एजेन्सी । दक्षिण कोरियाली राष्ट्रपति मुनको पहिलो प्योङयोङ भ्रमणमा स्वागत गर्न विमानस्थल पुगेका किमका साथ पत्नी रि सोल्जु पनि उपस्थित थिइन् । यसरी पछिल्लो समय प्योङयोङका अधिकांश ठूला समारोहमा सोल्जु किमका साथ रहनु सामान्य बन्दै गइरहेको छ ।
साथै बहिनी किम योजोङको सार्वजनिक उपस्थितिले पनि अहिले दक्षिण कोरियामा उत्तरले अनौठो समर्थन पाइरहेको बताइएको छ । क्रुर तानाशाहीको छविबाट बाहिर निस्किन वास्तवमै यी दुई महिलाले किमलाई ठूलो सहयोग पुर्याइरहेको विश्लेषकहरुको भनाइ छ ।
उत्तर कोरियाको स्थापनादेखि नै त्यहाँका शाषक कठोर नीतिका लागि परिचित छन् तर किमले भने पिता र हजुरबुवाको भन्दा धेरै फरक रणनीति अपनाइरहेका छन् जसले विश्वमा उनको पहिचानलाई भिन्दै रुप दिइसकेको छ ।
दक्षिण कोरियाको राजधानी सिओलमा गरिएको गत जुलाईको सर्वेक्षणमा उनको लोकप्रियता हालसम्मकै सबैभन्दा बढी देखिएको थियो जसमा कतै न कतै उनको बदलिँदो छविले नै सघाइरहेको बताइन्छ ।
त्यसैले ३० वर्षीया बहिनी किम यो जोङ र अनुमानित ३२ वर्षीया रि सोल्जुकै कारण उनलाई हालको कूटनीतिक यात्रामा सकारात्मक तरिकाले अघि बढ्न मद्दत गरिरहेको बताइएको हो ।
किमले आफ्नो कार्यकालमै सबैभन्दा पहिले लिएको उल्लेखनीय निर्णय ओलम्पिक खेलमा संयुक्त सहभागीता जनाउनु रहेको थियो । जसमा उनले बहिनी यो जोङलाई प्रमुख प्रतिनिधिका रुपमा पठाएर थप समर्थन बटुलेका हुन् । यसपछि ट्रम्पसँगको सिंगापूर बैठकमा पनि योजोङ हरेक समय ट्रम्प र किमकै छेउमा उभिएर सबै कार्यमाथि नजर राखिरहेको देखा परेकी थिइन् ।
यसरी पछिल्लो समय सरकारी गतिविधिमा सोल्जुको उपस्थित र राष्ट्रिय नीतिमा योजोङको धारणाले प्राथमिकता पाइरहनुले उत्तर कोरियाली शाषनमा आधुनिकताको झलक देखाएको हो ।
दाजुसँग नजिकी सम्बन्ध राख्दै आएकी किम योजोङलाई अहिले उत्तर कोरियाकी प्रमुख कूटनीतिज्ञका रुपमा हेरिएको छ । वास्तवमा उत्तर कोरियाली शाषनमा पहिलेदेखि नै महिलाको अदृश्य भूमिका महत्वपूर्ण रहँदै आएको छ । यसअघि किम जोङ इलकी बहिनी किम क्योङ ह्वीले पनि अहिलेका शासक किमलाई नै उनका पिताका उत्तराधिकारी सुनिश्चित गराउन ठूलो भूमिका निर्वाह गरेकी थिइन् ।
तरपनि यसरी राज्य भ्रमणमा पत्नीलाई साथ लैजानु उत्तर कोरियाली शाषकका निम्ति कुनै हालतमा स्वभाविक मान्न सकिएको थिएन । तरपनि किमले भने यस नयाँ प्रयासमार्फत आफूलाई विश्वका अन्य प्रमुख झैँ सामान्य ठहर गरेका छन् ।
किमका पिता र हजुरबुवाका पत्नीका तुलनामा सोल्जु बारम्बार सार्वजानिक स्थल र मिडियामा देखा परिरहनुलाई कुनैसमय निकै अनौठो मानिएको थियो । तर अहिले भने यसले किम पश्चिमी परम्परासँग राम्रो परिचित भएको स्पष्ट देखाउँछ । उनी उत्तर कोरियाका नयाँ पिढी भएकाले पनि उनीबाट जनताले फरक अपेक्षा राख्न सक्ने बताइएको हो ।
किमले आफूसँग नजिक दुवै महिलालाई प्राथमिकता दिइरहनुले उनी पारिवारिक व्यक्तित्व भएको प्रभाव पनि पारिरहेको छ । तर उता कठोर प्रतिबन्धले ग्रसित उत्तर कोरियामा अझै अधिकांश महिलाहरु गम्भीर अपहेलना, भेदभाव , हिंसा र दुव्र्यवहारको शिकार बन्ने गरेको संयुक्त राष्ट्र संघको २०१४ को रिपोर्टले देखाएको छ । तर यता किमले भने यसै पक्षलाई हतियार बनाउँदै आफ्नो छविमा सकारात्मक सुधार ल्याइरहेको संचार एजेन्सी ‘युएसए टुडे’ ले जनाएको छ ।