site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
विष्णु माझीलाई दुई लाख रुपैयाँ किन तिर्छन् लगानीकर्ता ?
Siddhartha BankSiddhartha Bank

काठमाडौं । गायिका विष्णु माझी एउटा गीत गाएको दुई लाख रुपैयाँ लिन्छिन् । यो सामान्य अवस्थामा कलेक्सन एल्बमका लागि गीत रेकर्ड गर्दा गायक-गायिकाले लिने पारिश्रमिकका तुलनामा निकै धेरै हो । बजारमा लोकप्रिय र स्टेजका ‘डिमान्डेड’ गायक-गायिका समेत २०-२५ हजार रुपैयाँभन्दा धेरै लिँदैनन् । तर विष्णु एउटै गीत गाएको दुई लाख रुपैयाँ लिन्छिन् ।

विष्णुले अरुको भन्दा करिब १० गुणा बढी पारिश्रमिक तोकिन् । गायक-गायिका (डोयट् गाउन) तथा लगानीकर्ताहरू उक्त पारिश्रमिक दिन तयार छन् । अरुलाई २० हजार रुपैयाँ पारिश्रमिक दिन हिचकिचाउनेहरू विष्णुलाई दुई लाख रुपैयाँ तिर्छन् । विष्णुलाई दुई लाख रुपैयाँ पारिश्रमिक तिरेर आफ्नो गीत गाउन लगाउने मध्ये एक हुन्, शिव हमाल । 

शिव विष्णुले जति न्याय गरेर गीत गाउने लोकदोहोरी गायिका नभएको बताउँछन् । बजार र स्रोताको मागअनुसार उनलाई महँगो पारिश्रमिक तिर्न तयार हुने गरेको शिव बताउँछन् । “राम्रा गीतमा सबैले राम्रो काम गर्न खोज्छ । ७/८ लाख रुपैयाँ खर्च गर्दा कुनै गीतले ४०/५० लाख रुपैयाँ कमाइ भएको पनि छ,” शिव भन्छन्, “१० हजारमा खेल्ने नायक हुँदा किन डेढ लाख रुपैयाँ लिने नायकलाई लिन्छन् ।”

Agni Group
NIC Asia

गीत लोकप्रिय हुन पहिलो कुरा शब्द राम्रो हुनुपर्ने र त्यसपछि त्यसमा प्राण भर्ने राम्रो गायकी चाहिने उनी बताउँछन् । र समकालीन पुस्तामा लोकदोहोरीमा विष्णुले जति न्याय गर्ने अर्को व्यक्ति नभएको शिव भन्छन् । “मलाई त मेरा हरेक गीत विष्णुले नै गाइदिए हुन्थ्यो जस्तो लाग्छ,” उनले सुनाए ।
 
७/८ लाख रुपैयाँ खर्च हुने गीतमा निर्माण टिम गीतलाई थप बलियो बनाउन विष्णुलाई २ लाख दिन तयार हुने गरेको शिव बताउँछन् । “मान्छेले जग जहिले पनि बलियो बनाउन खोज्छ । बजारका लागि लगानीकर्ताले ब्रान्ड खोज्छ । साढे तीन लाख रुपैयाँमा खेल्ने राजेश हमाल हुँदाहुँदै अनमोल केसीलाई ५० लाख रुपैयाँ किन चलचित्र निर्माताहरूले तिरिरहेका छन्,” उनी भन्छन्, “नेपाली संगीतमा विष्णु माझी सार्वाधिक खोजिने गायिका हुन् । उनको गायिकी मन नपराउने स्रोता कमै होलान् । उनको स्वरले गीत चलाउने हैसियत राख्छ भने लगानीकर्ता किन सम्झौता गर्थे र ?”

म्युजिक एग्रिगेटर कम्पनी हाइलाइट्स नेपालका व्यवस्थापक जनक तामाङ पनि विष्णु माझीको गीत प्रोमोसन गर्न सजिलो हुने बताउँछन् । उनको फ्यान फलोइङ राम्रो भएको र आजसम्म सार्वजनिक कार्यक्रममा नदेखिएकाले स्रोतामा कुतूहल रहेकाले उनीमाथि प्रतिगीत दुई लाख रुपैयाँ पारिश्रमिक तिर्न तयार हुने गरेको जनक बताउँछन् ।

Global Ime bank

“विष्णुले गाएको गीतको भिडियो छ भने युट्युबमा प्रोमोसन गर्न सजिलो हुन्छ । उहाँ आजसम्म कतै नखिएकाले त्यसको असर गीतमा सकारात्मक पर्छ,” जनक भन्छन्, “तर विष्णुले गाउनेबित्तिकै युट्युबमा करोडौं करोड भ्युज जाने र तुलनात्मक रुपमा लाखौं रुपैयाँ बढी कमाइ हुन्छ भन्नेचाहिँ होइन ।”

विष्णु लामो समयदेखि सार्वजनिक कार्यक्रममा देखिएकी छैनन् । यही कारण उनी सर्वाधिक खोजिनुको एउटा कारण भएको गायक शिव हमाल बताउँछन् । “संसारमा त्यस्ता थुप्रै व्यक्ति छन् जसले भूमिगत भएर विश्व हल्लाइरहेका छन् । कोही माक्स लगाएर गाउँछन् । हाम्रो सन्दर्भमा भूमिगत शैलीमा बस्ने सेलिब्रिटी विष्णु माझी मात्रै हुन्,” शिव भन्छन् । 

शिवसँग कामको सिलसिलामा विष्णुको थुप्रैपटक भेट भयो । तर गीतको शब्द र गायकीबाहेक अन्य विषयमा कहिल्यै पनि कुरा नभएको उनी बताउँछन् । “खिड्का भएन, स्वर अलिकति घुमाउनुपर्‍यो । भ्वाइस लो वा हाइ गरौंजस्ता गायकीबाहेक अरु विषयमा कहिल्यै कुरा भएन,” उनी भन्छन्, “पारिश्रमिक र गीत गाउने वा नगाउने भन्‍नेबारे विष्णुजीको श्रीमान् सुन्दरमणि अधिकारी (दाइ) सँग कुरा हुन्छ ।” 

विष्णु जति गीत गाउँछिन्, गाउने कि नगाउने, गाउँदा कहिले गाउने, कति पारिश्रमिक लिने त्यसको निर्णय सुन्दरमणिले गर्छन् । विष्णु कसैसँग पनि बोल्दिनन् । 

केही दिन अगाडि मात्रै ‘भीरमा सेती गाई...’ बोलको गीत शिवले दुई लाख रुपैयाँ पारिश्रमिक दिएर विष्णुलाई गाउन लगाएका छन् । विष्णु स्टुडियोमा आएर एक घण्टा आफूले गाउने गीतको डेमो सुन्छिन् । अर्को एक घण्टा गाउने अभ्यास गर्छिन् र अर्को एक घण्टा लगाएर रेकर्ड गर्छिन् । उनका श्रीमान् सँगै हुन्छन् । उनले गीत गाउँदा स्टुडियो र कन्ट्रोल रुमबीचमा पर्दा लगाउने गरिन्छ । स्टुडियोका पर्दा छैन भने पत्रिका टाँगेर उनी गीत गाउँछिन् । उनलाई देखेर कसैले फोटो खिच्‍न चाह्‍यो भने पनि उनी मान्दिनन् । विष्णुको तस्बिर अहिले पनि गीति एल्बममा प्रयोग भएकै तस्बिर युट्युबमा पनि प्रयोग भइरहेको छ ।

विष्णु सुरुमा लाइभ दोहोरी गाउने गायिका हुन् । दुई हजार रुपैयाँ पारिश्रमिक लिएर काम गरेको उनका समकालीनहरू बताउँछन् । विष्णु प्राय: धेरै गीत मालश्री र मारुनी स्टुडियोमा रेकर्ड गर्छिन् । ‘सुपारी चाम्रो’, ‘लालुपाते नुग्यो भुइँतिर’, ‘सालको पात टपरी’ विष्णु माझीका लोकप्रिय गीत हुन् ।

समकालीनहरूसँग खासै नबोल्ने उनी मोबाइल बोक्दिनन् । सञ्चारमाध्यममा कहिल्यै नआउने उनी स्टेज कार्यक्रममा पनि कहिल्यै देखिएकी छैनन् । विष्णुबारे बुझ्‍न उनका श्रीमान् सुन्दरमणिसँग सम्पर्क गर्नुपर्छ । तर विष्णुबारे उनी पनि बोल्न चाहँदैनन् । स्याङ्जा चापाकोट खरियाघाटकी विष्णु माझी सुन्दरमणिसँग काठमाडौंमा बस्दै आएकी छिन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १२, २०७७  १४:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu