site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
लाटाको छोरो र अश्वत्थामा
Sarbottam CementSarbottam Cement

– प्रमोद प्याकुरेल


आफ्नो गाउँका मान्छे, अझ विशेषगरी बाल्यकालका साथीसँग भेट्न पाउँदा छुट्टै आनन्द आउँछ । शहरी भीडभाड र बनावटी सम्बन्धहरूमा रुमलिएको मजस्तो मान्छेमा अक्सर त्यस्तो भेटघाटको लालसा रहिरहन्छ । सबै तनावहरू भुलेर आनन्दसँग गफिन पाउँदा मन चंगा हुन्छ । आज दिउँसो अफिसमा हरि आएको थियो । हरि मेरो बाह्रखरी पढ्दादेखिको साथी । हिन्दी उखानको लँगौटिया यार । गाउँकै माविमा हेडमास्टर छ । बिहानै फोन गरेर मलाई भेट्न आउने कुरा बताएको थियो । अफिस पुगेर २ बजेपछिका सबै औपचारिक भेटघाटहरू स्थगित गर्ने आदेश दिएँ । हरि समयमै आइपुग्यो । खुब मजाले गफियौँ । धमिलिन लागेका बाल्यकालीन सबै स्मृतिहरूलाई उजिल्याउने काम भयोे । हरिले छुट्टिने तयारी गर्दैगर्दा मैले सोधैँ, “किरणको के छ नि खबर ?”

एकैछिन सोचमग्न भयो, “ए ! लाटाको छोरो ?” उसले मतिर विस्मित हेराइ हेर्दै भन्यो, “ल ... ! थाहा छैन ? बित्यो त बिचरा । दुई महिना भैसक्यो । सुगरको रोगी । औषधी खाने, मुख बार्ने नभएपछि ... ।”

Prabhu Bank
Agni Group
NIC Asia

किरणको गाउँले नाम हो, ‘लाटाको छोरो’ । गाउँमा उसलाई वास्तविक नामले कसैले बोलाएन । धेरैलाई थाहै पनि नहोला । थाहा भएका हामीले पनि उसलाई सधैँ त्यसै भनिरह्याैँ । तर, काठमाडौं बसाइका क्रममा कमसेकम उसका अगाडि वास्तविक नामले नै सम्बोधन गथ्र्यौं हामी ।

घर पुगेँ । मन भारी भैरह्यो । किरणका नाममा आजको छाक छोड्ने इच्छा थियो । अनितालाई भन्ने आँट भने भएन । मैले पटक–पटक अनिताका अगाडि किरणको नाम लिएको छु । सिधै किरणका नाममा छाक छोड्छु भन्दा पक्कै झम्टिन्छे । भन्छे, “आफन्तको जूठोमा दुई–चार दिन रक्सी त छोड्न नसक्नेको मनमा गाउँको दलितप्रति कसरी त्यत्रो सद्भाव ?”

Global Ime bank

जूठो बार्नु भनेको शोक मनाउनु हो । जसको मृत्युले शोकाकुल बनाउन सक्दैन, उसका लागि नून छोड्नु, मनोरञ्जन छोड्नु सबै ढोङ हो । म आज साँच्चै नै शोकमा छु तर लाचार छु । आफ्नो शोक व्यक्त गर्न सक्दिनँ । अनिता त के– हरिलाई पनि बताउन सक्दिनँ मेरो पीडा र अपराध । मनको पीडा भुलाउने कुनै औषधि बनेको छैन । मेरो मनको बह बिसाउने चौतारो कतै बनेको छैन । यो बहको भारी बिसाउन म चितामै पुग्न पर्नेछ ।

अष्ट चिरञ्जीवीमध्येका एक अश्वत्थामा । अजम्बरी । निधारमा मणि लिएर जन्मिएका । महाभारतको लडाइँमा कौरव पक्षको हार सहन नसक्दा रन्थनिएका थिए । सुतेका पाँच पाण्डवलाई सिध्याउन हतियार चलाए । त्यहाँ पाण्डव नभएर उनीहरूका छोरा सुतेका थिए । पाण्डवका पाँचै भाइ छोरा मारिए । रिसाएका श्रीकृष्णले सजायस्वरूप अश्वत्थामाको निधारको मणि काटेर निकालिदिए । श्राप पनि दिए, “तेरो निधारको यो घाउ कहिल्यै निको हुनेछैन । निधारबाट पीप र रगतको धारा बगाउँदै दुखेको घाउ लिएर धर्तीको यो कुनाबाट ऊ कुना भौतारिई रहनेछस् ।”

तर, मैले गरेको अपराध कसैले पत्तै पाएन । न त्यहाँ श्रीकृष्ण थिए, न त मेरो निधारमा मणि । त्यो द्वापरयुग पनि थिएन, कलियुग थियो । दण्डहीनता मौलाइरहेको समाजमा मैले दण्डित हुनु परेन, बरु पुरस्कृत भएँ । त्यही अपराधबाट शुरु भएको थियो आजको मेरो प्रगतिपथ । त्यही प्रगतिपथमै भेटिएका थिए, मलाई छोरी पत्याउने काठमाडौंका कथित खान्दानी । आजको वैभव, धनसम्पत्ति, मानप्रतिष्ठा सबै त्यही अपराधको बीउबाट सिर्जित कमाइ थिए ।

अनिता अझै आइपुगेकी थिइन । ढोका थुनेर चुकुल लगाएँ । हल्लिने कुर्सीमा आधा सुतेर आँखा चिम्लिएँ । बन्द भएका आँखाका ढकनीमा मेरा विगतका स्मृतिहरू चलचित्र बनेर चल्मलाउन लागे ।

लाटो कामीलाई अधिकांश गाउँलेहरूले कमाएका थिए । गाउँभरिका कुटा, कोदाला, हँसिया र खुर्पालगायतका सबै घरेलु हतियारहरू उसैले बनाउँथ्यो । आवश्यक फलामबाहेक उसले ज्याला पाउँदैनथ्यो । ज्यालास्वरूप प्रत्येक बाली भित्र्याउने बेला धान, मकै गहुँ, कोदो, आलु आदि पाउँथ्यो । चाहे त्यो वर्ष कसैले काम नै नलगाएको होस्, प्रत्येक धुरीले दिनै पथ्र्यो । दशैंमा काटिएको खसी बोकाका गर्दनको सानो चोक्टामा पनि उसको अधिकार सुरक्षित थियो । हामीहरू सकेसम्म अन्नका सेप्रिएका दानाहरू नाङ्लोमा निफनेर उसका लागि छुट्याउँथ्यौं । खुम्रे लागेका आलु छानेर पाथी भरिन्थ्यो । खसीको घाँटीको चोक्टाको अधिकांश भागमा छाला र हड्डी तथा अलिअलि कतैकतै मात्र रातो फल मासु देखिन्थ्यो ।

लाटो कामी पूरै लाटो थिएन, लठेब्रो मात्र थियो । पेटको पूरै बाठो । उसको एउटा छोरो थियो । मभन्दा दुई चार वर्ष कान्छो । ऊ बाबुसँगै गाउँ डुल्थ्यो । सबैले लाटाको छोरो भन्थे । लाटो कामीले काला अक्षरको शक्ति राम्रोसँग बुझेको थियो । उसले आफ्नो छोरालाई आरनको परिधिभित्र अल्झाएर राखेन । हुन पनि लाटाको छोरो पढाइमा अब्बल थियो । उमेरभन्दा अघिअघि थियो उसकोे पढाइ । एसएलसी मभन्दा दुई वर्षपछि पास भयो । म गाउँको गन्यमान्य थरीको छोरो । पढ्न काठमाडौं बसेको थिएँ । लाटाको छोरो आइए पढ्न सदरमुकाममा भर्ना भए पनि क्यम्पस गएन । गाउँकै माविमा पढाउन थालेको थियो । एकैपटक परीक्षामा मात्र सहभागी भए पनि राम्रो अङ्क ल्यायो । बीए पढ्ने व्यवस्था भने सदरमुकाममा थिएन । आईएकै पारामा परीक्षा दिनमात्र काठमाडौं आउँथ्यो । गाउँमा हल्ला नगर्ने शर्तमा उसलाई हामी काठमाडौंमा आश्रय दिन्थ्यौँ । ऊ आएपछि हामीलाई हाइसन्चो हुन्थ्यो । खाना बनाउने, लुगा धुने, भाँडा माझ्ने सबै काम उसैले गथ्र्यो । गाउँमा भने कुनै दलितलाई छोएपछि हामी छोइछिटो हाल्थ्यौँ ।

मेरो अंग्रेजी सानैदेखि कमजोर । म ब्याक पेपरमा अल्झिएको थिएँ । लाटाको छोराले बीए अन्तिम परीक्षामा मलाई भेट्टायो । मेरो तयारी अझै कमजोर नै थियो । आफूभन्दा कम उमेरको गाउँकै दलित केटोले मलाई उछिन्दै थियो । आफूले गर्न नसकेको प्रगतिले भन्दा गाउँकै दलितको सामुन्ने उपहास हुने डरले सताउँदै थियो मलाई ।

हामी दुवैको परीक्षा दिने कोठा एउटै प¥यो । एक अर्कामा खासखुस कानेखुसी भने गर्न नमिल्ने दूरी हामी दुईबीच कायम थियो । लाटाको छोरो आफ्नो प्रतिभालाई कलमका माध्यमबाट उत्तरपुस्तिकामा धमाधम उतार्दै थियो । म भने प्रश्नपत्रमै अल्झिरहेँ । उत्तरपुस्तिका र प्रश्नपत्रलाई भन्दा धेरै धमाधम लेखिरहेको लाटाको छोरोलाई हेरेँ । मेरो अवस्था भोट गन्न बसेको त्यस्तो उमेदवारको जस्तै थियो, जसले आफ्नो जमानतसमेत जोगाउन नसक्ने गरी भोट पाएको थियो । ऊ समय सकिनुभन्दा अगाडि नै कापी बुझाएर निस्कियो । मेरो सामुन्ने कापीहरूका चाङमाथि बसेर त्यो कापीले मलाई गिज्याउन थाल्यो । ट्याङ्ग घण्टी बज्यो ।

“ल, कापीहरू मिलाउनुस् है अब ! स्ट्यापलर गरिहाल्नुस् । पन्ध्र मिनेट मात्रै बाँकी छ,” गार्डले सचेत गरायो ।

सबै जना हतारिए । गार्ड स्ट्यापलर बोकेर प्रत्येकका कापी सिउन थाल्यो । पाँच–सातवटा कापी के सिलाएको थियो, त्यसमा पिन सकियो । ऊ दौडिएर पिन लिन गयो । दुई मिनेटभित्रै फर्कियो । त्यही दुई मिनेटले मेरो र लाटाको छोराको भाग्य साटासाट गरिदियो । सबै आ–आफ्नै ध्याउन्नमा थिए । मैले उसको कापी फुत्त तानेँ । दुवै कापीका पिन छुटाएँ । कापीको बाहिरी बोक्रो यथावत् राखेर भित्री भाग एक–अर्कामा साटफेर गरिदिएँ । उसको कापीलाई पिनले सिलाउन समेत आवश्यक ठानिनँ । त्यत्तिकै राखिदिएँ । मेरा लागि सुवर्ण युगको ढोका उघार्ने त्यो दुई मिनेट सक्काएर आइपुगेको गार्डलाई आफ्नो कापी स्ट्यापलरको पिनले सिलाउन लगाएँ । म प्रफुल्ल मुद्रामा निस्किएँ ।

म ढुक्क थिएँ । परीक्षा सकेको भोलिपल्टैबाट म जागिरका लागि नेताका दैलो चहार्न थालेँ । राम्रो अङ्क ल्याएर पास भएँ । लाटाको छोरो निन्याउरो मुख लगाएर हाम्रो डेरामा आइपुग्यो ।

“एकपटक रिटोटलिङ गर्नुप¥यो दाइ !” झिनो आशाको त्यान्द्रो समात्यो ।

“ह्या मुला ! रिटोटलिङको निवेदन त रद्दीमा फालिदिन्छ । पैसाको मात्रै नाश । अर्को साल पास भैहाल्छस् नि छोड्दे !” हामीमध्ये कसैले भन्यो ।

टेबुलमा बसेर संस्थानको जागिरका लागि निवेदन लेख्दै थिएँ म । झ्यालमा बसेर टोलाइरहेको उसलाई हेरेँ । हामीतर्फ हेर्दै नहेरी बिस्तारै बोल्यो, “हो र दाइ ?”

ऊ सधैं झ्यालमा बसेर टोलाइमात्र रहन थाल्यो । काम पनि केही गर्दैनथ्यो । भोकप्यास केही व्यक्त गर्दैनथ्यो । दिए खाइहाल्थ्यो ।

“यसलाई गाउँ पठाइदिनुपर्‍यो । गाउँको स्वच्छ हावापानी पाएपछि फ्रेस हुन्छ ।” हामीले निष्कर्ष निकाल्यौँ । गाउँको बस चढाएर पठाइदियौँ । तर, ऊ त्यस दिन गाउँ नै पुगेनछ । धेरै पछि मानसिक सन्तुलन गुमेको अवस्थामा कसैले भेट्टाएर गाउँ पुर्‍याइदिएछ । पछि गाउँबाट आउनेले खबर लिएर आउँथे । दिउँसभरि आँगनको डिलमा टोलाएर बस्छ । सामुन्नेबाट जो हिँडे पनि बिस्तारै बर्बराउँछ, “रिटोटलिङ गर्नुपर्‍यो दाइ !”

लाटो कामीको आफ्नै धारणा थियो रे, “बाहुनहरूले पढेको विद्या दलितले पढे बौलाउँछ भन्थे ! हो रहेछ, गल्ती मेरै हो ।”

धेरै पछि यसपाला दशैंमा गाउँ गएको थिएँ । अनिता र केटाकेटीहरू पनि सँगै थिए । टीका लगाइसकेपछि केटाकेटीलाई आफ्नो थातथलो देखाउने विचारले गाउँ डुलाउन निस्किएँ । बाटोमाथि डिलमा टुक्रुक्क बसेको रहेछ, लाटाको छोरो । सुगरले सुकेर चिन्न नसकिने लठ्ठीजस्तो । निधारमा रातो टीका, नयाँ ढाकाटोपी र कन्चटका बीच सिउरिएका पहेंला जमरा । छातीमा अंग्रेजीमा ‘बिइङ ह्युमन’ लेखिएको नयाँ टिसर्ट र नयाँ नै पाइन्ट लगाएको थियो । तर, पाइन्टको मथिल्लो भाग भने घुँडामाथिसम्म सारिएको थियो । प्रष्ट बुझिन्थ्यो, ऊ दिसा बस्दै थियो । केटाकेटी मरीमरी हाँस्न थाले । मैले गाली गरेँ । अनिताले अनुहारका भावबाट मलाई साङ्केतिक प्रश्न गरी । हामी नजिकै पुगेपछि ऊ बर्बरायो, “रिटोटलिङ गर्नुपर्‍यो दाइ !”

म आज आएर बुझ्दैछु । चिरञ्जीवी कहिल्यै मर्दैनन् । अश्वत्थामा पनि मरेको छैन । यहीँ यतैकतै भौँतारिइरहेको छ । शायद म नै हुँ त्यो पापी अश्वत्थामा । किरणप्रति गरेको महापापको प्रायश्चित्तमा कतिखेर आँखा रसाएछन् पत्तै पाइनँ । गाला हुँदै बगेका आँसु अलि बाक्लो भएर गन्हाइदिए हुने जस्तो लाग्यो । म चाहन्थेँ मेरो आँखा भतभती पोलोस् । कुहिएर पीप बगोस् । मलाई कसैले दण्डित गरोस् । तर, यो असम्भव थियो । गाला पुछेर हातलाई हेरेँ । त्यहाँ सफा आँसु थियो । त्यसलाई अविरल नै बग्न दिएँ । अविरल आँसु बगाएर पाप पखाल्ने असफल प्रयास गरिरहेँ ।

(जोरपाटी, काठमाडौं)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ३१, २०७४  ०८:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC