काठमाडौं । कोरोना भाइरसका कारण आठौं नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव स्थगित भएको छ ।
कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नेपाल सरकारले सभा, सम्मेलन, महोत्सवहरू नगर्न गरेको आह्वानलाई सम्मान गर्दै आयोजक मानवअधिकार चलचित्र केन्द्रले यस्तो निर्णय लिएको हो । आयोजक मानवअधिकार चलचित्र केन्द्रले विज्ञप्ति जारी गरी महोत्सव स्थगितबारे जानकारी दिएको हो ।
केन्द्रले वार्षिक रूपमा सञ्चालन गर्दै आइरहेको महोत्सवमा नेपाल र नेपालबाहिर मानवअधिकारका विषयमा बनेका चलचित्रहरू प्रदर्शन गर्ने गरिएको छ । यस वर्ष ३२ देशका ८४ चलचित्र महोत्सवमा प्रदर्शनका लागि छानिएका थिए ।
महोत्सवमा सहभागी हुन १७ देशका २२ फिल्म मेकरहरू नेपाल आउन लागेका थिए ।
महोत्सव यही फागुन २१ गते बुधबरदेखि काठमाडौंमा आयोजना गर्न लागिएको थियो । महोत्वस स्थगित भएका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म मेकरहरू, सहभागी तथा सहयोगीहरूमा पर्न गएको असरका लागि आयोजकले क्षमा पनि मागेको छ ।