site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

सर्वोच्च अदालतमा अहिले देखिएको भाँडभैलोको बीजारोपण केही वर्ष पहिले नै भए पनि अहिले चरममा पुगेको छ । न्यायपालिकाको स्वतन्त्रता र विश्वसनीयता जोगाउनुपर्छ भन्ने मान्यता राख्ने कसैका लागि पनि अहिलेको अवस्था सह्य र स्वीकार्य नहुनुपर्ने हो । अदालतको मानहानि मुद्दामा प्रधान न्यायाधीश गोपालप्रसाद पराजुलीले गठन गरेका बृहत् पूर्ण इजलासलाई पहिलो दिन एक जना न्यायाधीशले बहिष्कार गरे । भोलिपल्ट बाँकी न्यायाधीशले पनि पराजुलीको इजलास बहिष्कार गरे । अर्थात्, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशहरूले पराजुलीको नेतृत्वमा काम नगर्ने सन्देश दिए । यही क्रममा प्रधानमन्त्री केपी ओलीले समेत प्रधान न्यायाधीश पराजुलीलाई बिदामा बस्न ’सल्लाह’ दिएको समाचार सार्वजनिक भएको छ । सम्भवतः पराजुलीलाई मानसिक दबाब दिनैका लागि महाभियोग लगाइनसक्ने सन्देश पनि सञ्चार माध्यमबाटै दिइएको छ । आधारातमा राजनीतिक दलका कार्यकर्तालाई न्यायाधीश बनाउने, न्यायाधीशहरू पार्टी विशेषको कार्यालयमा ’दाम राख्न’ जानेजस्ता विकृतिको अरू परिणाम त आगामी दिनमा देखिने नै छ ।  यसैले भिडले निर्देशित गर्ने वा व्यक्ति विशेषविरुद्ध नियोजित प्रहार गरेर तेजोबध गर्ने अहिले देखिएको प्रवृत्तिले न्यायपालिकालगायत राज्यका अङ्गहरूमा दूरगामी प्रतिकूल प्रभाव पार्ने जोखिमप्रति भने सावधान हुनु आवश्यक छ ।

केही समय यता न्यायाधीश भिडबाट निर्देशित र लोकप्रिय हुने रहरबाट प्रभावित हुनथालेको देखिएको छ । यही प्रवृत्ति राज्यका अरू अंगलगायत सामाजिक सञ्जाल, नागरिक समाज र सञ्चारकर्मीमा पनि प्रकट भएको छ । सम्भवतः नेपालको लोकतन्त्र र विधिको शासनका लागि यो प्रवृत्ति सबैभन्दा ठूलो अवरोध हुनेछ । प्रधान न्यायाधीश पराजुली सर्वोच्च अदालतमा नियुक्त हुनेबेलैमा चर्को विवाद उत्पन्न भएको थियो । तत्कालीन प्रधान न्यायाधीश सुशीला कार्कीका पालामा पनि पराजुलीका नागरिकता र शैक्षिक प्रमाणपत्रका विषयमा विवाद उत्पन्न भयो । त्यस्ता विवादलाई कृष्णमाथि स्यमन्तक मणि चोरेको आरोप लागेपछि मणि खोज्न आफैँ गएको पौराणिक कथामा जस्तै निराकरण गर्न खोजेका भए सम्भवतः यो विवाद यति चर्कने थिएन । तर, उनले त आफ्ना पूर्ववर्ति प्रधान न्यायाधीशकै अनुसरण गरेर त्यसलाई व्यक्तिगत प्रतिष्ठाको विषय बनाए । आफ्नो जन्ममिति वा शैक्षिक योग्यताको प्रमाणपत्रको विवादमा न्यायालयको अवहेलना विषय देख्ने मानसिकताले प्रधान न्यायाधीश पराजुली ग्रिक कथाका नायक जुलियस सिजरको अन्त्यजस्तै त्रासद अवस्थामा पुगे । उनका ’ब्रुटस’हरूले पनि छुरा हानेका छन् । न्यायालयमा न्यायिक मनको साटो प्रतिशोध र अहंकार निर्णायक हुन थालेपछि यस्तो भाँडभैलो हुनु अस्वाभाविक होइन । राजीनामा गर्दा आफूले हारेको देखिने ठानेर पनि प्रधान न्यायाधीश पराजुली हिचकिचाएको हुनसक्छ । उनलाई सर्वोच्च अदालतकै सहकर्मीले अन्तिम अवस्थामा साथ नदिएकाले उनमा विश्वासको संकट उत्पन्न भएको पनि हुनसक्छ । तर, प्रधान न्यायाधीश पदमा पुगेको व्यक्तिले नै न्यायपालिकाप्रति अविश्वास गर्नु हुँदैन । 

न्यायाधीशहरूलाई पराजुलीको जन्ममितिको विवादबारे अहिले दिव्यज्ञान भएछ । तत्कालीन प्रधान न्यायाधीश सुशीला कार्कीले सकेसम्म पराजुलीलाई प्रधान न्यायाधीश हुनै नदिन गरी जन्ममिति कायम गर्ने प्रयत्न गर्दा वा पराजुलीले आफ्नै अग्रसरतामा न्यायपरिषद्को पुरानो निर्णय उल्ट्याउँदा न्यायाधीशहरूको विवेक सायद निदाएको थियो । सत्तारुढ दलका पक्षमा दुई तिहाइ बहुमत जुट्ने, सत्तारुढ दलका नेताहरूले प्रधान न्यायाधीश पराजुलीविरुद्ध सामाजिक सञ्जाललगायतमा विचार प्रकट गर्न सुरु गर्ने र न्यायाधीशहरूले इजलास बहिष्कार गर्ने संयोगमात्र हो भन्ने विश्वास गरौँ । यस्तै शपथ ग्रहण गराउन मन परेकै व्यक्ति रोज्ने प्रवृत्ति त प्रदेश प्रमुखको नियुक्तिको विवादमा पनि प्रकट भएकै हो । तर, आफूबाहिर निस्केर पनि न्यायपालिका जोगाउन प्रधान न्यायाधीश पराजुली ’नीलकण्ठ’ बन्न हिचकिचाउनु हुँदैन । न्यायालयभित्र अवकाशको एक महिना पहिले बिदामा बस्ने परम्परा थियो । केही वर्षदेखि तोडिएको त्यही परम्परा अनुसरण गर्दै तत्काल बिदामा बसेर प्रधानन्यायाधीश पराजुलीले न्यायालयको भाँडभैलो अन्त्य गर्न अगुवाइ गर्नुपर्छ । उनका गुण र दोषको विवेचना त इतिहासले गर्ने नै छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ३०, २०७४  १०:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC