सम्पादकीय
प्रधानमन्त्री पुष्पकमल दाहाल यही बिहीवार सुरु हुने भारत भ्रमणको तयारीमा व्यस्त छन् । उनलाई सल्लाह, सुझाव र चेतावनी दिनेको संख्या गनिनसक्नु छ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले त सुझावका नाममा चेतावनीको लामै सूची हातैमा दिए । अगिल्लो सरकारका आधा दर्जन उपप्रधानमन्त्रीमध्ये आधा जतिले प्रधानमन्त्री दाहालले भारत जाने निर्णय गरेर ठूलै अपराध गरेको भान पर्ने गरी प्रचारवाजी गरिसकेका छन् । उनलाई सुझाव दिनेमध्ये धेरैको आशय प्रधानमन्त्री दाहालको राष्ट्रप्रेम संदिग्ध छ र उनले भारतमा देश बेचेर फर्कन सक्छन् भनेजस्तो देखिन्छ । भारतमा उनले नयाँ काम वा कुरा केही पनि गर्न पाउँदैनन् भन्नुको तात्पर्य प्रधानमन्त्री दाहालले पक्कै पनि राष्ट्रघात गर्नेछन् भन्ने छाप पार्ने प्रयत्न नै हो ।
भ्रमण सुरु नहुँदै अविश्वास र सन्देहको भुमरी खडा गरेर प्रधानमन्त्री दाहाललाई विपक्षी नेतामात्र हैन कथित विज्ञ र बुद्धिजीवीले समेत कमजोर बनाउन खोजेका छन् । एकातिर प्रधानमन्त्रीलाई राष्ट्रको शिर निहुरिन नदिन भन्ने र अर्कातिर उनलाई सन्देहको गह्रुंगो भारी बोकाउने प्रवृत्तिले महाभारतको एउटा पात्र शल्यको सम्झना गराउँछ । अहिले प्रधानमन्त्री दाहालको नियतमै सन्देह गरेर अविश्वासको भुमरी खडा गर्नेहरूले जति नै नेपालको हितमा बोलेको देखाए पनि प्रकारान्तरले भारतकै हात माथि पार्ने वातावरण बनाएका छन् । भ्रमणमा गएका प्रधानमन्त्री दाहाल कमजोर हुँदा लाभ त अर्को पक्षलाई न हुने हो । भारतले नहेपोस् भन्ने चाहने हो भने त विदेश जान लागेका प्रधानमन्त्रीको मनोबल खस्काउने हैन आत्मबल बढाउने काम गर्नुपर्थ्यो । प्रधानमन्त्री दाहालको आलोचना गर्न त अरू नै थुप्रै समय र अवसर छँदैछन् ।
अर्कातिर, प्रधानमन्त्री दाहाल आफैँ पनि प्रतिरक्षात्मक हुनपुगेका छन् । धेरैका कुरा सुन्नु ठीकै होला तर सल्लाहका निहुँमा उनको तेजोबध गर्न खोज्नेका कुरा सुनेर समय खेर फाल्नु भने पक्कै उचित हुँदैन । प्रधानमन्त्री दाहाल संसद्को बहुमतबाट चुनिएका प्रधानमन्त्री हुन् । यसैले उनले हीनताबोध गर्नु आवश्यक छैन । यत्ति हो, उनले आफूलाई माओवादी केन्द्रको अध्यक्षभन्दा राष्ट्रको संसद्बाट निर्वाचित प्रधानमन्त्री ठान्न र सोही अनुसारको विचार तथा व्यवहार देखाउन सक्नुपर्छ । प्रधानमन्त्री दाहाल नेपालको प्रतिनिधित्व गरेर भारत जान लागेका हुन् । भारतसँगको सम्बन्ध जति नै 'उचाइ'मा पुगेको बताइए पनि चिसिएकै छ । धेरै क्षेत्रमा भारतले नेपाललाई हेपेको अनुभव भइरहेको छ । यस्तो अवस्थामा प्रधानमन्त्रीलाई राष्ट्रको पूर्ण समर्थन र विश्वास भएको देखाउन सकेको भए पक्कै पनि उनको मनोबल कमजोर हुने थिएन । उनले सुन्नु नै थियो भने भारतमा कमाएको पैसा बैंकबाट घर पठाउन पाए बाटामा लुटिनुपर्ने थिएन भन्नेहरूको वा सीमा एकतर्फीरूपमा भारतले बनाएका बाँध र सडकका कारण घरबार डुबानमा परेका नागरिकका कुरा सुन्नुपर्थ्यो । उनलाई अर्ती उपदेश सुनाउनेमध्ये धेरैले आआफ्ना कार्यकालमा के गरे भन्ने पनि जनताले देखे भोगेकै हुन् । आफूले नसकेको वा नगरेको काम अरूलाई यसरी र उसरी गर भन्न लाज लाग्नुपर्ने हो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले पनि भ्रमणबाट 'तारा खसाल्ने' वाचा गर्नु जरुरी छैन । उनको भ्रमणबाट जति नै उपलब्धि भए पनि देशभित्र खोट खोजेर खोइरो खन्न रोकिनेछैन । यस्तै, नेपाल र भारतबीचको सम्बन्ध न कसैको एउटै भ्रमणले न्यानो हुने हो न समाप्तै हुने हो । संसारकै अरू कुनै देशबीच नेपाल र भारतबीचको जस्तो सम्बन्ध छैन । कटुता र निकटता जेलिएर रहेकाले यस्ता अनेकौं भ्रमण सफल हुनुपर्छ सम्बन्धमा तात्त्विक अन्तर पर्नका लागि । यसैले प्रधानमन्त्री दाहालले धेरै महत्त्वाकांक्षा राख्नु वा बढी नै सशंकित हुनु जरुरी छैन । प्रधानमन्त्री दाहालले पनि वार्तामा भएका कुरा लुकाउन नखोजी पारदर्शी व्यवहार गर्नुपर्छ । भारतसँग अहिल्यै केही मागिहाल्न वा ल्याइहाल्न पर्दैन । नेपालप्रति थोरै भए पनि सद्भाव र विश्वास जगाए पुग्छ । भारतसँग निहुँखोज्ने र निहुरिने दुवै प्रवृत्तिबाट जोगिनुपर्छ ।
प्रधानमन्त्री दाहालको भारत भ्रमण सुखद र फलदायी होस् !
प्रकाशित मिति: मंगलबार, भदौ २८, २०७३ १८:४९
प्रतिक्रिया दिनुहोस्