site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शान्ति प्रक्रिया टुंग्याउन जुनसुकै जिम्मेवारीका लागि तयार छु 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

तत्कालीन नेकपा माओवादीको दशवर्षे सशस्त्र द्वन्द्वमा डा. बाबुराम भट्टराई संयुक्त क्रान्तिकारी जनपरिषद् सरकारका प्रमुख थिए । प्रधानमन्त्री भएपछि माओवादीका लडाकु शिविरमा हतियार राखिएका शिविरको चाबी हस्तान्तरण गरेका भट्टराईले लडाकुहरूको सेनामा समायोजन र संक्रमणकालीन न्याय निरूपणका लागि अध्यादेश जारीको पहलकदमी लिएका थिए । 

संविधान जारी भएपछि माओवादी आन्दोलनको औचित्य सकिएको धारणा अघि सार्दै वैकल्पिक शक्ति निर्माणमा जुटेका उनी सानो पार्टीको नेतृत्वमा छन् । तर वैकल्पिक शक्ति नै भविष्य भएको उनको ठम्याइँ छ ।
 

त्यसअतिरिक्त डा. भट्टराई शान्ति प्रक्रिया पूर्णताका लागि संक्रमणकालीन न्यायको पूर्णताका पक्षमा लागिरहेका छन् । प्रस्तुत छ, शान्ति प्रक्रियाका बाँकी काम पूराको तयारी, सत्य निरूपण तथा मेलमिलाप आयोगको नेतृत्वलगायतका विषयमा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. भट्टराईसँग बाह्रखरीका बलराम पाण्डे रमेश वाग्लेले गरेको अन्तर्वार्ताको सम्पादित अंश :–

KFC Island Ad
Dabur Nepal
NIC Asia

दुई वर्षभित्र टुंग्याउने भनेका शान्ति प्रक्रिया दुई दशकसम्म किन टुंगिएन ? 

यसलाई नेपालको जनक्रान्ति भन्न चाहन्छु म । शान्ति प्रक्रियालाई त्यही जन क्रान्तिको अंगको रूपमा बुझियो भने सहज हुन्छ । समय बित्दै जाँदा त्यसको सन्दर्भ बिर्सने र अंश मात्र बुझ्ने भएपछि त जसरी अर्थ लगाए पनि हुन्छ । 

Royal Enfield Island Ad

नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको निम्ति विद्रोहात्मक आन्दोलन भयो जसलाई हामीले जनयुद्ध भन्यौँ । पछि सहमतिबाट, सम्झौताबाट शान्ति प्रक्रियामा आइसकेपछि त्यसका तीनवटा पाटो थिए ।

एउटा राजनीतिक पाटो, जसले संविधानसभाबाट संविधान निर्माण गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने, अर्को दुईवटा सेना समायोजन र तेस्रो द्वन्द्वकालमा भएका घटनाहरू छन् त्यसबाट पीडितलाई सत्य तथ्य पत्ता लगाएर परिपूरण दिने र मेलमिलापमार्फत देशमा दिगो शान्ति कायम गर्ने थिए । 

त्यसमध्ये दुईवटा पाटो पूरा गर्‍यौँ । 

तेस्रो पाटो– सुरूवातमै पूरा हुनुपर्थ्यो । शान्ति सम्झौतामा र सात दलबीचको ०६३ कातिक २२ को राजनीतिक सहमतिमा हामीले सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत सत्यको निरूपण गर्ने र देशमा दिगो शान्तिका निमित्त मेलमिलाप कायम गर्ने भनेका छौँ । 

baburambhattarai2-1731236258.jpg
 

०६३ मंसिर ५ गतेको विस्तृत शान्ति सम्झौतामा हामीले ६० दिनभित्र बेपत्ता नागरिकहरूको स्थिति सार्वजनिक गर्ने भनेर लेखेका छौँ । 

जहाँसम्म यतिका दिनसम्म किन रह्यो भन्ने प्रश्न छ, यसमा राजनीतिक इच्छा शक्ति नै प्रमुख हो । त्यसमा सत्ताको बारम्बार परिवर्तन र पुराना र नयाँ नेताहरूको सत्ता स्वार्थ बाझिन थालेपछि यसलाई हतियारका रुपमा प्रयोग गरियो । 

त्यसबेला युद्ध लडेर आएको र सत्ताको नेतृत्वमा पनि गएको पक्षले प्राथमिकतामा नपारेका कारण ढिला भयो भन्न मिल्छ ? 

हामीले अत्यन्त महत्वका साथ सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत द्वन्द्वकालमा भएका घटनामा सत्यको निरुपण गर्ने र दिगो शान्तिका लागि मेलमिलाप कायम गर्ने भनेर आयोगको परिकल्पना गरेका छौँ । 

त्यति ठूलो राजनीतिक परिवर्तन थियो र त्यो राजनीतिक परिर्वतन संस्थागत गरिसकेपछि सत्य निरूपण गर्ने र दिगो शान्तिका लागि मेलमिलाप कायम गर्ने भनेर आयोगको परिकल्पना गरिएको छ ।

मूलतः यो राजनीतिक परिवर्तन थियो । राजनीतिक परिवर्तन संस्थागत गरिसकेपछि द्वन्द्वका घाउहरू मेटेर दिगो शान्ति कायम गर्न आयोगबाट काम गर्ने व्यवस्था गरियो ।  संघर्ष गर्ने क्रममा त सेनाको मात्र हताहति त हुँदैन । जनता पनि त्यसमा मिसिन पुग्छन् । त्यसैले त्यसको निरूपण गर्नुपर्छ भनेर नै त्यो व्यवस्था राखिएको हो । 

त्यसैले आयोगले गर्ने कामलाई राजनीतिक प्रक्रियाकै अंगकै रुपमा बुझ्नुपर्थ्यो र सँगसँगै लैजानुपर्थ्यो । शान्ति सम्झौतामा सँगसँगै लैजाने भनेर नै लेखिएको पनि छ ।  अब त, मानिसहरूले यसको पृष्ठभूमि पनि बिर्सन थाले । आयोग गठन गर्ने प्रक्रिया पनि सँगसँगै सुरू भएको हो । तर, सरकार फेरबदलपछि त्यो प्राथमिकतमा परेन । 

मेरो प्रधानमन्त्रीकाल ०६८ भदौ देखि ०६९ फागुनसम्मको साढे १८ महिनाको जुन कालखण्ड थियो । मेरो प्रधानमन्त्रीकालको अन्तिम निर्णय दुईवटा छ । अभिलेखमा पनि भेट्न सक्नुहुन्छ । एउटा यही सत्य निरूपण तथा मेलमिलाप आयोग गठनसम्बन्धी अध्यादेश जारी गर्ने । अध्यादेश किनभने त्यो बेला ऐन बन्न सकेको थिएन ।

०६९ जेठ १४ गते संविधानसभाको अवसान भएपछि संसद् थिएन र ऐन बन्ने बाटो बन्द थियो । त्यसैले राजनीतिक दलबीचमा सहमति कायम गरेर अध्यादेश जारी गरियो । मैले सर्त नै राखेको हुँ यसमा । मैले मेरै कार्यकालमा सेना समायोजन प्रक्रिया अघि बढाएँ ।

संविधान निर्माणका लागि केही समय त लाग्छ नै । यो चाहिँ रोकिइराखेको छ पूरा गर्नैपर्छ भनी सर्त राखेरै अध्यादेश जारी गरिएको हो । त्यो सर्त पूरा भएपछि मैले प्रधानमन्त्रीबाट राजीनामा गर्नुअगावै खिलराज रेग्मीलाई हस्तान्तरण गरेको हुँ । 

०६९ सालको कुरा हो यो । ०७० सालको मंसिरमा चुनाव भयो । त्यसपछि बनेको सुशील कोइराला नेतृत्वको सरकारको पालामा त्यसमै टेकेर कानुन बन्यो र सत्य निरुपण आयोगसम्बन्धी प्रक्रिया अघि बढेको हो । 

यसबीचमा मुद्दामामिला हुँदा खिलराज रेग्मीको सरकारले प्रक्रिया अघि बढाउन नसकेको हो ।

त्यसबेला राजनीतिक सहमति जे बनेको छ, अहिले भएको सहमति त्यही नै हो । दस्ताबेज हेर्नुहोला, त्यसबेला मैले ०६९ फागुन अन्तिममा जे जारी गरेको छु त्यसैको केही शब्दमात्र परिवर्तन भएको छ । त्यसबेला सत्य निरुपण तथा मेलमिलाप आयोग एउटामात्र बनाउने भन्ने थियो, त्यसलाई दुई भागमा बाँडेर अघि बढाइएको हो । अहिलेको सहमतिमा त्यही नै हो । शब्द मात्र थोरै परिवर्तन गरिएको छ । 

मेरो पाला देखिएको १२ वर्ष, समग्र ०६३ देखिको १८ वर्षको अवधि भनेको सत्ता छिनाझपटीको कारणबाट मात्रै अवरुद्ध छ । यो नै यथार्थ हो । 

baburambhattarai-1731236256.jpg
 

कानुन बन्यो अब टुंगोमा पुग्छ भन्ने लाग्छ ? 
पुर्‍याएपछि पुग्छ भन्ने लाग्छ । नपुर्‍याए त पुग्दैन । 

कसले निष्कर्षमा पुर्‍याउन दिएन ? तिनै तत्वहरूले निष्कर्षमा पुर्‍याउन रोक्लान् नि ! के लाग्छ यहाँलाई ?

तत्वहरू भन्दा पनि उहाँहरू नै हुनुहुन्छ, जसले ३० वर्षसम्म सरकार चलाइरहनुभएको छ । उहाँहरूकै हातमा हो, अरु कसैलाई दोेष दिने ठाउँ छैन । ०६३ यताको भन्ने हो भने तीनजना ‘टाउके’हरू हुनुहुन्छ, उहाँहरूले नै रोकिराख्नुभएको छ । 

संविधान जारी भइसकेपछि त संविधान कार्यान्वयन गर्ने कानुन निर्माण र शान्ति प्रक्रियालाई पूर्णता मात्र प्राथमिक विषय थिए । शान्ति प्रक्रिया प्राथमिकतामा नपर्नुमा मानिसहरूले बिर्सिन्छन् भन्ने अपेक्षा हो ? 

५० औँ हजार परिवार प्रभावित छन् । बीचमा बनेका आयोगमा परेको उजुरीमात्र हेर्ने हो भने पनि ६३ हजार त उजुरी छन् । ६३ हजार उजुरीको मतलब यससँग जोडिएका लाखौँ मान्छे छन् । त्यसकारण बिर्सिने अपेक्षा गर्न सकिँदैन । पहिलो त राजनीतिक इच्छाशक्तिको कमी छ र यसलाई सत्ता स्वार्थमा बार्गेनिङको रुपमा प्रयोग गरिएको हो ।

यो राजनीतिक आन्दोलन थियो र यसलाई राजनीतिकरूपमै बुझेर व्यवस्थापन गर्नुपर्छ र यसको मूल मर्म भनेको सत्यतथ्य पहिल्यानुपर्छ र मेलमिलापको काम गर्नुपर्छ भन्ने हो । नत्र किन यसलाई मेलमिलाप आयोग भनिएको त ? 

तपाईंले दक्षिण अफ्रिकाको उदाहरण हेर्न सक्नुहुन्छ । हामीकहाँ एउटा पक्षले हारेको र अर्को पक्षले जितेको होइन । त्यसबेला त्रिपक्षीय द्वन्द्व थियो । एउटा पक्ष राजाको पक्ष थियो । अर्को पक्षमा संसदवादी राजनीतिक दलहरू थिए । अर्को सशस्त्र विद्रोही माओवादी थियो ।

यी तीनवटामध्ये दुईवटा पक्षमध्ये विद्रोही माओवादी र सात दल मिलेर राजतन्त्रलाई अन्त्य गर्ने सहमति भइसकेपछि शान्ति सम्झौता भएको हो । राजतन्त्रको त अन्त्य भइसक्यो । त्यतिबेलाका राज्य पक्षको सेना थियो –त्यसको नाम शाही सेनाबाट नेपाली सेना भयो ।

baburambha2-1731236256.jpg
 

१२ बुँदेदेखि विस्तृत शान्ति सम्झौता हुँदै सहकार्यमा यहाँसम्म आएपछि सात दल र माओवादी दुवै पक्षको सामूहिक दायित्व हो, शान्ति प्रक्रिया । हार–जित त भएको होइन नि । हामी दुईपक्ष मिलेर राजतन्त्रको अन्त्य गरेका हौँ ।  
राजनीतिक रूपमा व्यवस्था परिवर्तन गरेर माओवादी पक्षको हात अलिकति माथि परेको हो । व्यवहारिक र फौजी रुपमा पुरानो सेना नै बलशाली भएको हुनाले त्यहाँ सम्झौता गरिएको हो– यथार्थ त यही हो ।

यसलाई त्यही ‘स्पिरिट’मा सत्य पहिल्याउने र त्यसपछि मेलमिलाप गराउने र दिगो शान्ति स्थापना गर्ने भन्ने हो । 

माओवादी विद्रोह त राजनीतिक परिवर्तनका लागि भएको थियो, कुनै पृथकतावादी आन्दोलन पनि हाम्रो होइन र कुनै जातिलाई सफाया गर्ने आन्दोलन पनि थिएन । त्यसकारण यसलाई मेलमिलापबाट टुंग्याउनुपर्छ । मेलमिलाप भनेको ‘क्षमा गर र बिर्स’ भन्ने नै हो । यसका लागि दक्षिण अफ्रिकाको मोडल प्रयोग गरिएको छ ।

किनभने काला जातिमाथिको दमनविरुद्ध एउटा लामो कालखण्डमा विद्रोह भयो । त्यसमा निश्चित (१९६०–९० सम्मको) अवधिको मात्रै छानबिन गरेर तथ्य बोल्ने र क्षमा गरिदिने भन्नेतिर गए उनीहरू, त्यसै टुंगिएको थियो र ? 
हाम्रो पनि मोटामोटी त्योसँग मिल्छ भन्ने भयो र त्यसरी नै टुंग्याउने भन्ने समझदारी बन्यो । त्यसै आधारमा सहमतिको प्रक्रिया अघि बढेको हो । 

अर्को ‘न्युरेम्बर्ग ट्रायल’ मोडल हो । दोस्रो विश्वयुद्धपछि यो प्रयोगमा ल्याइएको थियो । त्यहाँ एउटाले जितेको र अर्कोले हारेको अवस्था थियो । हाम्रोमा त्यसरी नै दण्डित गर्ने मोडल त होइन ।

हाम्रोमा त दुवै पक्ष मिलेर नै नयाँ मोडलमा लगेको हुनाले यसलाई मेलमिलापबाट टुंग्याउँ भन्ने यसको स्पिरिट हो । 
 

पीडितहरू त दुवै पक्षका छन् । उनीहरूलाई चाहिएको न्याय हो । ‘जस्टिस डिले इज जस्टिस डिनाइ’ भने झैँ उनीहरूलाई न्याय दिन अस्वीकार गरिएको अवस्था छ । उनीहरूले न्याय नपाइ शान्ति प्रक्रिया टुगिन्छ ? यसो गर्दा न्याय निरूपण जटिल बन्दैन ?

जति ढिला हुँदै जान्छ त्यति नै जटिलता थपिँदै त गइहाल्छ । फेरि पनि के भन्छुु भने यसको अवधारणामा प्रष्टता चाहियो । यसको अवधारणा ‘डिरेल’ भयो । बृहत् शान्ति सम्झौताको मर्म के थियो भन्नेकुरा पहिला प्रष्ट हुनुपर्‍यो ।

बुझिएन र प्रतिशोध नै लिने भन्ने ढंगले जाने हो भने जटिल बन्छ । व्यक्तिगत प्रतिशोधको झगडा त थिएन नि त्यो । पुरानो राज्य र ऐन नियमअन्तर्गत लड्दा त्यसबेलाको शाही सेना (०५८ सालपछि सेना परिचालन भएपछि नै धेरै घटना भएका छन्) परिचालित भएको हो । 

राजाले शासनसत्ता पनि त्यसपछि नै लिएका छन् । छोटो समय शेरबहादुर देउवाजीको समयमा परिचालिन भयो । नभए अधिकांश राजाले शासन लिएपछिको अवधिमा घटनाहरू घटेका छन् । सेनाले पनि त्यसबेलाका सत्ताका आदेश पालना गरेको हो । विद्रोहीले पनि व्यवस्था परिवर्तनको निम्ति भनेर लडेपछि समुहगत लडाइँ भएको हो । 

जे घटना भएको छ यो निजी स्वार्थका लाथि थिएन, त्यसको नैतिक जिम्मेवारी लिएर हामी क्षमा याचना गर्छाैँ भन्दै दुवै पक्षले बिर्सौँ र क्षमा गरौँ भन्ने ढंगले जानु नै सबैभन्दा व्यवहारिक तरिका हो । 
baburamb-1731236255.jpg
 

यसको मूल मर्म बुझ्ने, राजनीतिक र कानुनी ज्ञान भएको, व्यवस्थापकीय कुशलता भएको र सबै पक्षको विश्वास बोक्न सक्ने नेतृत्व आयोगले पाए वा अब पाउलान् ?  

महत्वपूर्ण विषय नै यही हो । यसका लागि दुईवटा तहमा काम हुनुपर्छ । राजतन्त्र त गइसकेको छ । शान्ति प्रक्रियाका दुईवटा पक्षहरू सातदल पक्ष र माओवादी पक्षबीच मुख्य समझदारी हुनुपर्‍यो । 

त्यो समझदारी राजनीतिक रुपमा हुनुपर्‍यो । आन्दोलनका दुईवटा पक्ष हुन् । एक पक्ष गिरिजाबाबु हुनुहुन्न । हामी बाँकी त जिउँदै छौं नि । माओवादीतर्फ फौजी नेतृत्व प्रचण्डले र राजनीतिक रुपमा समानान्तर सत्ताको नेतृत्व मैले गरेको हो । शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन एकातिर गिरिजाबाबु हुनुहुन्थ्यो भने विद्रोही पक्षको मुख्य नेतृत्व हामी दुईजनाले गरेको हो । 

राज्यपक्षको मुख्य नेतृत्व कांग्रेस एमालेसहितका सात दल हुन् । अब त ती दलको संख्या पनि घटिसकेको अवस्था छ ।

ती दलहरूको (संसदमा भए पनि नभएपनि, किनभने हामी अत्यन्तै विधिवादमा पुगेका छौँ । त्यो भन्दा माथि त राजनीति र विचार हो नि) एउटा राजनीतिक संयन्त्र बनाउने, संयन्त्रभित्र राजनीतिक सहमति निर्माण गर्ने र त्यसको विधि प्रक्रिया पुर्‍याउन चाहिँ वैधानिक संस्थाबाट गर्ने हो । 

आयोगको नेतृत्वका लागि व्यक्ति छनोट गर्दा मुख्यतः राजनीतिक स्पिरिट बोक्न सक्ने र कानुनी समझ भएको व्यक्ति पर्नुपर्छ ।
 

तपाईं त्यो जिम्मेवारी लिन तयार हुनुहुन्छ ? 
कसरी छलफल भइएको छ मलाई थाहा भएन । तर, मेरो बुझाई के छ भने हालसम्मका आयोगहरू प्रशासनिक खालका मान्छेहरू राखेर बनाइए । न्यायिक प्रशासनिक रुपमा मात्र यसलाई टुंग्याउन सम्भव छैन । अहिले पनि छनोट/सिफारिस समिति बनेको छ यसले विधि प्रक्रिया पुर्‍याउने हो ।

मुख्य रुपमा राजनीतिक सुझबुझ भएको, नैतिक चरित्र भएको र सबै पक्षका लागि स्वीकार्य व्यक्तित्व पनि भएको, त्यस्तो व्यक्तिको नेतृत्व उपयुक्त हुन्छ । त्यहाँ को बस्यो भन्ने कुरा महत्वपूर्ण होइन । हामी विधिवादको शिकार भएको हुनाले त्यो कमिटी बनाएपछि त्यसैले गर्ने भनिन्छ तर, त्यस्तो हुँदैन । 

व्यक्ति को भन्ने कुरा मैले भन्न सक्ने कुरा भएन । म आफूले निरन्तर बोलेर भन्दै आएको कुरा यही हो । केपी शर्मा ओलीजी प्रधानमन्त्री बन्नेबित्तिकै पनि हाम्रो पार्टीले ज्ञापनपत्र दिएर यही सुझाव दिएका छौँ । त्यसपछि यो प्रक्रिया कसरी अघि बढेको छ मलाई थाहा हुने कुरा भएन । 
 

जिम्मेवारी आयो भने तपाईं लिन तयार हो कि होइन ? 

यो ‘हाइपोथेटिकल’ कुरा भयो । त्यतातिर नजाऔं । यो प्रक्रियाले पूर्णता पाउनुपर्‍यो । को भन्ने कुरा छलफल र सहमतिका आधारमा टुंग्याउने कुरा भयो । 

Baburam-bhattarai-1731236255.jpg
 

राज्यले जिम्मेवारी दियो भने...

हामी राजनीतिमा लागेकै सारा जीवन राष्ट्रका निम्ति दिने भनेर हो । देश र समाजको उन्नयन र प्रगति, समुन्नतिका लागि भनेर समर्पित भएको मान्छेले आफूले गरेर समाजको भलो हुन्छ भने स्वतः गर्नुपर्छ । 

तर, यो त फेरि द्वन्द्वको व्यवस्थापनको पक्ष–विपक्षको पनि कुरा भएको हुनाले सबैको स्वीकार्यता नभइकन ‘आफैँ मपाईं’ गरेर हुँदैन । त्यसकारण मलाई त्यसरी भन्न नलगाउनु उपयुक्त हुन्छ ।
देशमा दिगो शान्ति कायम गर्न जुनसुकै भूमिकाका लागि म तयार छु । त्यसमा कुनै द्विविधा नराख्दा हुन्छ । 

तपाईंले भनेजस्तो सबै पक्षको इच्छाशक्ति भयो भने कति समयमा शान्ति प्रक्रियाका बाँकी काम टुंगिन्छन् ? 

हामीले त्यसबेला त बेपत्ताको अवस्था ६० दिनभित्र सार्वजनिक गर्ने भनेका हौँ । अब अलिकति बढी समय लेला । यसबीचमा बनेका आयोगले पनि केही काम गरेका छन् । 

निश्चित अवधि दिएर सबैबाट सूचनाहरू लिने र काम गर्ने होे भने तोकिएको दुई वर्षभित्रै टुंग्याउन सकिन्छ । आयोग चाहिँ पाँच जनाको राखेर अलिकति सानो बनाएछौँ । दक्षिण अफ्रिकामा त १५ जनाको बनाइएको थियो । 
तल्लो तहसम्म काम गर्न सब–कमिटी बनाएर गयौँ भने दुई वर्षको अवधिभित्र पूरा गर्न सकिन्छ ।

तस्बिर– हरिशजंग क्षेत्री
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  १६:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro