काठमाडौं । कीर्गिस्तानको बिस्केकमा भएको ११ औं एसियाली क्याडेट तथा १८ औं एसियाली जुनियर जुडो च्याम्पियनसिपमा कांस्य पदक विजेता मनिता श्रेष्ठ प्रधान नगदसहित सम्मानित भएकी छिन् । मनितालाई सोमबार उनकै विद्यालय बाल विकास माविले नगदसहित सम्मानित गरेको हो ।
मनितालाई रानीवनस्थित आफू अध्ययनरत बिद्यालय बाल विकास माविले नगद १५ हजारसहित सम्मान गरेको हो । मनितालाई एक कार्यक्रमकोबीच नेपाल जुडो संघका उपमहासचिव एवम् बन्दी सहायता नियोग (पाम) का जुडो प्रशिक्षक सूर्य श्रेष्ठले विद्यालयको तर्फबाट नगद १५ हजार हस्तान्तरण गरेका थिए । मनिताले पाम डोजोबाटै जुडो खेल्न सिकेकी थिइन् ।
गत शनिबार बिस्केकमा भएको च्याम्पियनसिपमा जुनियर महिलाको ५७ केजीमुनि भारत, उज्वेकिस्तान र ताजकिस्तानका खेलाडीलाई पराजित गर्दै मनिताले कास्य जितेकी थिइन् । उक्त पदक मनिताको करियरको छैटौं अन्तर्रा्ष्ट्रिय पदक समेत हो । भारतमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) की रजत विजेता मनीताले २००९ सालदेखि जुडो खेल्न सुरु गरेकी थिइन् ।
यस्तै मनीता सिनियर एसियाली स्तरको प्रतियोगितामा एक ‘बाउट’ जित्ने पहिलो नेपाली महिला जुडो खेलाडी पनि हुन् । गत जेठमा हङकङमा भएको एसियाली सिनियर जुडो च्याम्पियनसिपमा एक ‘बाउट’ जित्दै मनीता सो इतिहास रचेकी थिइन् ।
आफ्नै विद्यालयबाट सम्मानित भएपछि बोल्दै मनिताले सम्मानले भविष्यमा अझ राम्रो गर्न हौसला मिलेको र आगामी प्रतियोगितामा अझ राम्रो नतिजा ल्याउन प्रेरणा मिलेको बताइन् । यस्तै मनिताले आफ्नो व्यक्तिगत र खेल जीवनलाई यो अवस्थासम्म ल्याउन सहयोग गर्ने संस्था पामका साथै सबैलाई धन्यवाद दिदै आभार प्रकट गरिन् ।
सम्मान कार्यक्रममा बिल्दाओ विद्यालयकी प्रिन्सिपल मैयादेवी मल्लले मनिताको सफलताले सम्पूर्ण विद्यालय परिवार गौरवान्वित भएको बताउदै आगामी दिनमा अझ सफलताका लागि शुभकामना दिइन् । त्यस्तै मनितालाई सुरुआतदेखि जुडो सिकाइरहेका पामका प्रशिक्षक सूर्य श्रेष्ठले पाम, विद्यालय र जुडोलाई मात्र नभइ मनिताले सिंगो राष्ट्रको शिर उचो बनाएको बताए ।