुन्छ, सुदूरपश्चिमका पहाडी भू–खण्डका नागरिकलाई थाहा छैन । लाग्छ– सुदू्रपश्चिमसँग काठमाडौँ सहरको कुनै साइनो–सम्बन्ध छैन । नागरिकतामा बाहेक सरकारको उपस्थिति कतै छैन, उनीहरूको जीवनमा । ज्वरो आउँदा सिटामोलसमेत गाउँमा पाइँदैन । सामान्य ज्वरो बिग्रिएर अकालमै मृत्युको मुखमा पुग्ने कति छन् कति । गरिबी, अशिक्षा, अभाव, अविकास सप्पै सुदूरकै अंशमा परेको छ । 

ओठमाथि झुसिला रौँ देखा पर्न थालेपछि सुदूरका किशोरका मथिङ्गलमा सपना अंकुरण हुन थालिहाल्छ– भारत जाने । एकछाक, रूखो–पीठोसमेत खान पाउँदैनन् उनीहरूले । धन–सम्पत्ति कमाएर विलासी जीवन जीउने होइन, दुईछाक मीठो–मसिनो खाने सपना पूरा गर्न भारत जान्छन् । सपनाको कुम्लो बोकेर महाकाली तरेका उनीहरू बल, बैँस, उमेर रित्याएर स्वदेश फिर्छन् ।

“भारत गयो भने गोरो होइन्छ, मीठो खान पाइन्छ । बहादुर, लाहुरे भइन्छ,” बालवय दूर भएपछि उनीहरूको दिमागमा अमीट छाप बनिदिन्छ र भ्रूणको विकास हुन थाल्छ ।
यसबाट केपिसमेत प्रताडित बने । छुट्टिको समयमा भारत पुगिहाल्थे उनी ।

सामान्य जीवनयापनको सपनाको कुम्लोकुटुरो बोकेर भारत पुगेका किशोर–युवाहरू कसरी चङ्गुलमा पर्छन् भन्ने कुराको साक्षीसमेत बने उनी, केही समय ।
भाँडा माझ्ने, ढोकामा पाले बस्ने, कुचो लगाउने । यिनै थिए नेपालीले गर्ने काम ।

“बालखै थिएँ । मैले गर्ने काम पनि अरू के हुन्थ्यो । प्रहरीको अनुहार छलिछलि तिनै सुदूरका दाइभाइले गरेकै काम गरेँ,” केही समय भारतमा भाँडा माझे उनले ।
भारतीयका भाँडा मस्काएर भाग्य चम्किने छाँट नदेखेपछि उनको मन मरेर आयो र भारत बस्ने सपनासँग सम्बन्धविच्छेद भयो । मोह भंग भयो भनौँ ।

उनले एउटा किस्सा सुनाए–

त्यसबखत भारतीयहरूले नेपालीलाई ‘बहादुर’ भन्थे । “नेपालीहरू साँच्चै महशूर हुन्छन् कि क्या हो ?,” आफ्ना पिता–पुर्खाप्रति गर्वानुभूतिसमेत हुन्थ्यो उनलाई ।
“तर भररात जाग्राम बसेर, भोकै, अनिदै उनीहरूको घरद्वार कुरेकाले पो भारतीयहरूले नेपालीहरूलाई बहादुरको उपमा, इनाम थमाएका रहेछन्,” खिस्रिक्क परे उनी । बहादुरको निहीतार्थ थाहा पाएपछि एकमिनेट पनि भारत बस्न मन लागेन उनलाई ।

० ० ०
भारतको मोहसँग सम्बन्धविच्छेद भइसकेपछि काठमाडौँ जाने र सपनाको मलजल गर्ने आकांक्षाले पिरोल्न थाल्यो उनलाई । “काठमाडौँ सहर, हेर्न लाग्यो रहर,” गीतै सुनेर हुर्किएका थिए उनी ।

राज्यको उपल्ला तहमा रहेका मानिसहरू बस्ने ठाउँ । कुनै समय राजा बस्ने सहर । गोरा सुकिला मानिस । सफा र व्यवस्थित बाटोघाटो । चिल्ला गाडी, चम्किला सडक । काठमाडौँका अनेक काल्पनिक विम्बहरू उनका मस्तिष्कमा बुट्टासरह कुँदिएका थिए । तर थानकोटबाट ओह्रालो झर्नेबित्तिकै एकपछि अर्कोगरी विम्ब प्रतिस्थापन हुन थाले । काठमाडौँको धूलो, धुवाँले एकैदिनमा निसास्सिए उनी । इँट्टाभट्टाको चिम्नीभित्र पसेजस्तो पो भयो । काठमाडौँ सहर होइन, यो त चुरोटदानी थियो ।

“काठमाडौँ सोचेजस्तो सुन्दर र सफा छैन । बरु फोहोरको डंगुरजस्तो पो छ । काठमाडौँमा सडक त फराकिला छन् तर मानिसहरू संकीर्ण छन् । पेटी, नदीनाला जीर्ण छन् । दिनभरी सरकारलाई सराप्छन्, राति आफैँ बाटोमा फोहोर थुपारेर टोल दुर्गन्धित बनाउँछन्,” काठमाडौँका अनेक किस्सा कैलालीमै बस्दा नसुनेका होइनन् । तर, काठमाडौँ यति अव्यवस्थित र फोहोरको साम्राज्य होला भनेर उनले सायदै कल्पना गरेका थिए । काठमाडौँ नचिताएको कुरूप देखेपछि भरङ्ग भयो उनको मन ।

कैलालीमै रहँदा उनले सफाइका विभिन्न अभियान सुरू नगरेका होइनन् । नगरपालिकाका प्रमुख, उपप्रमुखलाई सडकमा ओह्रालेर आफ्नो दायित्वप्रति झक्झक्याएका थिए । सहर सफा राख्नु जनप्रतिनिधिको पहिलो जिम्मेवारी हो भन्दै कर्तव्यबोधसमेत गराएका थिए, थुप्रैपटक । थानकोटबाट काठमाडौँ छिरेकै दिन उनले प्रतीज्ञा गरे– काठमाडौँलाई सफा बनाएरै छाड्छु ।

र, सुरू भयो ‘क्लिन काष्ठमण्डप अभियान’

काठमाडौँ आएपछि उनी नयाँ बानेश्वरमा बस्न थाले । काठमाडौँका मानिसहरू देखेर कहालिए उनी । उनका सम्पर्कका केही युवा थिए । ती दिनभरि समृद्धिका ठूल्ठूला गुड्डी हाँक्थे । अरू देशका उदाहरण दिन्थे । र, यहाँका राजनीतिकर्मीले केही नगरेको गुनासो गर्थे । महानगरपालिकाले फोहोरसमेत उठाउन नसकेको तर रेल गुडाउने सपना पस्किएको भन्दै जनप्रतिनिधिको उछित्तो काढ्थे ।

तर, तिनै युवालाई साँझपख, सुनसान भएका बेला चोकचोकमा फोहोर फाल्दै गरेको अवस्थामा भेटे उनले । विरक्त लाग्यो उनलाई । “राज्यका कर्तव्यका बारेमा जानाकार, सचेत र कर्तव्यनिष्ठ युवा पंक्ति भेटेँ, अब त सहर सफा हुन्छ” भनेर सपनाको नौका विहार गरेका उनी साँझ नढल्कँदै निराश बने ।
उनले सोचे– सडकमा झाडु मारेर सडक सफा हुँदैन । मानिसको दिमागमै कुचो लगाउनुपर्छ ।

महानगरले फोहोर समयमै संकलन गर्नुपर्छ, स्वभाविक कुरा हो । तर हामीले जथाभावी फोहोर नफालेको भए सहर फोहोर नै हुने थिएन कि– उनले अभियानमार्फत बुझाउन खोजेको कुरा यत्ति हो ।

० ० ०
सफाइ जागरण अभियानकै क्रममा उनले अर्काथरी युवा पनि भेटे, जो युरोप, अमेरिका, अस्ट्रेलिया पढेर आएका थिए । उनीहरूको मगजमा त्यहाँका समृद्धिका अनेक आयाम संगृहित थियो । “आफूले खाएको चकलेटको खोल बगलीमा राखेर डस्टविनमा मात्रै खसाल्नुपर्छ । सडक त अनुहारको प्रतिछाया देखिएलाझैँ चम्किला हुन्छन् । सभ्य नागरिक, जिम्मेवार सरकार,” विदेशतिरका विभिन्न अनुभव सुनाउँथे ती । 

विडम्बना ! ती आफैँ गाडीको सिसाबाट फोहोर सडकमा फाल्थे । प्याच्चप्याच्च थुक्थे । तिनका ओहोदा, आर्जित अनुभव, ज्ञान, सीप । देखेका विश्व । शून्यप्रायः लाग्यो उनलाई ।
“तिनीहरूको मन, म मस्तिष्क र सोच बदल्ने अभियानसमेत हो यो,” खुइया.. काढ्दै अठोट व्यक्त गरे उनले ।

कुराकानीकै क्रममा उनले धेरै पटक दोहोर्याए, “म नबदलिएसम्म मुलुक बदलिँदैन !” आफूले आफैँलाई बदल्ने अभियानसमेत हो उनको ।

० ० ०
प्रायशः उनी माइतीघर मण्डला हुँदै बानेश्वर जान्छन् । माइतीघर मण्डला अहिले प्रदर्शन–केन्द्र बनेको छ । हक र अधिकारको पैरवी गर्ने थलो पनि । बिहान उदयाचलदेखि साँझ अस्ताचलसम्म अधिकारका ठूल्ठूला नारा लाग्छन् । मूल्यवृद्धिदेखि मेडिकल माफियाको विरुद्धसम्म आन्दोलनको ‘जेहाद छेड्ने’ ठाउँ हो त्यो । 

उनले गम्भीर प्रसंग उप्काए– त्यहाँ मानिसहरू अधिकारको वकालत गर्न जान्दछन् तर कर्तव्य भुल्छन् । माइतीघर मण्डला, बानेश्वर संसद् भवन छेउमा प्रदर्शनकारीले विरोध–प्रदर्शनपश्चात मिल्काएको पोस्टर, पम्प्लेट, हातैले बटुलेर फालेका छन् उनले ।

माइतीघर मण्डलामा प्रदर्शन नभएको दिन हुँदैन भन्दा हुन्छ तर आजसम्म माइतीघर मण्डलाई प्रदूषित बनाउने मात्रै आए, सफाइ गर्ने कोही भएनन् । सफाइ गर्नुपर्ने आवश्यकतासमेत बोध भएन कसैलाई ।

“अधिकारको खबरदारी गर्दा कर्तव्यको पाटो कसरी ओझेल पर्छ भन्ने प्रतीक बनेको छ माइतीघर मण्डला, हिजोआज,” उनको ठम्याइ छ ।
काठमाडौँ सहर प्रदूषणले ग्रस्तमात्रै बन्दैछैन, ठूल्ठूला रोग निम्त्याउने कारक पनि बनेको छ । यो क्रम नरोकिने हो भने हामीभन्दा तलका पुस्ता बस्नै सक्दैनन् । वागमतीझैँ सहर निर्जीव बन्छ ।

तर, फोहोरको डंगुरमा नाक थुनेर हिँड्छौं, सफाइका लागि तत्पर हुँदैनौँ । फोहोर नगरे सफाइमा खटिनै पर्दैन भन्ने सामान्य जानकारीबाट पनि कोसौँ टाढा छौँ हामी । यही विषमतलाई बदल्न उनी कम्मर कसेर लागेका हुन् ।

० ० ०
१८ वर्षे किशोर । सपनाको रथमा सवार छन् उनी । अभियानका समर्थक, शुभेच्छुकले हमेसा घच्घच्याइरहेका छन् उनलाई । “तिमी परिवर्तन र खबरदारीको प्रतीक बन्नुपर्छ,” समाजिक सञ्जालमा फलोअर बढिरहेका छन् । र, देशविदेशबाट हौसला आइरहेको छ ।

तथापि उनलाई सफाइको ‘आइकन’ बन्नु छैन । न युवा पुस्ताको ‘रोलमोडल’ नै बन्नु छ । केवल काठमाडौँ सफा भएको हेर्ने सफेद आकाङ्क्षा छ उनको ।
अभियान सुरू भएपछि रातभर जाग्राम बसेर उनले बानेश्वरको सडक सफा गरेका छन् । आज सफा गर्यो, भोलि उत्तिकै फोहोर हुन्छ, सुरूआतमा हैरान भए उनी । अहिले त्यसमा विस्तारै परिवर्तन आउँदैछ ।

“सरकारले नसकेको, दुईचार दिन, दुईचार जनाले हातमा कुचो लिएर निस्कँदैमा सडक सफा होला र ?,” हँसी–मजाकसमेत गर्छन् कतिपय ।
ओठमा जुँगासमेत राम्ररी नपलाएको, किशोर चेत । सिंगै काठमाडौँ सहरको फोहोर तह लगाउने सामथ्र्य त कसरी राख्थ्यो र ! तथापि “प्रयत्न गरेको छ” भनेर हौसला दिने मानिससमेत भेट्न मुस्किल छ सहरमा । 

“सहरबासीलाई सफाइको चेतना जगाउन सक्छु कि ? सहरबासीको मन बदल्न सक्छु कि ?,” सपाट उद्देश्य बताउँदै कुराकानीको पयो गाँठो पारे केपिले ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २७, २०७४  १२:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC