विराटनगर । कोरोना भए नभएको पत्ता लगाउन प्रदेश १ मा ४४ सय १५ नमुना संकलन भई परीक्षणमा पठाइएको छ ।
द्रुत परीक्षण विधि (आरडीटी) बाट बुधबारसम्म जम्मा ३५ सय ९२ जनाको नमुना परीक्षण गरिएको छ । परीक्षण गरिएकामा ५ सय ७१ महिला र ३ हजार ११ जना पुरुषको नतिजा नेगेटिभ आएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कका अनुसार ल्याबमा गरिने परीक्षण (पीसीआर) विधिबाट ८ सय २३ नमुना संकलन भई ल्याब पठाइएको छ । जसमा ७६ महिला र ४ सय ४९ पुरुषको नतिजा नेगेटिभ आएको छ ।
पीसीआर विधिबाट परीक्षणमा जम्मा २ सय १८ महिला र ६ सय ५ पुरुषको नमुना पठाइएको थियो । बीपी प्रतिष्ठान धरान र कोसी अस्पताल विराटनगरमा कोरोना परीक्षणका लागि पीसीआर ल्याब सञ्चालनमा ल्याइएको छ ।
यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या बुधबारसम्म एक हजार ७० पुगेको छ । पाँच महिला र १२ पुरुष भने डिस्चार्ज भएका छन् । क्वारेन्टाइनमा जम्मा जसमा १ सय १२ महिला र ९ सय ५८ पुरुष छन् । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३४ जना छन् । आइसोलेनसबाट तीनजना डिस्चार्ज भएका छन् ।
होम क्वारेन्टाइनमा जम्मा ४ हजार ६ सय ४२ जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । होम क्वारेन्टाइनमा बस्नेमा महिला ७ सय ६० र पुरुष ३ हजार ८ सय ८२ जना छन् ।