साहित्य
भक्तपुर । भक्तपुरलाई कविता पर्यटनको गन्तव्य बनाउने उद्देश्यले सँझ्या साहित्यले आज विशेष कवि गोष्ठी आयोजना गर्यो । मध्यपुर थिमिको शङ्खधरस्थित यचु पार्टी भेन्युमा गरिएको विशेष कवि गोष्ठी २०७३ मा सँझ्याकै अभियन्ता हरिहर तिमिल्सिनाले उद्घाटन कविता सुनाउँदै गोष्ठीको शुभारम्भ गरेका थिए ।
‘यो अमृतजस्तो लाग्ने माटोमा
किन बेला बेलामा उम्रन्छ
विषालु च्याउ !’
अन्तिम कविका रूपमा वरिष्ठ कवि एवम् संस्कृतिविद् तुलसी दिवसले कवितामा नयाँ र पुराना पुस्ताको विभेद हुन नहुने बताउँदै प्रत्येक कवि नयाँ कवितामा नयाँ नै हुने दाबी गरे ।
कवि श्यामलले सँझ्याकै अभियन्ता कवि अभय श्रेष्ठको सन्देह कविता प्रस्तुत गरेका थिए भने कवि विमल निभाले खुत्रुके कवितामार्फत देशको समसामयिक चिन्तनलाई उजागर गरेका थिए।
कवि पुरुषोत्तम सुवेदी, राजेन्द्र सुवेदी र राजेन्द्र शलभले आफ्नो बेजोड प्रस्तुतिमार्फत राजनीतिक विसङ्गतिमाथि तीखो व्यङ्ग्य प्रहार गरे । त्यसैगरी कवि मुक्तान थेवा र अगिब बनेपालीले कवितामार्फत वर्तमान राजनीतिको भागबन्डा र सत्ता हस्तान्तरणप्रति आक्रोश पोखे।
इन्द्र माली, स्नेह साय्मी, छम गुरुङ, ठाकुर बेलबासे, मणि लोहनी, घनश्याम खड्का लगायतले कविताबाटै राजनीतिक विकृतिमाथि व्यङ्ग्य प्रहार गरे ।
कवि चन्द्र घिमिरे, केशव सिलवाल, कृष्णमोहन श्रेष्ठ, प्राज्ञ मातृका पोखरेल, प्राज्ञ ध्रुव मधिकर्मी, चन्द्र रानाहँछा, सीमा आभास, आरएम डङ्गोल, हेमन्त विवश, अमर आकाशलगायत ३७ कविले कविता वाचन गरेका थिए । कुल १७६ कवि, लेखक र पत्रकारबीच कवि मञ्जु काँचुलीले वैँस र उन्मादको विम्बमा सृष्टिको चक्र र परम्परामाथि स्निग्ध कविता प्रस्तुत गरेका थिए । सँझ्या साहित्यका महेश पौडेल, कार्यक्रमका प्रायोजक यचु पार्टी भेन्युका सञ्चालक एवम् कवि नवीनप्रकाश श्रेष्ठले पनि कविता वाचन गरेका थिए ।
त्यसैगरी, आजै सिर्जना अभियान भक्तपुरले आठौँ लघुकथा दिवसका अवसरमा लघुकथा गोष्ठीको आयोजना गर्यो । गोष्ठीमा तुलसीहरि कोइराला, नारायण तिवारी, रत्न कोजु, प्रेमनारायण प्रेमी, पुष्कर भट्ट, सुमन सौरभ, जीवनाथ पोखरेल, देवा अधिकारी, श्याम आशा लगायतका एक दर्जन कथाकारले विविध विषयमा लेखिएका लघुकथा वाचन गरेका थिए।
अभियानका अध्यक्ष धनमान श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा साहित्यकार तथा लघुकथाकार श्रीओम श्रेष्ठ ‘रोदन’ले लघुकथाको ठोस इतिहास नलेखिएको अवस्थामा लघुकथा समाजले आठ वर्षअघि खोज तथा अनुसन्धान सुरु गरी लघुकथाका क्षेत्रलाई छुट्टै विधाका रुपमा स्थापित गर्ने अभियान चलाएको बताए ।
प्रकाशित मिति: आइतबार, भदौ ५, २०७३ १५:४७
प्रतिक्रिया दिनुहोस्