site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पार्टीमा आलोकाँचो निर्णय हुन थाल्यो
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

गत फागुन १० गते बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले संविधान संशोधन कार्यदल गठन गर्‍यो । बर्दिया–१ बाट प्रतिनिधिसभामा चुनाव हारेका पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने र प्रधानमन्त्री बनाउने भित्री योजनासहित गठन भएको कार्यदल चार दिन पनि टिकेन । फागुन १४ गते विघटन भयोे । पार्टी सचिवालय सदस्य ईश्वर पोखरेलले यसलाई ‘अपरिपक्व र आलोकाँचो’ निर्णयको संज्ञा दिएका छन् ।गत मंसिर ४ गते बसेको सचिवालय बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारी अध्यक्षको भूमिका प्रदान गरेको छ । तर पनि पार्टी कमिटीका निर्णय गर्दा दुई अध्यक्षको सहमति र समझदारीलाई त्यसदिनको बैठकले खारेज गरिसकेको छैन ।दुई अध्यक्षबीच समझदारी नभई बैठकमा एजेन्डा प्रस्तुत हुँदा कार्यान्वयनमा समस्या देखिने पोखरेल बताउँछन् । त्यसैका कारण वामदेवलाई राष्ट्रियसभामा लैजाने निर्णय कार्यान्वयनमा समस्या भएको पोखरेलको आशय छ ।यिनै विषयमा आधारित भएर पोखरेलसँग अक्षर काकाले गरेको कुराकानीको सम्पादित अंश–

पार्टी एकतापूर्व कार्यकर्तामा आशा, उत्साह सञ्चार भएको थियो । गठबन्धनले दुईतिहाइको नजिकनजिक मत ल्याएकाले सरकारले प्रभावकारी ढंगले काम सम्पादन गर्ने विश्वास पनि थियो । तर, एकीकरणको यत्रो महिना बित्दा पनि पार्टी विवाद छिचोलेर अघि बढ्नै सकेन, किन ?

हामीले पार्टी भन्नेबित्तिकै अग्रगति, प्रगति मात्रै ठान्नुहुँदैन । त्यसको हाराहारीमै चुनौती र समस्या हुन्छन् । अझ भनौं न, आपसमा गाँसिएरै आउँछन् । अतः अग्रगति र चुनौती जुन स्तरमा हुन्छ त्यही स्तरमा चुनौतीको सामना गर्ने ल्याकत हामीमा हुनुपर्छ । पार्टीले सञ्चित गर्नुपर्छ । कदाचित् सामर्थ्य निर्माण भएन भने समस्याहरू छरपस्ट–छारस्ट हुन्छन् । अग्रगति र प्रगतिमा तगारो बन्छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

अहिले नेकपाले बेहोरिरहेको समस्या यही हो त ?

नेकपालाई आन्तरिक र बाह्य दुवै चुनौती छ । बाह्य चुनौतीको चर्चा गर्नुपर्दा, संसारको कुनै भू–खण्डमा नभएको परिवर्तन–अवस्था नेपलमा सम्भव भयो । कुनै निश्चित उद्देश्य, विचार बोकेको कम्युनिस्ट पार्टीले दुई तिहाइ मत हासिल गर्नु, सत्ता सञ्चालन गर्नु चानचुने कुरा होइन । संसारभरको कम्युनिस्ट आन्दोलन रक्षात्मक बनिरहेका बेला नेपालमा यस्तो दृष्टान्त छ ।

Royal Enfield Island Ad

कम्युनिस्टलाई नरुचाउने, देखिनसहनेहरूलाई त अपच हुने नै भयो । उनीहरूको छटपटी विभिन्न रूप र आवरणमा अभिव्यक्त हुने नै भयो । देशबाहिर मात्र छैनन् त्यस्ता शक्ति देशभित्रै पनि विद्यमान छन् । 

आन्तरिकरूपमा चर्चा गर्नुपर्दा, हामी नयाँ उचाइमा आयौं । कम्युनिस्ट आन्दोलनले नयाँ क्षितिज प्राप्त गर्‍यो । कम्युनिस्ट पार्टीले परम्परागत ढङ्गले बुझ्दै आएको, भन्दै आएको भन्दा पृथक पाटोबाट बुर्जुवा पुँजीवादी शक्तिसँगको सहकार्य–साँझेदारीबाट जनवादी क्रान्ति सम्पन्न गर्ने कार्यको अगुवाइ गर्‍यो । त्यसको पुरस्कार पनि हामीले पायौं ।

हत्या, हिंसाबिना, शान्तिपूर्ण आन्दोलन र मूलतः जनताको बलमा शासन–व्यवस्था परिवर्तन गर्‍यौं । यो चिज पचेको छैन । केही शक्ति अहिले पनि घोत्लिइरहेका होलान्– यो कसरी भयो ?

अर्को, कम्युनिस्ट आन्दोलनमा हाम्रा सोचाइ, विचारधारा, चिन्तन, आचरण, व्यवहार, कार्यशैली, कार्यदिशा पुनःव्यवस्थित हुनुपर्नेछ । आफूलाई अद्यावधिक गर्नुपर्नेछ । अद्यावधिक नहुने हो भने हामी ‘आउटडेटेड’ हुन अभिशप्त हुन्छौं ।

हिजो हामीले जोसँग सहकार्य गरेर क्रान्ति सफल गर्‍यौं, बुर्जुवाहरू । ती शक्तिहरू आज पनि यथाहालतमा छन् । अर्को, हामी अलगअलग कार्यदिशा, विचार, दृष्टिकोण बोकेका दुई कम्युनिस्ट पार्टी एउटा भयौैं ।

अझै हामीबीच विचार, चेतना, दृष्टिकोणमा अन्तरघुलन हुन सकेको छैन । राजनीतिक निर्णय गरेर एक ठाउँमा त उभियौं, धेरै कुरा मिल्न बाँकी नै रहे । धेरै कुरा थाती रहे । अझै पनि मिल्ने सिलसिला चलिरहेकै छ । यो पनि हामीभित्र चुनौतीकै रूपमा जीवित छ । अद्यावधिक छ ।

अहिले हामी विचारधारको संक्रमणबाट पनि गुज्रिएका छौं । हामीले प्राप्त गरेका चिज के हुन् ? प्राप्त गरेका चिजमाथि उभिएर अब के चिज प्राप्त गर्ने ? हामीले जनवादी क्रान्ति सम्पन्न गर्‍यौं त भन्यौैं तर केके चिज प्राप्त भयो त ? संश्लेषण हुन सकेको छैन । मोटामोटी भएका छन् भने पनि बुझाइमा एकरूपता छैन । 

अहिले हामी समाजवादको प्रारम्भिक चरणबाट गुज्रिइरहेका छौं । अहिलेको हाम्रो मुख्य निशाना भनेको दलाल पुँजीवाद हो । दलाल पुँजीवादविरुद्ध कस्तो खालको संघर्ष गर्ने ? त्यसका लागि हाम्रो नीति, कार्यक्रम, कार्यदिशा के हुने ? यसमा हामीले आफूलाई पुनःव्यवस्थित गर्नुपर्छ ।

वस्तुगत रूपमा विवेचना गर्दा अहिले नेकपालाई आन्तरिक चुनौती, समस्या व्यवस्थापन गर्न नै हम्मे परिरहेको छ, नेतृत्वको कार्यदक्षताको अभाव हो ?

चुरो कुरा, हामीले आन्तरिक चुनौतीहरूको हल खोज्यौं भने बाह्य समस्याको सामना गर्न सकिन्छ । समाधान पनि गर्न सकिन्छ । 

कहिलेकाहीँ दुवै चुनौती समानान्तर गति र वेगमा आएका हुन्छन् । नेकपा एकताबद्ध हुने, बेमेल देखानपर्ने, विचार व्यवहारमा सङ्गति मिलाउने, मुद्दाहरू, अहिलेका ज्वलन्त विषयमा घनिभूत छलफल गरेर साझा धारणा तय गर्ने हो भने यसले सिंगै पार्टी–पंक्तिमा ऊर्जा प्रवाह गर्छ । बल प्रदान गर्छ । त्यही तागतले बाह्य चुनौतीसँग जुध्न सकिन्छ ।

पार्टी एकता तत्कालीन आवश्यकता त थियो तर जसरी एकीकरण गर्नुपर्थ्यो त्यसरी नगरी प्राविधिक हिसाबले मात्रै जोडजाड पार्ने काम भयो भन्ने गाइँगुइँ सुनिन्छ, त्यसैको असर पो हो कि ?

