काठमाडौं । सबैलाई थाहै छ । अहिले अन्यजस्तै खेल क्षेत्र पनि प्रभावित छ । नेपालमा मात्र नभई विश्व जगत्मै हातको औंलामा गन्न सकिने केही खेललाई छोडेर अन्य सबै खेलकुदहरू अहिले अवरुद्ध भएका छन् ।
ओलम्पिक गेम एक वर्षका लागि सरेको छ । एक-दुईवटा अपवादका गेमहरूबाहेक, डिसेम्बरसम्म प्रतिस्पर्धी सबै गेम रोकिएका छन् । जस्तो अहिले आईपीएल, युरोपियन केही प्रतियोगिता चलिरहेका छन् । केही टेनिसका खेलहरू भइरहेका छन् । यी अपवादलाई छाड्ने हो भने अन्य सम्पूर्ण खेल गतिविधि ठप्प छन् ।
हजारौं खेलाडी दौडिने म्याराथन पनि अहिले २५ जना राखेर सुरु भएको छ । त्यसमा पनि पीसीआर टेस्ट गरेर खेलाडीलाई प्रतियोगितामा सहभागिता गराएको स्थिति छ । कोरोना भाइरसको असरका विषयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नजिकबाट यसलाई हेरिरहेको छ ।
पछिल्लो समय नेपालमा पनि एउटा खेलकुद माहोल बनेको थियो । पछिल्लो साग हामीले राम्रै ढंगले सम्पन्न गर्न सक्यौं । परिणाम पनि उत्कृष्ट हासिल गर्न सक्यौं । त्यसैले यसलाई नेपाली खेल क्षेत्रको रिफ्रेसमेन्टका रुपमा लिन सकिन्छ । मैले यस वर्षको क्यालेन्डर हेर्दा एन्फाको ६५ वटा कार्यक्रम थिए । जसमध्ये ३५ वटा प्रतियोगिता सकिसकेको छ । ए डिभिजन सकियो भने बी डिभिजन ५० प्रतिशतसम्म भयो । त्यस्तै सी डिभिजन सुरु गर्नै सकिएन । बाँकी धेरै एन्फाका कार्यक्रम सम्पन्न भएका छन् ।
अब भलिबलमा हेर्दा ३५ वटा प्रतियोगिताहरू थियो । त्यसमा ३० वटा भलिबलको प्रतियोगिता पनि सम्पन्न भइसकेको अवस्था छ । क्रिकेटका प्रतियोगिताहरू सुरु हुने तयारीमा थिए । अरु प्रतियोगिताहरू सुरु हुने तयारीमा थिए र माहोल थियो । स्थानीय, क्षेत्रीय र राष्ट्रिय प्रतियोगिताहरू थिए । तर, कोरोनाले प्रभावित गर्यो । सुरुमा हामीले सबै खेल संघका साथीहरू र प्रशिक्षकहरूसँग के अनुरोध गर्यौं भने अहिले पेन्डामिकको अवस्थामा फेस टु फेस प्रशिक्षण गर्न सम्भव नभए पनि उहाँहरूलाई फिजिकल्ली फिटनेस राख्ने काम तपाईंहरूले गर्नुपर्छ । फिजिकल्ली फिट भयो भने आफैं मेन्टल्ली फिट हुन्छ ।
अब अर्कोतिर अहिले खेलाडीहरूले पनि आफ्नो वरिपरि जे स्रोत-साधन थियो, त्यो प्रयोग गरेर आफूलाई मेन्टेन गर्ने काम गरिरहेका छन् । ग्यासको सिलिन्डर दुईतिर बोकेर भए पनि प्रशिक्षण गरिरहेका छन् । कसैले बोरामा बालुमा राखेर पनि प्रशिक्षण गर्नुभयो । कसैले चामलको बोरो उठाएर भए पनि आफूलाई पूर्ण फिट गर्ने काम गर्नुभयो ।
बीचमा हामीले फेरि केही गर्न सकिन्छ कि भनेर जुमबाट खेलाडी र प्रशिक्षकबीच छलफलको प्रयत्न गर्यौं । तर, खेलाडी र प्रशिक्षकसँग जुमको छलफल त्यति प्रभावकारी भएन । भर्चुअलले सहज नहुँदो रहेछ । असारमा अलिकति सहज भएपछि समूह र व्यक्तिगत खेलको प्रशिक्षण सुरु भइसकेको थियो । तर, भदौपछि फेरि अवरुद्ध भएको थियो । अहिले असोज आएपछि व्यक्तिगत खेलहरूलाई नेपाल सरकारको हेल्थ प्रोटोकललाई अपनाउँदै तपाईंहरूले अब खेल क्षेत्र सुरु गर्न सक्नुहुन्छ भनेका छौं ।
एकातर्फ खेलाडीलाई कोरोनाको धेरै मार परेको छ भने अर्कोतर्फ प्रशिक्षकहरूले पनि सिकाउने अवसर पाएका छैनन् । प्रतियोगिता नहुँदा नयाँ खेलाडी उत्पादन हुँदैन र खेल पनि आकर्षक हुँदैन । त्यसले गर्दा खेलिरहेका खेलाडीहरूलाई पनि जोगाउन गाह्रो पर्ने अवस्था देखिन सक्छ । सबै नेपाली खेलकुदको भविष्य प्रति चिन्तित छन् ।
म त्यस्तो निकायमा छु कि मैले सरकारको निर्देशन पनि मान्नुपर्ने अवस्था छ । त्यसलाई पनि लागु गर्ने मेरो जिम्मेवारी छ । सम्बन्धित खेलको भविष्य पनि मैले हेर्नुपर्नेछ । त्यसैले म त्यो दुईवटैको समन्वय गर्दै छु ।
यस्तो स्थितिमा फेरि दुई ठाउँबाट फरक-फरक दबाब आइरहेको छ । काठमाडौंका ए डिभिजन फुटबल क्लबका साथीहरू आएर मलाई मिडियाको हल्लामा आएर तपाईंले खेलकुद गतिविधि छिटै सुरु गर्दै हुनुहुन्छ रे ? हाम्रो अनुरोधचाहिँ छिटै खेलकुद गतिविधि सुरु नगरिदिनुस् भन्ने छ । मैले प्रतिउत्तरमा भने तपाईंकै साथीहरू आएर छिटो खेल गतिविधि सुरु गर्न भनिरहेका छन् । तर, तपाईंचाहिँ ढिलो भन्दै हुनुहुन्छ, किन ? भनेर सोधे ।
उनीहरूले भने, ‘दाइ हामीले हेल्थ प्रोटोकल मान्नुपर्ने हुन्छ । त्यसका लागि हामीसँग होस्टेल छैन । हामीसँग आफ्नो छुट्टै होटेल पनि छैन । खेल गतिविधि सुरु भए होटेलमा राख्नुपर्यो । हामीले होटेलमा राख्नुपर्यो भने एक खेलाडीबापत कम्तिमा दिनको तीन हजार खर्च हुन आउँछ । एक महिना यस्तैगरी बस्नुपर्यो भने हाम्रो एक लाख खर्च हुन आउँछ । करिब २० जना खेलाडी मात्र राख्ने हो भने, प्रतियोगिता नहुँदा एक महिनाको २० लाख खर्च गर्ने हाम्रो क्षमता छैन ।’
हामीले अवस्था केही सामान्य हुनेबित्तिकै सातवटै क्षेत्रका खेलाडी र प्रशिक्षकलाई विषयगत र मनोवैज्ञानिक ट्रेनिङ दिने योजना बनाइरहेका छौं । सोही ट्रेनिङमा उनीहरूको खानपिन र लामो समयमो विश्रामपछि कसरी प्रशिक्षणमा फर्किने भन्ने विषयबारे छलफल हुनेछ । यो ट्रेनिङ कम्तिमा दुई दिनको हुनेछ ।
हामीले प्रशिक्षण कसरी सुरु गर्ने । प्रतियोगिता पनि कसरी सुरु गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिरहेका छौं । अहिलेसम्म एन्फाबाट मात्र प्रशिक्षणका लागि भन्दै लिखित पत्र आएको छ । मैले उहाँहरूलाई भनिदिएको छु । तपाईंहरू स्वास्थ्य प्रोटोकल अपनाएर प्रशिक्षण सुरु गर्नुहुन्छ भने गर्नुस् । एक महिनाजति स्वास्थ्य प्रोटोकल अपनाएर प्रशिक्षण गर्नुभयो भने त्यसपछि प्रतियोगिता सुरु गरौंला भनेका छौं ।
तर, अहिलेको अवस्थानमा दर्शकविनाको प्रतियोगिता गर्न सकिन्छ । फेरि दर्शकविनाको प्रतियोगिता त्यति आकर्षक हुँदैन । यसमा जित-हार त हुँदोरहेछ । खेलमा ऊर्जा नहुँदो रहेछ । तर, पनि खेल नहुँदाभन्दा खेल भएर अल्झाउनु राम्रो हो ।
हाम्रो देशमा अन्य देशको खेल क्षेत्र जस्तो असर परेको छैन । तर, हाम्रो आन्तरिक रुपमा भने देशभित्रका अन्य क्षेत्रजस्तै खेल क्षेत्रमा पनि असर परेको छ । आशा गरौं छिटोभन्दा छिटो यसबाट मुक्ति पाइयोस् र हामीले चाँडोभन्दा चाँडो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरू फर्काउन सफल हौं । फेरि एकपटक खेल माहोल बनाउन सफल हौं ।
(कोरोना भाइरसले नेपाली खेलकुद क्षेत्रमा ल्याएको चुनौती र सम्भावनाका विषयमा बिहीबार भएको छलफल कार्यक्रममा राखेप सदस्य-सचिव रमेशकुमार सिलवालको मन्तव्यको सम्पादित अंश)