काठमाडौं । नेपाल एपीएफ क्लबका एलेक्स महर्जन र संयोग कपाली हुवाइ नोभा टु आई इम्पेक्ट ठमेल ओपन टेबलटेनिस प्रतियोगिताको यु–१६ ब्वाइज सिंगल्समा बुधबार फाइनलमा प्रवेश गरेका छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको सेमिफाइनलमा एलेक्सले याला स्पिनका डिकेन महर्जनलाई ४–३ तथा संयोगले नेपाल आर्मी क्लबका बोधित डिसीलाई ४–१ को सेटमा पराजित गरे ।
सोही स्पर्धाको गल्र्समा आर्मीकी दीक्षा दाहालले एपीएफकी अन्जु सुवाललाई ४–३ तथा वज्र युनियनकी स्मृति पन्तले पिङपोङ स्टारकी मारिया थापा मगरलाई ४–१ ले हराउदै फाइनलमा स्थान सुरक्षित गरे ।
महिला सिंगल्समा राष्ट्रिय च्याम्पियन प्रहरीकी नविता श्रेष्ठले ४ खेलमा जित हात पारिन् भने उनकी सहोदर नन्द एलिना महर्जनले ह्याट्रिक जित दर्ता गरिन् ।
नविताले आर्मीकी स्वेच्छा नेम्वाङ र प्रहरीकी यशस्वी अवाललाई समान ३–० तथा प्रहरीकी सोनु थापा मगर र आर्मीकी दीक्षा तामाङलाई समान ३–१ को सेटमा पन्छाइन् । समूह चरणको खेलमा भने नविता दीक्षासंग पराजित भएकी थिइन् ।
९ खेलाडी सहभागी महिलाको सुपर लिगमा अब प्रत्येक खेलाडीले २–२ खेल खेल्न बाँकी छ । त्यस्तै १२ खेलाडी सहभागी पुरुष सिंगल्सको सुपर लिगमा ६ चरणका खेल सम्पन्न भएको छ ।