एकताबारे धेरै विचार, विमर्शको आवश्यकता नै छैन । यो कार्यकर्ताको रुचि र चाहना हो । राष्ट्रिय आवश्यकता पनि हो ।

यसर्थ राष्ट्रिय आवश्यकता कि, हिजोको दिनमा जुनखाले अस्थिरता विद्यमान थियो, त्यसले सबै प्रताडित थिए । देश पनि आक्रान्त थियो । तसर्थ, देशले जनपक्षीय, प्रगतिशील शक्ति निर्णायक होस् भन्ने चाहेको थियो, त्यो पूरा गर्न एकता अपरिहार्य थियो । एकीकरणपछि हामीले आफूलाई विचारलाई थप व्यस्थित गर्नुपर्थ्यो । विधिलाई थप परिस्कृत र व्यवस्थित बनाउनुपर्थ्यो । संगठनलाई चुस्त, व्यवस्थित र गतिशील बनाउनुपर्थ्यो ।

अहिलेको जुन ढाँचा, काम गराइ, तौरतरिका छ, यसले हामी व्यवस्थित भएको महसुस गराएको छैन ।

विचार, विधिमा एकरूपता हुनुपर्‍यो । जसले जे गर्दा हुने, हाक्कहुक्क, ठूलो स्वर गरेर कम्युनिस्ट पार्टी चल्दैन । कम्युनिस्ट पार्टी, विधि, नेतृत्व र सांगठिनक मूल्य, मान्यताका आधारमा सञ्चालित हुन्छ ।

तपाईं उपप्रधान तथा रक्षामन्त्री हुनुहुन्छ । सबै कुरा ज्ञात नै होला । हिजो स्थिरताको नारा लगाएर नेकपाले बहुमत ल्यायो । तर, सरकार गठन भएदेखि नै कहिले मन्त्रिपरिषद् पुनःगठन, कहिले आलोपालोको सहमति, कहिले प्रधानमन्त्री बदल्नेसम्मको तयारीको हल्ला चल्छ, पार्टी भित्रैबाट ! पार्टीभित्र के कुरा मिलेको छैन, जसले अन्योलता खडा गरिरहन्छ ?

पार्टी भनेपछि विचार, दृष्टिकोणको विविधता पनि हो । विभिन्न व्यक्तित्वका अनेकअनेक भावना अभिव्यक्त होलान् । सबै विचारको पछाडि लाग्नुपर्छ भन्ने छैन । अहिलेको सरकार जनताको मतबाट अनुमोदित भएको र पाँच वर्षका लागि गठन भएको सरकार हो । यसले निर्वाचनका बेला जे प्रतिबद्धता व्यक्त गरेको छ । एक–एक गरी कार्यान्वयन गर्छ । अहिले दुई वर्ष मात्रै बितेको छ ।

पहिलो वर्ष हामीले आधार वर्ष भन्यौं । नभई नहुने, संविधान कार्यान्वयनसँग गाँसिएका कानुन निर्माण गर्‍यौ‌ं । नभई नहुने विशेष नीति निर्माण गर्‍यौं । त्यसैमा टेकेर कामहरूको प्रारम्भ गर्‍यौं । तेस्रो वर्षदेखि परिणाम देखिन थाल्छ ।

सरकारले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य लिएको छ । देशको समृद्धिको पहिलो आधार भनेको कृषि, उद्योग क्षेत्र हो । कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरणका लागि मूर्त योजना तर्जुमा भएका छन् ।

कृषिसँग अन्योन्याश्रितरूपमा गाँसिएको भूमिको व्यवस्थापनका लागि विशेष नीति तयार भइरहेको छ । भू–उपयोग कसरी गर्ने ? भूस्वामित्वको प्रश्नलाई कसरी हल गर्ने भन्नेमा सरकार प्रष्ट छ ।

उद्योगको प्रश्नमा पनि हामीले नीति बनाइरहेका छौं । हिजोका उद्योगधन्दा कौडीका दाममा बेचिए । कोही रुग्ण भएर सकिए । उद्योग, औद्योगिक ग्राम, क्षेत्रहरू कसरी निर्माण गर्ने ? उत्पादकत्व वृद्धि, रोजगारीको सिर्जना कसरी गर्ने ? निजी क्षेत्र, वैदेशिक लगानीलाई कसरी आकर्षित गर्ने, राज्यले के–के कुरामा सहयोग गर्ने ? उद्योगमा हाम्रा प्राथमिकता के–के हुन् ? सरकारले के–के कुरामा सहयोग, सहुलियत दिने ? आदि निर्क्यौल गर्नुपर्छ । गरिसकेका छौं पनि ।

समृद्धिको आधार भनेको ऊर्जा, जल उपयोग पनि हो । अहिले लोडसेडिङ अन्त्य भयो तथापि, आत्मनिर्भर भइसकेका छैनौं । परिवर्तित सन्दर्भमा यसबारे पनि सोच–विचार गर्नुपर्छ । अथाह सम्भावना बोकेको क्षेत्र पर्यटन पनि हो । पर्यटन पूर्वाधारको विकास, विस्तारका लागि सरकारले कामको थालनी गरिसकेको छ । पूर्वाधार (शिक्षा, स्वास्थ्य, बाटोघाटो, पुलपुलेसा, सिञ्चाइ)का क्षेत्रमा पनि सरकारले प्राथमिकता तय गरेर काम सुरु गरिसकेको छ । परिणाम आउञ्जेल पर्खनुपर्छ ।

समृद्धिको आधार नै निर्माण गरिसकेको हो भने पार्टीभित्रैबाट सरकारको आलोचना किन त ?

आलोचनाभन्दा पनि सुझावका रूपमा आएका होलान् । व्यक्तिले बोलेका कुरा अतिरञ्जित ढङ्गले पनि आउँछन् । तदारुकताका साथ काम गरिरहेका बेला सरकारलाई अप्ठेरो पार्ने काम कसैले गर्नुहुन्छ, पार्टीभित्रबाट त्यस्तो हुन्छ भन्ने कुराको म कल्पना पनि गर्न सक्दिनँ । केका लागि गर्ने त्यसो ? फेरि त्यही अस्थिरताको चक्रव्यूहमा पार्टीलाई फसाउने त होइन होला ! सरकारका कमीकमजोरी छन् भने सच्याउने विषयमा केन्द्रित हुनुपर्छ ।

नेकपामा भन्ने एउटा, गर्ने अर्को देखिन थाल्यो । गुटबन्दी भयो ? गुटबन्दीले आन्दोलन क्षीण–धराशायी भयो, पार्टी संस्थागत ढङ्गले चल्न सकेन भनेर दस्तावेजमा लेख्ने, कार्यकर्ताका सामु आत्मआलोचित पनि हुने । तर, बैठक सकिनासाथ गुटगुटका बैठक–भेला भइहाल्ने ! यस्तो किन देखिन्छ ? 

नेकपाको आकार ठूलो छ । फेरि हामी छलफलमा विश्वास पनि गर्छौं । लोकतन्त्रको आधारभूत चरित्र पनि त्यही हो । नेताहरू मुद्दा–मुद्दामा बस्छन् । छलफल गर्छन् । धारणा तय गर्छन् । यो स्वाभाविक कुरा हो । यसमा बहस जरुरी छैन । तर पार्टीभित्र निश्चित मान्छेहरू, लाइकमाइन्डेड (समान विचार) भनिएकाहरू बस्ने, बसेर सन्दर्भ समूह बनाउने, सन्दर्भ समूहले बनाएको विचारका आधारमा पार्टीलाई प्रभावित बनाउन खोज्नु सर्वथा अनुचित कुरा हो ।

राष्ट्रियसभामा वामदेव गौतमलाई लैजाने कुरा निकै विवादित बन्यो । सचिवालयको निर्णय नै बेवारिसे बनिरहेको छ । वामदेवका विषयमा पार्टीभित्र यतिधेरै विवाद पैदा हुनुपर्ने कारण के ?

पार्टीमा विषयहरू छलफल गर्दा परिपक्व ढङ्गले छलफल गर्नुपर्छ । पारदर्शी, परिपक्व ढङ्गले विषय ल्याइएन, छलफल गरिएन भने त्यसको असर बाहिर देखिन्छ । पार्टीका कोही नेता राष्ट्रियसभामा जानु ठूलो कुरा होइन । तर विषय जुन पृष्ठभूमिबाट आयो, त्यसको असर हो यो ।

वामदेव गौतम राष्ट्रियसभामा जानुहुन्छ कि हुँदैन ? यसको निरपेक्ष उत्तर हुनसक्दैन । एक हिसाबले ठीक पनि हो, खास भन्ने हो भने बेठीक पनि । यस्तो विषय जुन सन्दर्भसहित छलफल भयो, यो आलोकाँचै रहेछ भन्ने देखियो । सचिवालयको हवाला दिएर संविधान संशोधनका लागि कार्यदल बन्यो भनेर बाहिर आयो । निर्णय भएकै थियो । तर, बाहिर नभन्ने भनिएको थियो । सचिवालय सदस्यकै हवाला दिएर बाहिर आइहाल्यो । दुई दिनपछि विघटन गरियो । दुनियाँले देखे । काफी अपरिपक्वता, काँचोपन देखियो नि ! यसको अर्थ के भने, कतिपय बेलामा हाम्रो विषय बनाउने, विषयमा छलफल गर्ने कतिपय तरिका अनुचित हुँदा रहेछन् भन्नेको प्रमाण पनि हो । सही हुन्थ्यो भने किन यस्तो भयो ?

उसो भए वामदेव राष्ट्रियसभामा जानुहुन्न ?

यसमा धेरै नअलमलिउँ । पार्टीका संस्थागत निर्णय कार्यान्वयन हुन्छन् । निर्णयको समीक्षा पनि हुन्छ ।

फेरि दोहोर्‍याउँ, संस्थागत ढंगले गरिएका पार्टीका निर्णयहरू कार्यान्वयन हुन्छन् । गरिएका कतिपय निर्णयहरू समीक्षा पनि हुन्छन् । 

दुईवटा पार्टी एक भइसकेपछि साङ्गठनिक जीवन कसरी व्यवस्थित गर्ने, अघि बढाउने भन्ने सन्दर्भमा एउटा विशेष व्यवस्था गरियो– सहमतिबाट मात्रै निर्णय गर्ने ।

हिजो अलगअलग पार्टी छँदा बहुमतबाट निर्णय गर्थ्यौं । पृथक–पृथक राजनीतिक कार्यदिशा बोकेका पार्टीहरू एक भए । राजनीतिक, साङ्गठनिक कुरा मिले पनि धेरै कुरा मिल्न बाँकी छन् । मत मिलाउने कुरा भयो, मन मिलाउन अझै बाँकी छ । कुनै निश्चित (एकता महाधिवेशनसम्म) समयसम्म सहमतिबाट निर्णय गर्ने भनियो । दुईवटा अध्यक्ष बनाइयो, ठीक, बेठीक जे भए पनि । दुईवटा अध्यक्षले सहमतिका साथ कार्यसूची प्रस्तुत गरेपछि बैठकमा छलफल गर्ने भनियो । बेलाबेला कार्यसूची पनि छलफलका साथ नआउने, सहमतिबाट कार्यसूची नआइ बैठकमा प्रवेश गरिसकेपछि निर्णय–निष्कर्षमा पनि एकरूपता नआउने देखियो । त्यसको परिणाम अहिले, यो मात्र होइन, अघिल्ला केही–केही निर्णय, प्रसंग त्यस्ता भएका छन् ।

यसर्थ, अबको नेकपाले महाधिवेशन नहुञ्जेलसम्म सहमतिका साथै निर्णय गर्नुपर्छ । बेलाबेला सहमतिका साथ निर्णय हुँदैनन्, त्यसले हामीलाई अप्ठयारो पार्दै आएको छ ।

त्यसो भए सहमतिका साथ निर्णय गर्ने समझदारी टुटिसकेको हो भने एकता महाधिवेशन बहुमतीयमा हुन्छ त ?

महाधिवेशन पृथक फोरम (मञ्च) हो । सर्वाधिकार सम्पन्न थलो हो । महाधिवेशनसम्म जे समझदारी, सहमति गरेका छौं, त्यो पालना हुनुपर्छ । राष्ट्रिय, जिम्मेवार फोरममा कुरा पुर्‍याइसकेपछि त्यसले जे गर्छ, गर्छ ।

यद्यपि, हामीले एकता महाधिवेशन पनि सहमतिका साथ गर्नुपर्छ भनेका छौं । तै पनि हामीले बनाएको समझदारी, अहिले गरेको निर्णय महाधिवेशनले मान्नुपर्छ भन्ने ‘बाध्यकारी’ हुँदैन । अहिलेको निर्णयको अधिनस्थ महाधिवेशन हुँदैन ।

तर पनि हाम्रो सोच यो हो । हिजो जे समझदारी भयो, त्यही आधारमा अन्तरिम विधान, राजनीतिक दस्तावेज, नियमावली बने, त्यो अधिनस्थ त हुनुपर्‍यो नि ! पार्टी एकतालगत्तै पार्टीको विचारमा ठूलो बहस भयो, ‘जनताको बहुदलीय जनवाद’ कि, ‘जनताको जनवाद’ ? तपाईं पार्टीको नीति, सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ नै हुनुपर्छ भनेर उभिइरहनुभएको थियो । अहिले त्यो विषय त्यति बहसमा छैन ? तपाईं चुप लाग्नुभएको हो ?

यतिबेला केही भन्न चाहन्नँ । सबैकुरा आधारभूत रूपमा ‘जनताको बहुलीय जनवाद’कै आउने तर भन्नचाहिँ त्यसलाई ‘जनताको जनवाद’ भनौं भनेर एकता गर्दाका बखत समझदारी भएको हो । त्यो समझदारी मन मिलाउनुपर्छ भन्ने आवश्यकतालाई हृदयङ्गम गरेर भनिएको होला ।

आएका विचार छलफल गर्दै जाने महाधिवेशनमा टुङ्गो लगाउने भनिएको छ । त्यसले केही फरक पार्दैन । अहिलेको ‘जनताको जनवाद’को सार कुरा ‘जनताको बहुदलीय जनवाद’ नै हो । जबज हिजोका, पूर्वएमालेको मात्रै पेवा विचार होइन, हिजोका कम्युनिस्ट आन्दोलनका अग्रजहरूले लिएको विचारको उन्नत निष्कर्ष हो । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको अनुभव, दर्शन र सिद्धान्तको निचोड हो त्यो ।

श्वेत पत्र प्रकाशित गरेर नेपाल ट्रस्टको सम्पत्ति सार्वजनिक गर्नुभयो । तर, विपक्षी, पार्टीभित्रकै केही नेताहरूले ‘अश्वेत’को उपमा दिए नि !

नेपाल ट्रस्टको सम्पत्ति कहाँ गयो ? के भयो भनेर खोजिनिती गर्न थालेपछि अहिलेसम्म कहाँ, के छ भनेर जस्ताको त्यस्तै विवरण सार्वजनिक गरिएको हो । कसका पालामा के सम्झौता भयो, त्यतिबेला नेपाल ट्रस्टको नेतृत्वमा को थियो भनेर उल्लेख गरिएको छ । यसबारे थप टिप्पणी नगरौं ।

तपाईंकै पार्टीका नेता जनार्दन शर्माले त आपत्ति नै प्रकट गर्नुभयो नि ! ‘तर्साउन खोजिएको’ उहाँको टिप्पणी थियो ?

केही-केही ठाउँमा भुल, असावधानीवश गल्ती भएका हुनसक्छन् ।  त्यो सच्याउन सकिन्छ । हामीले नेपाल ट्रस्टका जग्गा भाडामा लिने, मोही बनाएर लालपुर्जा बाँड्ने कुरा जस्ताको तस्तै बाहिर ल्याएका हौं ।

कसैलाई दोषी देखाउन, कसैलाई सफाइ दिन ल्याइएको होइन । ताहाचलस्थित सोल्टी आउटर कम्प्लेक्स प्रसङ्गमा नेपाली कांग्रेस र तत्कालीन माओवादी केन्द्रको संयुक्त सरकार भएका बेला २०७४ साल असोज ३० गतेसम्म शेरबहादुर देउवा प्रधानमन्त्री, गृहमन्त्री जनार्दन शर्मा हुनुहुन्थ्यो । पछि एमालेसँग गठबन्धन भएपछि कांग्रेस र तत्कालीन माओवादी केन्द्रको समझदारी भत्कियो । संयुक्त सरकार भएकाले तत्कालीन माओवादी केन्द्रका मन्त्रीहरू हटाउन सकेनन् । बिनाविभागीय बनाइए । सम्झौता मिति सकिएको बेला देउवा प्रधामन्त्री, जनार्दन शर्मा गृहमन्त्री हुनुहुन्थ्यो । सम्झौता थप्नेबेलामा उहाँ (शर्मा) बिनाविभागीय हुनुहुन्थ्यो । 

उसो भए त्यो त्रुटि नै हो ?

त्रुटि त त्रुटि नै हो । २०७४ असोज ३० गतेसम्म उहाँ गृहमन्त्री बहाल हुनुहुन्थ्यो । २०७४ मंसिर १४ गते लिज थपिएको छ । त्यतिबेला उहाँ बिनाविभागीय हुनुहुन्थ्यो । 

यती होेल्डिङ प्रकरणमा पार्टी किन बदनाम भइरहेको छ ?

यती होल्डिङलाई कस–कसले जग्गा भाडामा दिए, कसकसले लिज थपे तिथिमितिसहित छ । श्वेत पत्र हेरे, ट्याली गरे हुन्छ । पार्टीलाई बदनाम गराउने नियतलाई तथ्यले इन्कार गर्छ । हामीले हाम्रो पालामा नीति, विधिसङ्गगत निर्णय गरेका छौं ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २८, २०७६  १५:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro